‘ओली सरकार पाकेको फर्सी हो, आफैँ झर्छ' : नेता लेखक
ओखलढुंगा : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री रमेश लेखकले वर्तमान सरकार पाकेको फर्सी जस्तो भएको टिप्पणी गरेका छन्।
नेपाल प्रेस युनियनले शनिबार ओखलढुंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले ओली सरकार पाकेको फर्सी भएकाले आफैँ झर्ने बताए। उनले भने, ‘अपराध र भ्रष्टाचारमा डुबेको सरकार फर्सीजस्तो हो, केही गर्नै पर्दैन, आफैँ झर्छ।’
पूर्व मन्त्रीसमेत रहेका नेता लेखकले देशैभरि डोजरको खेति चलिरहेको बताए। विकास निर्माणका नाममा भ्रष्टाचार भइरहेकाले यसमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि जोगिनुपर्नेमा जोड दिए।
कार्यकर्ताहरुलाई एक घण्टा प्रशिक्षणसमेत दिएका नेता लेखकले अहिलेको सरकार चिल देखाएर कुखुरा खाने स्याल प्रवृत्तिको भएको आरोप लगाए। सरकार पानीजहाज र रेलको सपनामा जनतालाई भुलाएर विकास होइन भ्रष्टाचार गर्न तल्लीन रहेको लेखकको भनाइ छ। सरकारका गतिविधिले राष्ट्रिय रुपमा नैराश्यता आएकाले नागरिकलाई निराश हुन नदिन काँग्रेसले भूमिका खेल्ने उनले जनाए।
ओखलढुंगा महोत्सवमा सहभागी हुन आएका नेता लेखकले काँग्रेसले चुनावमा हार व्यहोरेको समीक्षासमेत कार्यकर्तालाई सुनाएका छन्। उनले, टिकट वितरण, उम्मेद्वार छनौट, दुई पार्टीको एकता लगायतका कारणले पार्टीले हारेको निष्कर्ष सुनाए।
कार्यकर्ताहरुलाई उनले प्राविधक कारणले पार्टी हारेकाले निराश नभइ काम गर्न आग्रह गरे। आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने उनको दावी छ। कांग्रेसले हार्दा राष्ट्रिय एजेण्डा हारेकाले काँग्रेसको जीतको विकल्प नभएको उनको ठहर छ।