उपाधिका लागि दार्जिलिङ र मोरङ भिड्ने
फिदिम : पाँचथर सदरमुकाम फिदिममा जारी तेस्रो पाँचथर गोल्डकपको उपाधिका लागि पाहुना टोली दार्जिलिङ युनाईटेड भारत र डीएफसी मोरङबीच भिडन्त हुने भएको छ ।
सदरमुकामस्थित फिदिम माविको मैदानमा शनिबारको सेमिफाइनलको अन्तिम खेलमा हिमालयन शेर्पा काठमाडौंलाई ६–५ गोलले पराजित गर्दै दार्जिलिङ उपाधि कब्जाको दावेदार बनेको हो । शुक्रबार भएको सेमिफाइनलको खेलमा विजय युथ क्लब हेटौँडालाई ४–३ गोलले पछि पार्दै मोरङ फाइनलमा पुगेको छ ।
शनिबार भएको सेमिफाइनलको अन्तिम खेलको निर्धारित समयमा दुबै टिम बराबरीमा रोकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । खेल सुरु भएको १९ औँ मिनेटमा दार्जिलिङका करन राईले पेनान्टी सुटबाट सुरुवाती गोल गरे ।
हिमालयन शेर्पाका विजय श्रेष्ठले करनलाई डी बक्सभित्र लडाएपछि दार्जिलिङले पेनान्टी सुटका लागि मौका पाएको थियो । ५४ औँ मिनेटमा हिमालयन शेर्पाका डेडी वाम्बाले गोल गरेर खेललाई बराबरीमा पु¥याएका थिए ।
ट्राईबेकरमा डेडीले गोल गर्न नसक्दा हिमालयन शेर्पा प्रतियोगिताबाट बाहिरिएको हो । शनिबारको खेलमा दार्जिलिङका वाङदेल तामाङ म्यान अफ दी म्याच भए । उनले पाँच हजार नगद प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले उपाधिसहित चार लाख र उपविजेता टिमले दुई लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । मोरङ र दार्जिलिङबीच सोमबार फिदिम माविको मैदानमा उपाधि भिडन्त हुनेछ । प्रतियोगितामा जम्मा १० टिमले सहभागिता जनाएका थिए ।