स्कुलमा सधैं प्रथम हुन्थेँ
मेरो जन्म सोलुको खोरिया भन्ने ठाउँमा भएको हो। बुुवा आमा भेंडिगोठमा काम गरिरहेका बेला म जन्मिएको हुँ। उहाँहरूले भेंडा तल घरतिर ल्याउँदै गर्दा मेरो जन्म भएको हो। घरमा म सबैभन्दा कान्छो हुँ। पाँच जना दाई र दुई जना दिदीपछि म आठौं सन्तान हुँ। मेरो घर ओखलढुंगाको रुम्जाटारमा हो। अहिले यो सिद्धिचरण नगरपालिकामा पर्छ। मेरो मध्यमवर्गिय परिवार थियो। बुवाको नाम लालबहादुर गुरुङ र आमाको नाम रत्नमाया गुरुङ हो। वि.स. २०१३ साल कात्तिक ९ मेरो जन्ममिति हो।
भेंडिगोठमा काम गर्नु पर्ने भएकाले म स्कुल जान पाइन। आठ वर्षको हुँदा बल्ल एक कक्षामा भर्ना भएँ। तर मेरो पढाई राम्रो थियो। रुम्जाटार निम्न माध्यमिक विद्यालयमा एक कक्षामा म प्रथम भएँ। अहिले जस्तो पढ बाबु भन्दै अरुले भन्ने चलन थिएन। कसैले पढ नभने पनि म खुब पढ्थें। घरमा भात पकाउँथें। घाँस दाउरा गर्थें। डोकोमा बोकेर घर ल्याउँथें। भेंडा चराउन जान्थें। विहान पकाउँथें। दिउसो स्कुल जान्थें। स्कुलबाट फर्केपछि तीनधारे भन्ने ठाउँबाट पानी ल्याउँथें। बेलुका खाना खाएपछि मात्र पढ्न समय मिल्थ्यो। विहानदेखिको काम र पढाईले गर्दा निद्रा प्यारो लाग्थ्यो। पढ्न पनि मन लाग्थ्यो। अहिले जस्तो विजुलीवत्ति थिएन। टुकीमा मट्टितेल राखेर बालिन्थ्यो। त्यसैको उज्यालोमा म मध्यरातसम्म पढ्थें। राती पढ्दापढ्दै कतिपटक बत्ति निभाउनै बिर्सन्थें। विहानपख आमाले थाहा पाउनु भयो भने गाली गर्नुहुन्थ्यो। उदयपुरको कटारीदेखि मट्टितेल बोकेर ल्याउनु पथ्र्यो। मट्टितेल चाँडै सकिने भयो भन्ने चिन्ता आमालाई लाग्थ्यो। पढेकोमा खुशी भएपनि बत्ति निभाउन बिर्सेकोमा आमाबाट गाली खानु पथ्र्यो।
एक कक्षादेखि दश कक्षासम्म म प्रथम भइरहें। कहिल्यै दोस्रो हुनु परेन। एकमा भर्ना भएपछि मेरो तीक्ष्ण बुद्धि देखेर गुरुले तीन कक्षामा भर्ना गरिदिनु भयो। तीन कक्षामा पनि प्रथम भएपछि चार नपढि पाँच कक्षामा भर्ना भएँ। त्यसपछि फड्को मारिन। सबै कक्षा पढें। बाह्र वर्षको हुँदा पहिलो पटक फिल्म हेर्न पाइयो। जेठो दाइ कालुराम ब्रिटिस आर्मीमा हुनुहुन्थ्यो। उहाँ घर फर्कने बेलामा बुवाको पछि लागेर म पनि उहाँलाई लिन धरान आएँ। धरानमा दिदीहरू हुनुहुन्थ्यो। भान्जीहरूसँग बसेर फिल्म हेरें। ‘कटि पतङ’ हो त्यसको नाम। मैले अझै बिर्सेको छैन।२०३२ सालमा मैले एसएलसी पहिलो श्रेणीमा उत्तिर्ण गरें। त्यो बेलामा हाम्रो स्कुलबाट म मात्रै प्रथम श्रेणीमा उत्तिर्ण भएँ। एसएलसी दिने पहिलो व्याचको विद्यार्थी प्रथम श्रेणीमा पास भएकोमा धेरैजनाले स्याबासी दिनुभयो।
