बालकथा : म पनि विद्यालय जान्छु
‘रामु, विद्यालय जाने हैन ? ’
विद्यालय जान हिँडेकी फुर्वाले सोधिन्। तर रामुले जवाफ दियो, ‘म त जान्नँ।’
साथीहरूले विद्यालय जाऊँ भन्दा पनि रामुले कहिल्यै जान्छु भनेन। उसलाई आमाबाले पनि कति प्रयास गरिसके, कति फकाइसके तर अहँ ऊ कहिल्यै विद्यालय जान मानेन। ऊ सधैं घरमै बस्छ र खेल्छ। विद्यालय उसलाई रमाइलो लाग्दैन किनकि त्यहाँ गएपछि खेल्न पाइँदैन, सधैं पढ्नुपर्छ अनि सरमिसले पिट्छन् अरे।
ऊ दिनभरि खेलेर बस्छ। कहिले गुच्चा खेल्छ, कहिले पांग्रा गुडाउँछ। उसका सबै साथी भने विद्यालय जान्छन्। बाँकी रहेका दुईजना साथी पनि यसैपालि विद्यालयमा भर्ना भए। यसले गर्दा उसका खेल्ने साथीहरू झन् घट्न थाले।
ऊ कहिले बाबुआमा काममा जाँदा घर कुरेर बस्थ्यो, कहिले बाख्रा चराउन जान्थ्यो। दिउँसो कोही नहुने हुँदा ऊ प्रायः एक्लै हुन्थ्यो।
साथीहरू विद्यालयबाट फर्केपछि पढ्न बस्थे। गृहकार्य सकेर मात्र खेल्थे। उनीहरू नयाँनयाँ खेल खेल्थे। रामु भने दिनदिनै नयाँनयाँ खेल खेलेको देखेर छक्क पथ्र्यो र सोध्थ्यो, ‘तिमीहरूले यस्तो खेल कहाँबाट सिकेको ? ’ साथीले जवाफ दियो, ‘विद्यालयबाट।’ त्यति मात्र कहाँ हो र ? उनीहरू त रमाइला गीत गाएर नाच्थे पनि। रामु पनि उनीहरूसँग खेल्न गयो। खेल्न त गयो तर उसलाई कुनै गीत गाउन आएन। त्यसैले गर्दा उसलाई साह्रै नरमाइलो लाग्यो।
आज शनिबार। छुट्टीको दिन। रामु साथीहरूसँग बाख्रा चराउन जंगल गयो। उनीहरू बाख्रा चराउँदै रमाइला खेलहरू खेल्न थाले। गीत गाएर नाचे। फुर्वाले त एउटा कथा पनि सुनाइन्। कमलेशले पनि सुनायो। सबैजना गोलो गरी बसे। अनि पालैपालो कथा सुने र सुनाए। अरू सबैले कथा सुनाइसकेपछि रामुको पालो आयो। ‘ल अब रामुको कथा सुनाउने पालो।’ रामुलाई साथीहरूको कथा सुन्न पाउँदा त रमाइलो लागिरहेको थियो तर अहिले आफ्नो पालो आएपछि भने आपत्मा प¥यो। किनकि उसलाई एउटा पनि कथा भन्न आएन। उसले लजाउँदै भन्यो, ‘मलाई त कथा नै आउँदैन।’
‘आ ! यो रामुलाई त केही पनि आउँदैन। पढ्न नि आउँदैन, गीत त झन् गाउनै आउँदैन। कस्तो होला ? ’ कृष्णले रिसाउँदै भन्यो।
‘अनि विद्यालय जाऊँ भन्दा मान्दैन। गए पो आउँछ त। जहिले पनि घरमा बसेर खेलेर बस्छ अनि कहाँ आउँछ र ? ’ कमलेशले कृष्णको कुरामा सही थप्यो।
यस्तो कुरा सुनेर रामुलाई झन् नरमाइलो लाग्यो। उसलाई विद्यालय नगएकोमा पछुतो लाग्यो। ऊ जुरुक्क उठ्यो र कसैसँग केही नबोली बाख्रा लिएर घर फर्कियो। यसरी रामु केही नबोली फर्केकोमा साथीहरू छक्क परे।
‘बुवा ! भोलिदेखि म पनि विद्यालय जान्छु।’ घर पुग्नेबित्तिकै सासै नफेरी रामुले बुवालाई भन्यो। बुबाले दंग पर्दै भन्नुभयो, ‘ओहो, किन नि आज त मेरो छोरोले विद्यालय जाने कुरा पो ग¥यो त।’
भोलिपल्ट रामु बिहानै उठ्यो र हातखुट्टा धोइवरी सफासुग्घर भयो। अनि खाना खाएर दाँत माझ्न थाल्यो। त्यति नै बेला फुर्वा त्यही बाटो हुँदै विद्यालय जाँदै थिइन्। रामुले तिनलाई झ्वाट्टै देखिहाल्यो र चिच्यायो, ‘फुर्वा ! एकछिन पख न, म पनि आइहाल्छु।’
फुर्वा अचम्म मानेर पर्खन थालिन्। रामु भने घरभित्र दौडियो।