घरेलु जनावरसँग खेल्न रुचाउने कृष्णसार
विश्वबाट धेरै जीवजन्तु लोप भइसके। अझै कति लोप हुने अवस्थामा छन्। तीमध्ये कृष्णसार पनि एक हो। विश्वमा चार प्रकारका कृष्णसार पाइन्छन्। जुन नेपालका साथै छिमेकी भारत र पाकिस्तानमा पनि पाइन्छन्। प्रदेश नम्बर ५ अन्तर्गत बर्दियाको गुलरिया नगरपालिका–२ खैरापुर क्षेत्र कृष्णसारको मुख्य बासस्थान हो। यस क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र भनिएको छ। नेपालमा रहेका आधा दर्जन संंरक्षण क्षेत्रमध्ये कृष्णसार तराईको एक मात्र संरक्षण क्षेत्र हो।
त्यस्तै कञ्चनपुरको शुक्लाफाँटा, काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरको मृगस्थली, ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना र नेपालगन्जको महेन्द्र पार्क ‘मिनी जु’ लगायतका स्थानमा पनि कृष्णसार देख्न पाइन्छ। यो नेपाल सरकारको संरक्षित स्तनधारी वन्जजन्तु हो।
कृष्णसारलाई अंग्रेजीमा ‘ब्ल्याक बक’ भनिन्छ। वैज्ञानिक नाम एन्टिलोप सर्भिक्यापरा हो। हिन्दु धर्मशास्त्रमा कृष्णसारलाई भगवान् कृष्णको साथी पनि भनिन्छ। त्यसैले कसैकसैले यसलाई ‘कृष्ण मृग’ भनेको पाइन्छ। आकर्षक लामो घुमेको सिङ, कालो र सेतो रङको रौं कृष्णसारका विशेषता हुन्। वयस्क कृष्णसारको भाले कालो र पोथी खैरो रङको हुन्छ। वयस्क नभएसम्म भाले र पोथीको रङ खैरो नै हुन्छ।
बाँके, बर्दिया र कैलालीमा २००८ सालतिर कृष्णसार प्रशस्त पाइन्थ्यो। २०३१ सालसम्म आइपुग्दा नेपालमा कृष्णसार लोप भइसकेको अड्कल काट्न थालिएको थियो। एकजना विदेशीले दुई सयवटा कृष्णसार भेटेर नेपाल सरकारलाई जानकारी गराएपछि सरकारले संरक्षण गर्न थालेको हो। बर्दिया वन्यजन्तु आरक्ष (हाल बर्दिया राष्ट्रिय निकुञ्ज) बनेपछि २०३२ पछि कृष्णसारको संरक्षणको पहल सुरु भएको हो।
२३ फागुन २०६५ मा कृष्णसारको प्राकृतिक बासस्थानलाई १६ दशमलव ९५ वर्गकिलो मिटर क्षेत्रमा बर्दिया, खैरापुरमा कृष्णसार संरक्षण क्षेत्र घोषणा गरिएको हो। संरक्षित क्षेत्रमा कृष्णसारको बासस्थान भने ५.२७ वर्ग मिटर क्षेत्रभित्र रहेको छ।
बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा रहेका कृष्णसार।
कृष्णसार खुला घाँसे मैदान अर्थात् दूबो र काँसको मैदानमा बस्न रुचाउँछ। यो ६० देखि ८० किलोमिटर प्रतिघण्टा दौडन सक्छ। हावामा दुईपटक उफ्रिन सक्छ। अति डराउने र आत्तिने गर्छ तर घरपालुवा जनावर गाई, भैंसी, भेडा, बाख्रासँगै चर्ने र बस्न रुचाउँछ। संरक्षित क्षेत्रमा भने चौपाया चराउन दिइँदैन।
कृष्णसारले ६÷६ महिनामा बच्चा जन्माउँछ। लामो समयदेखि एकै प्रजाति र आफ्नै वंशभित्र मात्र संसर्गका कारण प्राकृतिक गुण हराउँदै गएका छन्। भाले कृष्णसारको मात्र सिङ हुन्छ। पोथीमा पनि सिङ पलाउन थालेको छ। वैशाख जेठको टन्टलापुर घाममा पनि खुला चौरमा बस्न सक्ने गुण भएको कृष्णसार अहिले भने घाममा बस्न सक्दैन।
कृष्णसारलाई चितुवाबाट जोगाउनुपर्ने चुनौती सबैभन्दा धेरै छ। हप्ता १० दिनमा चितुवाले एउटा न एउटा कृष्णसार मार्ने गरेको छ। साउनयता मात्र चितुवाले १३ वटा कृष्णसार मारिसकेको छ। संरक्षित क्षेत्रमा कम्तीमा पनि चारवटा चितुवा पसेको आशंका गरिएको छ। एउटा कृष्णसारलाई हुँडारले मारेको छ भने चारवटा कालगतिले मरेका छन्। भुस्याहा कुकुर र चिलबाट कृष्णसारका बच्चालाई जोगाउनु अर्को चुनौती छ।
संरक्षण क्षेत्रका निमित्त प्रमुख रेन्जर मनराज लामा मोक्तानका अनुसार कृष्णसार संरक्षण क्षेत्रमा अहिले ५२ वटा भाले र एक सय ३१ वटा पोथी कृष्णसार छन्। यसको २० वटाभन्दा बढी साना बच्चा रहेको आकलन गरिएको छ। लामाले भने, ‘२०७० सालमा सबैभन्दा बढी तीन सयवटा कृष्णसार थिए। ४० वटा बाढीले बगाएको थियो। यो वर्ष पनि तीन सयभन्दा बढी कृष्णसार पुग्ने आशा गरिएको छ।’ कृष्णसार संरक्षण क्षेत्रमा दसैं, तिहार, माघी, क्रिसमस, नयाँ वर्ष र स्कुलको बिदामा विद्यार्थी घुम्न जाने गर्छन्।