बिचौलियाकै जगजगी : सेवाग्राहीको काम ‘ल्याप्चे’ मात्रै

बिचौलियाकै जगजगी : सेवाग्राहीको काम ‘ल्याप्चे’ मात्रै

काठमाडौं : ‘बिहानै यहाँ आइयो, काम कति बेला सकिने हो टुंगो छैन,’ सोमबार दुई बजेतिर मालपोत कार्यालय कलंकीमा भेटिएका एक वृद्धको गुनासो हो यो। उनले कर्मचारीसँग होइन, कामको जिम्मा लिएका लेखापढी व्यवसायी (बिचौलिया) सँग गुनासो पोखेका हुन्।

आफ्नो सम्पत्ति मरणोपरान्त सन्तानको गर्ने गरी व्यवस्था मिलाउन मालपोत पुगेका थिए काठमाडौं–१४ कुलेश्वरका ती वृद्ध। ‘शेषपछि छोराहरूको नाममा गरिदिन आएको, तर यही काममा दिन बित्ला जस्तो भइसक्यो,’ उनले भने।

उनी यसअघि एक्लै मालपोत कार्यालय पुगेका रहेछन्। कर्मचारीले कहिले के त कहिले के पुगेन भनेर दुःख दिएपछि उनले बिचौलियाको सहारा लिएका हुन्। ‘यहाँ बिचौलियाको पछि नलागे त कामै हुँदैन हजुर,’ उनले भने, ‘एक्लैले काम गर्न खोजे दिन बित्छ।’

चन्द्रागिरीका अर्का सेवाग्राहीको अनुभव पनि उस्तै छ। ‘हाम्रो काम त ल्याप्चे लगाउने र हस्ताक्षर मात्र हो,’ उनले भने, ‘अलिअलि पैसा दिएर काम गरायो भने छिट्टै हुन्छ, दुःख पनि हुँदैन।’

कार्यालय प्रवेशद्वारमै नागरिक बडापत्र झुन्ड्याइएको छ। त्यहाँ हरेक कामका लागि चाहिने कागजपत्र, लाग्ने समय र दस्तुर उल्लेख छ। तर मालपोत पुग्ने सेवाग्राही कमैले मात्र आफैं काम गर्छन्। धेरैले बिचौलियाकै सहारा लिन्छन्। ‘कित्ताकाटको काम थियो, आफैंले गर्दा फाँटफाँट दगुर्नुपर्छ, कर्मचारीले दुःख मात्र दिन्छन्,’ कलंकीका एक सेवाग्राहीले भने, ‘उहाँ (बिचौलिया) हरूलाई पैसा दियो भने काम छिटो र सजिलो हुन्छ।’

मोलपोतका सबै फाँटमा बिचौलियाकै राज छ। मोठ फाँट र लिखत फाँटमा उनीहरूकै हालीमुहाली छ। बिचौलिया फाइल बोकेर जहाँजहाँ जान्छन्, उनीहरूका पछाडि दगुर्छन् सेवाग्राही।

बिचौलियामा युवती धेरै

कार्यालयमा बिचौलिया युवती धेरै देखिन्थे। उनीहरू फाइल बोकेर गएपछि काम फटाफट हुन्थ्यो। उनीहरूलाई प्रत्येक फाँटमा सहज प्रवेश सुविधा थियो। त्यसैले उनीहरूको दौडधुप र चुरीफुरी हेर्न लायक थियो। ‘मेरो फाइल हेरिदिहाल्नुस् त,’ बिचौलियाको काम गरिरहेकी एक युवतीले भनिन्, ‘क्लाइन्टले कराएर दुःख दिइसक्यो।’ उनको आग्रहपछि कर्मचारीले फाइल मागेर काम गर्न थाले। यस्ता दृश्य मालपोत कार्यालयका प्रत्येक फाँटमा देखिन्थे।

दिउँसो सरकारी पोसाकमा एक सेवाग्राही मालपोतमा पुगिन्। उनले पनि बिचौलियालाई काम गर्न लगाइन्। चिनेका एक बिचौलियासँग गफ गर्दै उनी भन्दै थिइन्, ‘अफिसबाट एकछिन आएकी हुँ।’ भव्य भवनमा बनेको कलंकी मालपोत कार्यालयबाहिरबाट हेर्दा जति चिटिक्क देखिन्छ, भित्र भने भद्रगोल छ। प्रवेशद्वारबाटै धुलो र फोहोर त छँदैछ, त्यहाँबाट हुने सेवाप्रवाहले भव्य भवनलाई गिज्याइरहेको छ।

‘हाम्रो देशमा जस्तो कानुन बनाए पनि केही हुन्न। कर्मचारीको मानसिकता उस्तै छ,’ अर्का सेवाग्राहीले भने, ‘एउटै जग्गा ५० ठाउँमा किनबेच हुन्छ। बिचौलिया नलगाई कामै हुन्न।’

मालपोतसँगै जोडिएको घरमा बिचौलियाको कोलोनी छ। त्यहाँ १५÷२० वटा लेखापढी व्यवसायीका फर्म छन्। कार्यालयभित्र लेखापढी व्यवसायीको कार्यालय छ। भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले भने लेखापढी व्यवसायीलाई सकेसम्म मालपोत कार्यालयमै प्रवेश रोक लगाउन निर्देशन दिएकी छन्। मन्त्री अर्यालले भदौमा ११ बुँदे परिपत्र गरेर बिलौलियालाई कार्यालय प्रवेशमा रोक लगाउन निर्देशन गरेकी थिइन्।

