कानुनी झन्झटमा सुधार आयो तर भ्रष्टाचार हटेन : उपराष्ट्रपति पुन
ललितपुर : उपराष्ट्रपति नन्बहादुर पुनले भ्रष्टाचार र अनियमितता नहटेसम्म समृद्ध नेपाल र सुखी नेपालीको सपना बालुवामा पानी खन्याए जस्तो हुने टिप्पणी गरेका छन् ।
बुधबार ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित पुनले यस्तो बताएका हुन् । चैत २७ गतेदेखि बैसाख १ गतेसम्म चल्ने ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ मा बोल्दै पुनले भ्रष्टाचारलाई जरैबाट उखेल्न तल्लो भन्दा तल्लो तहदेखि सहयोग गर्नुपर्ने पनि बताए ।
‘नीतिगत कानुनी झन्झटमा सुधार आयो तर अनियमितता र भ्रष्टाचार हटेन । समृद्ध नेपाल र सुखी नेपालीका लागि सबै भन्दा ठूलो शत्रु भ्रटाचार हो,’ उपराष्ट्रपति पुनले भने ।
यद्यपि छोटो समयमै नेपाली जनता खुसी र सुखी हुने कुरामा आशावादी रहेको उनको भनाइ छ । सरकारले अगाडि सारेका नारालाई व्यवहारिक रुपमा उतार्न सक्नुपर्ने पनि उनको सुझाव छ ।
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरलाई राज्यले उपेक्षा गरेको र लगानी सम्मेलनमा पनि ललितपुरका कुनै एजेन्डा नउठेको गुनासो गरेका थिए ।