जनअदालतमा मोदी परीक्षा

जनअदालतमा मोदी परीक्षा

संसारकै ठूलो लोकतन्त्रको बहस एक व्यक्तिलाई जिताउने कि हराउनेमा केन्द्रित भएको छ, जुन स्वस्थकर हुँदैन।


कुल गार्हस्थ उत्पादनमा संसारको छैटौं ठूलो र संसारकै सबैभन्दा ठूलो लोकतन्त्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको परीक्षा जनअदालतमा छ। आगामी दशकमा विश्व पुँजीको प्रमुख हिस्सा चीन र भारतले ओगट्नेमा अर्थशास्त्रीहरूमा मतान्तर छैन। लोकतान्त्रिक उदीयमान अर्थतन्त्र भएकाले भारतको निर्वाचनको चासो विश्वमै भइरहेको छ तर भारतीय निर्वाचनमा वंशवाद, जातीयता, धार्मिकता र क्षेत्रीयता प्राथमिक मुद्दाका रूपमा रहेका छन्।

यसको कारण एउटा सामान्य गणितमा लुकेको छ। भारतमा कुल गार्हस्थ उत्पादन र जनसंख्याको अनुपात सानो छ र अर्थात् प्रतिव्यक्ति आय भारतमा सानो छ। यो अनुपात अर्थात् आर्थिक कारणले नै भारतको बृहत् राजनीतिक बहस र निर्वाचन प्रभावित हुने गरेको छ। संसारकै ठूलो लोकतन्त्रको बहस एक व्यक्तिलाई जिताउने कि हराउनेमा केन्द्रित भएको छ, जुन स्वस्थकर हुँदैन ।

धर्मनिरपेक्ष भारतमा मोदीको दल भारतीय जनता पार्टी (भाजपा) एक हिन्दु परम्परावादी दल भएकाले मोदीलाई धार्मिक र जातीय असहिष्णु भएको आरोपमा उनलाई घृणा गर्ने भारतमा प्रशस्तै छन्। सन् २०१४ मा अनेक आकर्षक नारा दिएर राष्ट्रिय राजनीतिमा उदाएका मोदीका नाराहरू अहिले मोदीका लागि समस्या बनेका छन्। बिदेसिएको कालो धन फिर्ता र रोजगार सृजनमा मोदीसँग जनतालाई देखाउने तथ्य छैनन्। नोटबन्दीको औचित्य उनले प्रमाणित गर्न सकेनन्। कश्मीर समस्यामा मोदी असफल भए। २०१४ मा प्राप्त सत्ताविरोधी मनोभावको लाभ अहिले उनलाई छैन। मोदीको चमत्कारिक नेतृत्व केवल भाषणमा मात्र सीमित देखियो। छिमेकीले भारतलाई हेर्ने दृष्टिकोणमा मोदीले सुधार ल्याउन सकेनन् ।

विशाल भौगोलिक, जातीय र धार्मिक विविधता भएको भारतको केन्द्रीय राजनीतिमा क्षेत्रीय दलहरूको भूमिका विशेष हुन्छ। सबभन्दा ठूलो भारतीय राज्य उत्तरप्रदेशमा समाजवादी र बहुजन समाज पार्टीको गठबन्धनले भाजपालाई दरिलो चुनौती दिएको छ तर तिनको प्रभाव उत्तरप्रदेशमा सीमित छ। भाजपाका कट्टर विरोधी कम्युनिस्ट दलहरूको प्रभाव एकदुई राज्यहरूमा मात्र छ। तृणमूल कांग्रेस केवल पश्चिम बंगालमा लोकप्रिय छ। आरजेडी बिहारमा, आम आदमी पार्टी पन्जाब र दिल्लीमा, डीएमके तामिलनाडुमा र नेसनल कन्फ्रेस केवल कश्मीरमा सीमित छन्। मोदी हटाओको नारा सिवाय कुनै सर्वसम्मत कार्यक्रम र नेता नभएका यिनीहरूको मोदीलाई चुनौती दिन सक्ने राष्ट्रिय जनाधार छैन। पुरानो र धर्मनिरपेक्ष दल भारतीय कांग्रेस विस्तारित दल भएकाले मोदीका प्रतिस्पर्धी कांग्रेसका अध्यक्ष राहुल गान्धी हुन् ।

