समीरेका बाका हात

समीरेका बाका हात

घरमुनिको कान्ले बारीमा दसैंपछि बाले मकै छर्नुभयो, म जस्तै हलक्क बढ्दै गए मकै । हलक्क बढेका मकैमा जुँगा पलाउन थाले, कान्छा दाइको जुँगा जस्तै । अनि बिस्तारै मकैले आफ्नो कोखिलामा सानासाना मकैका घोगा पनि हाल्न थाल्यो। त्यसपछि सुरु भयो मेरो दैनिकी। पुसमाघको जाडोमा म जुटको बोरा टिपेर बाले चुरोट सल्काउनी सलाई बोकेर, आमाले मायाले दिएको एक गिलास तातो चिया बोकेर लुरुक्क बारीमा जाने ।

घर बस्नभन्दा बारीमा जानै रमाइलो हुन्थ्यो, जुटको बोरा ओछ्यायो, आगो बाल्यो, भर्खरभर्खर दाना लाग्न लागेको मकै पोल्यो, आमाको माया मिसिएको, चिसोचिसो हुन लागेको चियासँगै तातोतातो मकै खायो। त्यो पनि खोयासितै ।

भर्खर जुँगाका रेखी बसेको थियो कान्छा दाइको। अलिअलि लाज लाग्न थाल्ने उमेर। अझ बैंस चढ्न थालेको थियो त्यसको। उसको आफ्नै जुँगाले रेखी लगाएको बेला मकैले पनि जुँगा हालेका थिए ।

धेरै वर्ष भइसकेको थियो बाले दसैंपछि मकै छर्न लागेको। सुरुसुरुमा कान्छा दाइ जान्थे बारीमा बाँदर र पट्टुबाट मकै जोगाउन । दाइका पनि मकैका जस्तै जुँगा बिस्तारै पलाउन थालेपछि लाज लागेछ क्यारे पछिपछि जान मानेनन्। ‘मलाई पढ्नु छ धेरै’ भन्दै कुरा टार्न थाले ।
त्यसपछि त घरकी सानी मै ! मेरै पालो लाग्यो। बिहान नौ बजेसम्म 

मकै कुर, अनि घर जाऊ, खाना खाएर स्कुल जाऊ, फेरि साँझ स्कुलबाट फर्केपछि मकै कुर । मलाई त बडो रमाइलो लाग्थ्यो। न त पढ्नु पर्ने। किताब बोकेर बारीमा गए भयो। न घरको काम गर्नु पर्ने। ओ हो ! कति हो कति मस्ती ।

त्यही भएर पनि मलाई लाग्थ्यो, घरमुनिको कान्ले बारीमा बाले सधैं मकै लगाए हुन्थ्यो। चरा र बाँदर लखेट्ने बहानामा घरको कामबाट र पढेनन् भन्ने र्‍याइँर्‍याइँबाट मुक्ति मिलेको थियो मलाई। 

घरिघरि बारीको एक चक्कर लगाएर चरा र बाँदर आए कि आएनन् भनेर हेर्नुपथ्र्यो। 
मकैले दाना हालेपछि बुवाले कडा निगरानी राख्नुहुन्थ्यो। आगो मात्रै ताप्ने काम भा’छ कि मकै हेर्ने काम पनि भा’छ भनेर। बेलाबेला खुसुक्क आएर टाउकामा प्याट्ट पार्नुहुन्थ्यो। त्यही भएर टाउकोमा आलु फल्नुभन्दा पहिले नै अलि चनाखो भएर तीनचार पटक नै बारी वरिपरि चरा र बाँदर धपाउँदै दगुर्थें। चक्कर काट्नु पथ्र्यो, चरा र बाँदर कहाँकहाँबाट आइपुग्थे स्याम्म मकै खान !।
 
