पर्यटन विकास गर्न सिलिगुडीमा छलफल
सिलिगुडी : नेपाल र भारतका पर्यटन व्यवसायीले दुई देश बिचको पर्यटन विकास गर्न पर्यटकीय क्षेत्रले मात्र नभई पर्यटन करिडर व्यापारको पनि विकास गर्नुपर्नेमा जोड दिएका छन्। भारतको सिलिगुडीमा आइतबार प्रदेश–१ र भारतका पर्यटन व्यवसायीले यस्तो कुरामा जोड दिएका हुन्।
उनीहरुले नेपाल–भारत सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि क्रमश न्यून हुँदै गएको र देशमा राजनितिक गतिरोध पनि कम हुँदै गएकाले अब पर्यटन विकासमा दुबै देशले योजना बनाएरनै लाग्नुपर्ने बताए।
समान भौगोलिक तथा वातावरणीय अवस्था भएको यस क्षेत्रमा दुबै देश मिलेर पर्यटन प्रवर्धनका लागि योजनावद्ध कार्यगर्न सके यसले दुबै देशलाई फाइदा पु¥याउने उनीहरुको भनाई छ।
भारतका व्यापारीहरुको छाता संगठन कन्फड्र्रेशन अफ इन्डिया इण्डष्ट्रिज (सीआईआई) र कोलकातास्थित नेपाली महावाणिज्यले पर्यटन विकासका लागि संयुक्त रुपमा आयोजना गरेको छलफलमा बोल्दै भारतका पर्यटन अभियन्ता राज बसुले भारतीय नागरिकको पहिलो चाहना नेपाल घुम्ने र नेपालीको भारत घुम्ने नै भएकाले यो चाहनालाई पर्यटन सँग जोडेर हेर्नुपर्ने बताए।
‘नेपालमा धेरै जाने सुचिमा भारतीय पर्यटक पनि अग्र स्थानमा छन् अनि भारतमा नेपालीको संख्या पनि उस्तै हो, त्यसैले यो क्रमलाई व्यवस्थित बनाउन करिडर र व्यापार विकास गर्नु पहिलो प्राथमिकता हो,’ उनले भने ।
नेपालका पर्यटन अभियन्ता अर्जुनकुमार कार्कीले नेपालको बाहुनडाँगीदेखि इलाम हुँदै भारतको मिरिक र दार्जीलिङलाई करिडरमा समेट्न सकिने दुबै देशलाई फाईदा पुग्ने बताए। ‘नेपालको व्यापार भारतमा र भारतको नेपालमानै हो, अब वस्तु व्यापारले मात्र होइन पर्यटन सहकार्य र विकासमा दुबै देशले सीमा क्षेत्रलाई करिडरको रुपमा विकास गर्नुपर्छ,’ कार्कीले भने।