विकासशील लोकतन्त्रमा सस्ता र हचुवा नारा बेच्ने इन्धन गरिबी हो। नेपाललाई चौकीदारको देश भन्ने अनपढ र दरिद्र नेताहरूको देश भारतमा नेपालको जनसंख्याको दोब्बरभन्दा बढी करिब सात करोड जनता अत्यन्त गरिबीको रेखामुनि अर्थात् ‘कंगाल’ छन्। सर्प नचाएर गुजारा गर्ने मात्र भारतमा करिब आठ लाख छन्। विश्व बैंकको मापदण्डअनुरूपको भारतको गरिबी अहिले करिब २५ करोड छ। मोदीलाई रोक्न सक्ने नारा, कार्यक्रम र नेतृत्व क्षमता अभावमा राहुलले गरिब कार्ड खेलेका छन्। उनले गरिबीको रेखामुनि रहेका २५ करोड जनताको बैंक खातामा वार्षिक रु. ७२,००० सरकारले नगद जम्मा गरेर गरिबी निवारण गर्ने घोषणा गरेका छन्। यस्तो हचुवा नीति भारतको आर्थिक वृद्धिमा एक घातक कदम हुनेछ। यसले मुद्रास्फीति बढ्नेछ र नागरिकलाई गरिबीको रेखामुनि बस्न प्रोत्साहित गर्नेछ। गरिबलाई सशक्त नबनाई उसको गरिबी निवारण गर्नै सकिँदैन। हजुरआमाले दिएको ‘गरिबी हटाओ’ नाराको ५० वर्षमा राहुलले पुनः पुरानै हचुवा नारा दिएर आफ्नो बौेद्धिक कदको परिचय दिएका छन् ।

सन् १९९१ मा एक आर्थिक संकटमा परेको बेलामा तत्कालीन अर्थमन्त्री मनमोहन सिंहले चालेको आर्थिक उदारीकरणको कदमले आर्थिक वृद्धिमा प्रगति गरेसँगै भारतको गरिबी घट्दो छ। सरकारीकरणबाट निजीकरणमा गएसँगै भारतको त्यसबेलाको गरिबीमा ६० प्रतिशत कमी आएको विश्व बैंकको तथ्यांक छ। त्यो निजीकरणको आर्थिक कदम कम्युनिस्ट सिद्धान्तको विरुद्ध थियो। यसमा कम्युनिस्ट दलहरूको विमती थियो। त्यो कदमको नेतृत्व एक सामथ्र्यवान् नेता पूर्वप्रधानमन्त्री पीभी नरसिंह रावले गरेका थिए। उनी र मनमोहन सिंह दुवै गान्धी परिवारका होइनन्। अहिलेकै आर्थिक वृद्धि कायम रहेमा भारतको गरिबी सन् २०२२ सम्ममा ३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ। त्यसैले खुला बजारको निरन्तरता अहिलेको भारतीय आवश्यकता हो। कम्युनिस्टसँगको सहकार्य राहुलका लागि यसमा बाधक हुनेछ। यस्तो असहयोगको व्यवस्थापन गर्न सक्ने उनको हैसियत र अनुभव छैन ।

आमा सोनिया गान्धीले कांग्रेसको अध्यक्ष पद त्याग गरेपछि राहुल कांग्रेसका अध्यक्ष बनेका हुन्। उनले राजनीतिमा नरहेकी आफ्नी बहिनी प्रियंका गान्धीलाई कांग्रेसको महासचिवमा नियुक्त गरेर मोदीलहर रोक्ने प्रयास गरेका छन्। भावनात्मक सम्बन्धमा विश्वास गर्ने भारतीय मतदातासामु राहुलले आफ्नी हजुरआमा पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीको प्रभावको लाभ लिने हेतुले प्रियंकालाई निर्वाचनमा उतारेका हुन्। इन्दिराजस्ती देखिने प्रियंकाले जनताको भीड आकर्षित गरेको पनि स्पष्ट देखिन्छ। तर भीडको अर्थ भोट नहुन पनि सक्छ ।

