३ किलो सुन लुकाएर ल्याउने चिनियाँ नागरिक पक्राउ
बिर्तामोड : मलद्वारमा सुन लुकाएर ल्याउने तीन जना चिनियाँ नागरिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। उनीहरुबाट ३ किलो ३०० ग्राम सुन बरामद भएको विमानस्थलका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए।
बिहीबार अपरान्ह ४ बजे एयरपोर्टमा उत्रिएका चिन फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंगबाट उक्त सुन बरामत भएको उपरीक्षक कोइरालाले बताए। भन्सारको एक्स–रे मेसिनमा उनीहरुको पेटमा केही धातु रहेको देखिएपछि पानी खुवाएर दिसा गर्न लगाउँदा ३ किलो ३०० ग्राम सुन बरामद भएको कोइरालाको भनाइ छ।
पानी खुवाएको आधा घण्टापछि दिसा मार्फत सुन निक्लिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जना चिनीयाँ नागरिकलाई प्रहरी प्रभाग कोटेश्वरको हिरासतमा राखिएको प्रहरी उपरीक्षक कोइरालाले बताए।
कहाँबाट सुन ल्याएको र कहाँ लैजान लागेको भन्ने विषयमा जानकारी लिन भाषा अनुवादक चाहिने भएकाले शुक्रबार मात्र बयान लिने तयारी भएको प्रहरीले जनाएको छ। उनीहरुको राहदानीमा उल्लेखित विवरणबाट चिनको फुजियान र गान्सुका नागरिक रहेको खुलेको हो।