अवसरको उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन

अवसरको उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी/व्यवसायीलाई अवसरको उपयोग गर्न निर्देशन दिएका छन्।

नेपाल उद्योग परिसंघको १६औं वार्षिक साधारणसभामा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले लगानीको वातावरण तयार गरेकाले स्वेदशी लगानीकर्तालाई पर्याप्त लगानी गर्न आह्वान गरेका हुन्। स्वदेशी लगानीकर्तालाई पैसा निकालेर उत्पादनशील क्षेत्रमा लगानी गर्न उनले आह्वान गरेका थिए।

देश विकास गर्ने अनुकूल वातावरण भएकाले यस परिथितिको उपयोग गर्न प्रधानमन्त्रीले सबैलाई आग्रह गरे। ‘अझै कुनै कानुन तथा संविधानमै समस्या छ भने सुल्झाउन सकिन्छ’, उनले भने। लगानीमैत्री वातावरण बनाउन जुनसुकै कानुन पनि संशोधन गर्न सकिने उनको भनाइ थियो।

‘नेपालमा लगानीको प्रशस्त सम्भावना रहे पनि हामी केही नगरी बसेका छौं’, उनले भने, ‘अब देश विकासका लागि निजी क्षेत्र र सरकार साझेदारी गरौं।’

देश विकासका लागि स्वदेशी पुँजी र प्रविधिले मात्रै नपुग्ने भन्दै विदेशी लगानी आकर्षित गर्न लगानीमैत्री ऐन निर्माण गरिएको बताए।

‘विदेशी लगानी ल्याउन खोज्दा स्वदेशी लगानीकर्ता तर्सिनुपर्ने कारण छैन’, उनले भने, ‘स्वदेशी लगानीकर्ताको पूर्ण संरक्षण गर्र्दै विदेशी लगानी भिœयाउने हो।’

कृषि क्षेत्रमा रहेको आस्रित जनसंख्यालाई आधाभन्दा कममा झार्ने र अरु क्षेत्रमा लगाउन आवश्यक भएको प्रधानमन्त्री ओलीले बताए। ‘प्रविधि भित्र्याएर कृषिको आधुनिकीकरण र व्यवसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ’, उनले भने।

उद्योगको संरक्षण, प्रवद्र्धन र विकासमा सरकारले सघाउने भन्दै प्रधानमन्त्री ओलीले सगरमाथाको पानीसमेत विश्वभर बेच्न सकिने बताए। रोजगारी र उत्पादन बढ्ने गरी मौलिक ढंगका उद्योगधन्दाको विकास गर्न निजी क्षेत्र तयार हुनुपर्ने उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले ठगी क्रियाकलाप रोक्न व्यापारीलाई निर्देशन दिएका थिए। ‘कालोबजारी अन्त्य होस्, ठगी गर्ने मनसायले व्यावसाय नचलाउनुहोस्’, उनले भने। नक्कली काम गर्दा व्यावसाय पनि नफस्टाउने र अर्थतन्त्र पनि डामाडोल हुने उनको भनाइ थियो। अस्वस्थ्य प्रतिस्पर्धा हटाएर तिर्नुपर्ने दायित्व पूरा गर्न उनले उद्योगी तथा व्यवसायीलाई अनुरोध गरे।

व्यवसायी पारदर्शी भएर अघि बढ्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। ‘लुकाएर, छिपाएर व्यापार नगर्नुहोस्’, उनले भने। कुनै एजेन्सीको डिलरसिप लिएर कमिसन खाएर नै व्यापार गर्न सकिने उनले सुझाए। तर अपारदर्शी ढंगले व्यावसाय गर्न कसैलाई छुट नभएको उनको भनाइ थियो।

निरपेक्ष गरिबीको रेखा चार वर्षभित्र इतिहास बनाइने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरे। हरेक निकायलाई आफ्नो क्षेत्रमा लिड गरेर देश विकासमा जुट्न उनले आह्वान गरे।

आयात प्रतिस्थापनसँगै निर्यात प्रवद्र्धन गर्नेगरी उत्पादन बढाउन निजी क्षेत्रले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो। सार्वजनिक, निजी र सहकारीको सहकार्यमा देशको आर्थिक विकास बढाइने उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले माइक्रो इकोनोमी कार्यान्वयन गर्न निजी क्षेत्र सहकार्य गर्न तयार भएको बताए। ‘जागिर खोज्दै विभिन्न मुलुक जाने होइन, स्वदेशमै लगानी गरेर समृद्ध नेपाल निर्माण गर्नुपर्छ’, उनले भने। उद्योगधन्दा विकासका लागि सरकारका तीनै तहसँग सहकार्य गर्ने उनको भनाइ थियो।

पछिल्लो समय लगानीको वातावरण बन्दै गएको भन्दै शर्माले कोरिया, जापान र इजरायलको विकास मोडेल भित्र्याएर देश विकास गर्न सकिने बताए।

परिसंघका पूर्वअध्यक्ष विनोद चौधरीले काम गरे पनि हुने र नगरे पनि हुने परिस्थिति अन्त्य गरिनुपर्ने बताए। दिगो विकासका लागि निजी क्षेत्र सरकारसँग सहकार्य गरेर अघि बढ्ने बताए।

सो अवसरमा उत्कृष्ट निर्यातकर्ता संघसंस्थालाई पुरस्कृत गरिएको थियो। संस्थाको १६औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ। अर्थमन्त्री डा. युवराज खतिवडाले विकासको गति अघि बढाउन सरकार एक्लैको प्रयासले केही नहुने बताए। औद्योगिकसँगै पूर्वाधार क्षेत्रमा सार्वजनिक निजी साझेदारीमार्फत काम गर्नुपर्ने उनको सुझाव थियो। ‘उत्पादन बढाएर सेवा र वस्तुको निर्यात गर्न सक्नुपर्छ’, उनले भने, ‘सरकारले कर प्रणाली, वित्तीय प्रणाली तथा पूर्वाधार क्षेत्रमा सघाउँछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.