मलाई पढाइमा अति रुचि थियो। डोको बोकेपनि हातमा किताब लिएरै हिंड्थें। सधै हिँडिरहने बाटोमा मलाई अप्ठेरो हुँदैनथ्यो। डोकोमा घाँस, दाउरा, पानी जे बोके पनि हातमा किताब हुन्थ्यो। पढ्दै हिँड्थें। अरु बेलामा पढ्ने समय नै पाउँदैनथें। राती मात्र पढेर पुग्दैनथ्यो। ट्युसन पढाउने क्षमता अभिभावकसँग थिएन। बुबाआमासँग ट्युशन पढाउने पैसा पनि हुँदैनथ्यो। छोरो प्रथम हुन्छ भन्ने कुरा आमाबुवालाई सामान्य लाग्थ्यो। त्यस्तो खुसी कहिल्यै हुनु भएन। जिल्लास्तरको छात्रवृत्ति पाउँथे। गणित र विज्ञान विषय बढि पढ्न मन लाग्थ्यो। आठ कक्षामा पढ्दा अँगे्रजी पढाउने कर्ण सिंह गुरुङ सरले भविष्यमा के बन्छौं भन्दै प्रश्न गर्नु भयो। मलाई के भनौं भन्ने भयो। मुखबाट फ्याट्ट डाक्टर बन्छु भन्ने शब्द निस्कियो।
एसएलसी उत्तिर्ण गरेपछि बल्ल काठमाडौं आएँ। मामाघरमा आएर बसें। सहरमा बसेर पढेकाहरूसँग प्रतिष्पर्धा गर्न निकै गाह्रो भएको थियो। आइएस्सीमा सबै कुरा अँग्रेजीमा पढनु पर्दा आफूलाई कमजोर महशुश गरें। तर मैले निकै मिहेनत गरें। नतिजा राम्रो आयो। साथीहरूमध्ये धेरै जना बेलायती सेनामा गए। मलाई पनि त्यता जान भिनाजुले भन्नुभयो। तर मैले मानिन। पछि दुःख पायौ भने मलाई केही नभन्नु भन्नु भयो। मैले पनि जे सक्छु स्वदेशमै गर्छु भनेर जवाफ फर्काएँ।
आइएस्सी अमृत साइन्स क्याम्पसमा पढ्दै थिएँ। त्यसपछि मैले इन्जिनियरिङ पढ्न प्रवेश परिक्षा दिएँ। चिकित्सा शास्त्र अध्ययन संस्थानमा हेल्थ असिस्टेन्टको लागि पनि प्रवेश परिक्षा दिएको थिएँ। परिक्षा दिएका सबै ठाउँमा नाम निस्कियो। डाक्टर बन्ने प्रेरणा गुरु दिलाराम लामिछानेले दिनु भएको हो। विरबहादुर भन्ने मेरो साथी र मलाई बोलाएपछि मलाई चाहिँ तिमी डाक्टरी पढ भन्नुभयो। मेले किन सर ? भन्ने प्रश्न गरें। उहाँले डाक्टरी पढ्दा तिमीलाई राम्रो हुन्छ भन्नुभयो। दुवै जनाले हेल्थ असिस्टेन्ट पढ्यौं। हेल्थ असिस्टेन्ट उत्तिर्ण गरेपछि घर पायक रुम्जाटारमा बसेर विरामीको सेवा गरें। त्यसपछि कान्ति बाल अस्पतालमा आएँ। त्यहिं बेला एमबीबीएसको परिक्षा दिएँ। चिकित्सा शास्त्र अध्ययन संस्थानमै नाम निस्कियो।
एमबीबीएस गरेपछि सोलुखुम्बुमा गएर काम गरें। त्यहाँ काम गर्दा विरामीलाई सेवा गरें। अप्रेशन गर्नुपर्ने खालका विरामीको विजोग देखेपछि मलाई सर्जरी क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने ईच्छा लाग्यो। एमडी बंगलादेशको ढाका युनिभर्सिटिबाट गरें। सरकारी सेवामा रहेर मैले गरिब विरामीको सेवा गरें। सयौं व्यक्तिको सल्यक्रिया गरें। कोशी अञ्चल अस्पतालमा निर्देशक भएर काम गरें। वीर अस्पतालमा रहेर काम गरें। पछि राष्ट्रिय चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पनि भएँ। मैले झण्डै तीस वर्ष सरकारी सेवामा विभिन्न अस्पतालमा काम गरें। अहिले सम्झँदा खुशी र गर्व महशुश हुन्छ।
नानीबाबुहरू, म डाक्टर भएकोले तिमीहरूलाई केही सल्लाह दिन चाहन्छु। स्वस्थ हुनुपर्छ। पोषिलो खानेकुरा खानुपर्छ। दिनहुँ कसरत गर्नुपर्छ। जंक फुड खानुहुँदैन। जंक फुडमा हानीकारक तत्व हुन्छ। अनावश्यक रुपमा मोटो गराउँछ। बढी वजन हुँदा हाडजोर्नी कमजोर हुन्छ। हरेक रोग निम्त्याउन्छ। तिमीहरूले मिहिनेत गरेर पढ्नुपर्छ। लगनशील पनि हुनुपर्छ। मिहिनेती र लगनशील व्यक्ति नै सफल हुन्छ।
(वरिष्ठ अर्थोपेडिक सर्जन डा. गुरुङसँग दिनेश गौतमले गरेको कुराकानीमा आधारित )