नेपाल एयरलाइन्सको चरम बदमासी
विमानभरि यात्रु राखेर नेपाल एयरलाइन्स मंगलबार रातभर विमानस्थलमा सुतेको घटनाको सर्वत्र निन्दा भइरहेको छ। बेलुकी ९ः१५ मा उड्नुपर्ने जहाज १० बजेसम्म पनि उड्न सकेन। ढिला (डिले) नेपाल एयरलाइन्सको पुरानो रोग हो। यही कारण यसले अन्तर्राष्ट्रिय यात्रुमा ख्याति आर्जन गर्न सकेको छैन।
छोटो ट्रान्जिट भएका र समयमा पुग्नुपर्ने जरुरी परेका व्यक्ति सकेसम्म यो एयरलाइन्स छान्दैनन्। ४५ मिनेट ढिला गर्दा पनि नपुगेर यसले थप केही मिनेट मागेको थियो। नागरिक उड्यन प्राधिकरणले धावनमार्ग मर्मका लागि बन्द गर्ने समय भएको भन्दै ठ्याक्कै १० बजे बन्द गरिदियो। जसले गर्दा दुबईका लागि उड्नुपर्ने फ्लाइट नम्बर आरए २३१ विमानस्थलमै अड्कियो। २ सय ७६ यात्रु चढाएको विमानले १ सय ५० जनालाई भने रातभरि जहाजमै छाडिदियो। भनेलिपल्ट बिहान ५ः१५ मा प्रहरीले सुराक पाएर उनीहरूको उद्धार गरेका थिए। यो अत्यन्त निन्दनीय वदमासी मात्र होइन, सजाययोग्य अपराध हो।
धावनमार्ग पुनर्निर्माणका लागि प्राधिकरणले प्रत्येक दिन १० घण्टाका दरले ३ महिना विमानस्थल बन्द गरेको छ। राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै उडान वा अवतरण हुँदैन। यसका लागि ३ महिनाअघि नै नोटाम अर्थात् नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको थियो। त्यसका आधारमा नेपालमा उडान भर्ने सबै विमानले आफ्नो तालिका मिलाएका थिए। नेपाल एयरलाइन्सको दुबई उडानका हकमा भने यसले कुनै प्रभाव पार्ने थिएन। यसले ४५ मिनेट थप समय पाउँथ्यो।
जहाजमा यात्रुलाई थुनेर क्रु–टिमले एक मिनेट छाड्न मिल्दैन। यो अन्तर्राष्ट्रिय उड्डयन संहिताको प्रतिकूल हो। यो लापरबाहीको पराकाष्ठा हो। यसले कुनै यात्रु वा जहाजमा अप्रिय घटना हुन सक्थ्यो। धन्य, भाग्यवश त्यो अवस्था आएन। त्यसो त यसअघि पनि पटक–पटक उडान रद्द/स्थगन गर्ने, यात्रुलाई सट्टामा टिकट दिलाउने, खाने/बस्ने व्यवस्था मिलाउनेजस्ता कार्यमा यस एयरलाइन्सको ठूलो पुँजी खर्च हुने गथ्र्यो। आफ्नै अव्यवस्थाको भार यसले राज्यलाई बोकाउँदै आएको छ। यतिबेला करिब २५ अर्ब रुपैयाँमा किनिएका दुइटा वाइड बडी एयरबस प्रायः थन्किएका छन्। व्यवस्थापनले तिनका लागि नयाँ र लामा गन्तव्य मिलाउन सकेको छैन। व्यावसायिक यस संस्थाले आफूलाई धान्न सरकारसँग सहयोग माग्दै आएको छ। सरकारले धन्न त्यो सुनेको छैन। नत्र रकम बालुवामा बग्ने थियो। ठूला–ठूला जहाज ल्याएपछि कमाउनुको साटो खर्च बढाउनु लाजमर्दो विषय हो। दुनियाँमा यस्तो रमिता कहीं–कतै देखिँदैन।
हाम्रोभन्दा दुई वर्षपछि चल्न थालेको थाई एयरवेजका सयभन्दा बढी विमान छन्। संसारका कुना–कुनामा यसले सेवा पुर्याएको छ। कतार एयरवेज त नेपालको भन्दा ३६ वर्षपछि सन् १९९४ बाट सञ्चालनमा आएको हो। यसका झन्डै २ सय ५० विमान छन्। ५ सय १७ सिट क्षमताका एयरबस नै १० वटा छन्। यी उदाहरणबाट प्रेरणा लिनुपर्नेमा हामी झन् संकटग्रस्त हुँदै गएका छौं। खासगरी ‘जसो गरे पनि चल्छ’ मात्र होइन, ‘चलेकै छ’ भन्ने भावनाबाट यो संस्था गुज्रेको देखिन्छ। अर्थात्, नागरिक तहबाट खोजीनीति छैन। राज्यले कस्न सकेको छैन। राष्ट्रिय ध्वजावाहकको अर्थ राज्यलाई भार मात्र बोकाउने होइन भन्ने अथ्र्याउन सकेको छैन। सन् १९५८ जुलाई १ (२०१५ असार १७) मा स्थापित यो एयरलाइन्स विभिन्न काण्डमा पर्दै आएको छ। जहाज किन्दा वा भाडामा ल्याउँदा ठूलो मात्रामा राज्यलाई क्षति नपुर्याइएका घटना कमै होलान्। नेपालमा ल्यान्ड गर्दैमा चुस्न सुरु भएका विमान विस्तारै–विस्तारै खोक्रो पारिइन्छन्। वाइड बडी त्यही शृंखलाको शिकार बनेको छ। राज्यले यसमा गहनतापूर्वक हेर्नैपर्छ।