त्यो एक दिन ।
सधैंझैं म बुवाको चुरोट सल्काउने सलाई, आमाको माया मिसिएको चिया र जुटको बोरा बोकेर बारीमा जान तयार भएँ ।
अलि तल झर्नै लाग्दा आमाको आवाज कानमा गुन्जियो। ‘कान्छा आज तँ जा त बारीमा चरा र बाँदर धपाउन, त्यसको काम छ ।’ कान्छाले दिने जवाफ मलाई थाहा थियो। दियो पनि त्यही नै ।

‘सक्दिनँ म, पढ्नु छ मलाई धेरै ।’ 
कान्छाको जवाफ सुनेपछि आमा चुप लाग्नुभयो अनि मलाई कराएर भन्नुभयो, ‘आज अलि धेरै नै जाडो छ, आगो ठूलो बालेर बसेस् ।’
म आमाको कुरा नसुनेझैं गरेर बुरुक्क उफ्रेर कान्ला नाघेँ। एउटा दुइटा तिन्टा गर्दै सबै कान्ला नाघेपछि बारी आइपुग्यो ।
बोरो राखेँ, चिया छेउ लगाएँ, बारीमा गए नि पढ्नुपर्छ भनेर बाले हातमा थमाइदेको कापी भुइँमा राखेँ ।
अनि फु फु गर्दै बाको चुरोट सल्काउने सलाई कोरेर आगो फुकेँ ।
शीतले चिसाचिसा दाउरा भए पनि, चिरपट दाउराका सानासाना चिरा बोकेर हिँडेकी थिएँ। आगो हुर्र बल्यो। 
चिया आगोको छेउमा राखेँ। एउटा मकै भाँचेँ। प्याट्ट आवाज आयो ।
मकै छोडाएर अलि पर पुग्ने गरी खोसेला फालेँ ।

देउतालाई नचढाउँदै मकै खायो भने कुन्नि के जाती नराम्रो हुन्छ भन्नुहुन्थ्यो बा, त्यही भएर मैले खाका मकैका थोता जम्मै लुकाउँथेँ ।
आमाको माया मिसिएको चिया र मकै खाएर बाँदर र चरा धपाउन मकै बारी वरिपरि हाहाहा गर्दै कुरेँ ।
शीत तपतप चुहिएको थियो ।
अरू दिनभन्दा त्यो दिन आमाले भनेजस्तै साँच्चै नै चिसो धेरै थियो। आफूभन्दा पाँच पाइला टाढा देख्न मुस्किल पथ्र्यो। 
म बारीको चक्कर लगाएर आगोको छेउमा पुग्नै लागेकी थिएँ, कसैले पछाडिबाट च्याप्प समात्यो ।
तर्सिएँ, ‘आबुई को हो !’
पछाडि फर्केको त मेरै साथी समीरेका बा रैछन्, मनमनै ‘बूढाले बेस्सरी तर्साए ’ भन्दै तिनले समातेको हात फुत्काएर भाग्न खोजेँ ।
तर अहँ जाडोले कठ्यांग्रिएको मेरो हातले ती बूढाको हात फुत्काउन सकेनन् ।
छातीमा भर्खरभर्खर टुस्स टुसा पलाएका थिए मेरा। आफैंले झुक्केर छुँदा पनि चसक्क दुख्थ्यो। नुहाउँदा, लुगा फेर्दा, स्कुलमा खेल्दा जे गर्दा पनि दुख्थ्यो ।
आमा घरिघरि भन्नुहुन्थ्यो, ‘यो पनि ठूली भई ।’
मलाई भने अचम्म लाग्थ्यो, दिदीका त्यत्रा टुसा छन् र त मैसित खेल्छिन्, मेरा तित्राको अन्डा जत्रा दाना हुँदा ठूली भई रे !
रिस पनि उठ्थ्यो ।
मनमनै मुर्मुरिन्थें, ‘बूढी !!’
ती समीरेका बाले मेरो स्विटरबाट मेरा तिनै तित्राका अण्डा जत्रा साना टुसामा हात लगाउन थाले ।
‘नानी त ठूली भैछे’ भन्दै ।
बूढाका छिप्पेका हात मेरो छातीभरि सलबलाउन थाले। एकैछिन अगाडि स्विटरमाथि सलबलाएको तिनको हात, बिस्तारै बाख्राको पाठाले उधुनेर बनाएको स्विटरको प्वालबाट भित्र छिर्न थाल्यो। म डरले निथ्रुक्क भइसकेकी थिएँ। बोलूँ भने बोली निस्किएको थिएन ।
हात हटाउन तिनको बलको अगाडि मेरो बल हात्तीको मुखमा जीरा जस्तै भएको थियो ।
ती बूढाले मसँग के गरेका हुन्, के गर्न खोजेका हुन् भन्ने कुराको भेउ पाउन सकेकै थिइनँ मैले ।
सुरुमा त माया नै गरेका हुन् कि, गाउँले काका र स्कुलमा मिल्ने साथीको बा पो हुन् केरे जस्तो लागेको थियो ।
तर माया गरेको मान्छेले त मलाई दुख्दासम्म पनि किन त्यसरी निचोर्थे होला ? मेरो आँखाबाट आँसुका भेल बग्दासम्म त्यसरी किन समात्थे होला ? मलाई सपना हो कि विपना, छुट्याउन गाह्रो भयो ।