कुरूप नमुना कार्यालय

काठमाडौंकै अति व्यस्त मालपोत कार्यालयमध्ये एक हो, कलंकी मालपोत। काठमाडौंका मालपोत कार्यालयमा चाबहिल, डिल्लीबजार र कलंकी मालपोत कार्यालय कर्मचारीका लागि आकर्षक मानिँदै आएका छन्। अनियमितता र भ्रष्टाचारमा चर्चित कार्यालय हो कलंकी मालपोत।

काठमाडौंको कलंकीस्थित मालपोत कार्यालयको भवन ।

सरकारले कलंकी मालपोतलाई नमुना कार्यालय बनाउने तयारी गरेको छ। केही समयअघि भूमि व्यवस्थामन्त्री अर्यालले कार्यालयको स्थलगत निरीक्षण गरेकी थिइन्। ‘यिनीहरुको काम गराइ हेर्दा नमुना कार्यालय बन्ने त उस्तै हो तर कम्तीमा यहाँको काम व्यवस्थित गरेर सजिलै काम हुने बनाइदिने हुन्थ्यो’, एक सेवाग्राहीले भने, ‘महानगर र नगरपालिकाको छुट्टाछुट्टै फाँट बनाएर काम गर्ने व्यवस्था भए सजिलो हुन्थ्यो।’

कार्यालयको मुख्य ढोका भित्रपट्टि लेखिएको छ, ‘आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म र शुक्रबार १० बजेदेखि १ बजेसम्म टोकन लिन सकिनेछ।’ नयाँ भवन भएकाले भुइँतला र पहिलो तलामा संरचना निर्माणको काम जारी छ। भौतिक संरचनाको काम लठिभद्र छ। फर्निचरका सामग्री र कागजात भद्रगोल छन्। दराज, टेबुल र सोफासेटमा धुलैधुलो छ।

डिजिटलाइज लालपुर्जा बनाउने काम सकिएको छैन। पहिलो पटक त्यहाँ पुग्ने जोकोही पनि त्यो सूचना हेरेर टोकन लिने ठाउँ खोज्दै हिँड्छ। तर टोकन लिने व्यवस्था छैन। टोकन लिने व्यवस्था गर्न सके सेवाग्राहीको भीड व्यवस्थित हुने र काममा पनि सहजता आउने कर्मचारी बताउँछन्।

प्रमुख मालपोत अधिकृत देवीबहादुर भण्डारी दिउँसो तीन बजेसम्म कार्यालयमा भेटिएनन्। उनको कार्यकक्षबाहिर राखिएको नेमप्लेटमा ‘बाहिर’ भनेर लेखिएको थियो।

नो पार्किङमै पार्किङ

अन्य सरकारी कार्यालयजस्तै यहाँ पनि पार्किङको समस्या छ। सेवाग्राहीको अत्यधिक भीड हुने भए पनि पार्किङ अभावका कारण सडकका दुवै छेउमा सवारीसाधन रोकिएका थिए।

नो पार्किङमै पार्किङ गरिएका थिए सवारीसाधन।

मन्त्रीको निर्देशन अवज्ञा

चैत ३ गते भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल मालपोत कार्यालय कलंकी पुगेकी थिइन्। उनी त्यहाँ पुग्दा चिटिक्क बनाइएको थियो कार्यालय। मन्त्रीलाई देखाउनकै लागि भए पनि सेवाप्रवाह व्यवस्थित बनाइएको थियो। मन्त्रीले बिचौलिया प्रवेशमा रोक लगाउन र लेखापढी व्यवसायीलाई परिचयपत्र अनिवार्य रुपमा लगाउन निर्देशन दिएकी थिइन्। तर सोमबार अधिकांश युवती लेखापढी व्यवसायीभन्दा बिचौलियाको भूमिकामा थिए। परिचयपत्र लगाएका कर्मचारी पनि कमै थिए।

मन्त्री आर्यालले चैत मसान्तभित्रै कंलकी मालपोतलाई नमुना कार्यालय बनाउने घोषणा त गरिन्। चैत तेस्रो साता बितिसक्दा पनि मन्त्रीको नमुना कार्यालय बनाउने घोषणाले सार्थकता पाउने लक्षण देखिँदैन।

चासो समायोजनमै

कार्यालय पछाडि क्यान्टिन छ। खासै भीडभाड नभएको उक्त क्यान्टिनमा दुई कर्मचारी खासखुस गर्दै थिए। उनीहरू कार्यालयको कामभन्दा पनि जिल्ला शिक्षा विकास तथा समन्वय एकाइको टिप्पणी गर्दैथिए।

‘अहिले यो कार्यालय सुनसान छ। पहिला शिक्षा मन्त्रालयबाट गृहमा ल्याइयो। फेरि शिक्षामै फर्काइयो। म हुँदा कति सान थियो। ३२ जना कर्मचारी थियौं’, ती कर्मचारी भन्दै थिए, ‘शिक्षा अधिकारीको कति धेरै पावर थियो। उनले अस्थायी, करारमा कति कर्मचारी भर्ना गर्न पाउँथे। अहिले त त्यो कार्यालय जान कोही चाहँदैन।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.