तिनले मलाई के गरेका हुन् भन्ने पनि थाहा पाइनँ। किनकि त्योभन्दा 
पहिले कसैले त के, बाले पनि मलाई मन नपर्दा नपर्दै बोकेर डुलाएका 
थिएनन्, आमाले गालामा म्वाइँ खाएकी थिइनन् र कान्छादाइले हात समातेर हिँडाएका धरि थिएनन् ।
आफूले सकुन्जेल बल लगाएर उम्किने कोसिस गरिरहेँ, तर अहँ सकिनँ ।
आफैंले झुक्केर छुँदा पनि चसक्क दुख्ने मेरो छातीमा भर्खर उम्रेका टुसा तिनका खस्रा हातले चलाउँदा दुखेर ऐड्ढया भन्न नसक्ने भएकी थिएँ ।
आकाशबाट शीत त के झरेको थियो र ? वर्षामा बलेनीबाट पानी त्यति के झथ्र्यो होला र ! मेरा आँखाबाट बलेनी बनेर त्योभन्दा धेरै आँसु झरेको थियो ! तर आवाज भने शून्य !
किनकि समीरेको बाको एउटा खस्रो हात मेरो मुखमा थियो। 
आफूलाई मन लागुन्जेल तिनले मेरो छातीमा आफ्नो हात सलबलाए, मेरो आवाज ननिस्कोस् भनेर मुख बन्द गरिदिए। अनि, ‘नानी त ठूली भैछेस्, कतिमा पढ्छेस् रे !’ भन्दै आफ्नो बाटो लागे ।

माघको चिसो। फुरफुरफुरफुर शीत झरिरहेको थियो ।
मेरा आँसु पनि शीत नै बनेर बगे। माघको चिसो भए पनि चैत–वैशाखको टन्टलापुरे जस्तो चिडचिड पसिना आइरह्यो ।
समीरेका बा एकैछिनमा कता बिलाए। हराए ।
तर मेरो दुखाइ हराएन ।
म त बेस्सरी निचोरिएकी थिएँ। 
ती खस्रा हातले चिथोरेको थियो ।
पाठाले उधुनेर च्यातेको स्विटर अझै बढी च्यातेर आँखीझ्यालको प्वालभन्दा ठूलो भएर चिसो हावा मेरो शरीरभित्र स्पर्श गर्दै थियो। तर म त निचोरिएकी थिएँ ।
चिसो हावाको स्पर्शले मलाई छुन सकेन। छोयो त केवल समीरेको बाउको निचोराइले ।
 २ब्अक्बदष्तब साथीसँग मनका कुरा रेडियो कार्यक्रमकी उत्पादक÷
सञ्चालक हुन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.