कांग्रेसको वंशवादको राजनीतिमा कठोर प्रहार गर्ने भाजपालाई प्रियंकाको राजनीतिमा प्रवेशले थप मलजल दिएको छ। मत सर्वेक्षण र विगतमा विधानसभाको मतपरिणाम हेर्दा कांग्रेसको सरकार बनाउन सक्ने हैसियत देखिँदैन। उनलाई एक बृहत् गठबन्धनको खाँचो परेको छ। परिवारसिवाय अर्को परिचय नभएका राहुललाई आफ्नो क्षमताले राजनीतिमा स्थापित भएका ममता बेनर्जी, मायावती, अखिलेश यादव, सीताराम यचुरी र अरविन्द केजरीवालजस्ता नेता नपत्याएका कारण कांग्रेसले कल्पना गरेको महागठबन्धन एक कल्पनामा सीमित भयो ।

त्यसैले मोदीलाई बहुमत ल्याउनबाट रोक्नु मात्रै प्रतिपक्षको उद्देश्य छ। मोदीको विकल्प प्रतिपक्षसँग छैन। आजको मितिसम्म मोदीले सन् २०१४ को जस्तो मोदी लहर देखाउन सकेका छैनन्। कश्मीरमा भएको आतंककारी हमला, पाकिस्तानमाथि गरिएको हवाई आक्रमण र तत्पश्चात् उद्भव भएको राष्ट्रवादको लाभ मोदीलाई छ। राममन्दिर निर्माण नभए पनि यसले यथेष्ट विवाद ल्याएकाले हिन्दुत्वको लाभ मोदीसँगै छ। भ्रष्टाचार निवारण र लगानी आकर्षणमा मोदीले प्रगति गरेका छन्। भारतको आर्थिक वृद्धिदर स्थिर छ। मोदीको सरकारलाई लागेको एउटा राफेल घोटालामा उनलाई अदालतले राहत दिइसकेको छ। मोदी एक गरिब परिवारबाट संघर्ष गरेर आएका नेता हुन्। सन् २०१४ मा आफ्नै दलका वरिष्ठ नेताहरू र अन्य सहकर्मी दलहरूको व्यापक विरोध हुँदाहुँदै पनि मोदी आफ्नो व्यक्तित्व क्षमताले राष्ट्रिय राजनीतिमा उदाएका हुन्। राज्यसभाको सदस्यको कार्यकाल झन्डै चार वर्ष बाँकी रहेका भाजपा अध्यक्ष अमित शाहलाई मोदीले भाजपा पूर्वअध्यक्षको एक सुरक्षित निर्वाचन क्षेत्रबाट निर्वाचनमा उतारेर आफ्ना अध्यक्षप्रति आदर र विश्वास देखाएर भाजपामा आफू निर्विकल्प नेताका रूपमा रहेको सन्देश दिएका छन्। यो मोदीको कुशल नेतृत्वको संकेत हो ।

मोदीविरुद्ध बनेका अनेक अस्वाभाविक गठबन्धनले मोदी एक बलवान् नेता भएको संकेत दिन्छ। मोदीको भयले परम्परागत कट्टर प्रतिद्वन्द्वी अखिलेश र मायावती एक ठाउँमा उभिएका छन्। अरविन्द केजरीवालले राहुलको शरण माग्नुपर्‍यो। राहुल र प्रियंकाले मन्दिर–मन्दिर धाएर आफूलाई धार्मिक देखाउनुपरेको छ। मोदी भाजपा कमजोर रहेको राज्य तमिलनाडुमा र एक महत्त्वपूर्ण राज्य बिहारका लोकप्रिय मुख्यमन्त्री नीतिशकुमारसँग गठबन्धन गर्न सफल भएका छन्। आफ्नो सहकर्मी दल शिव सेनासँग तोडिएको सम्बन्ध जोडेका छन्। तर हालै भाजपाको जनमत बलियो भएका राज्य राजस्थान, मध्यप्रदेश र छत्तीसगढको निर्वाचनमा भाजपाले बेहोरेको क्षतिले मोदी सशंकित छन्। त्यसैले भाजपाले पूर्वोत्तर राज्यहरूमा निर्वाचन केन्द्रित गर्नुले निर्वाचनप्रतिको बीजेपीको संशय स्पष्ट देखिन्छ। औसतमा हेर्दा भाजपाले स्पष्ट बहुमत पाउनेमा शंका गर्नुपर्ने आँकडा देखिएका छन् तर मिलिजुली सरकार बन्ने परिस्थिति पनि मोदीको पक्षमा हुनेछ ।

राजनीतिमा निरपेक्ष मूल्यांकन गर्नु अर्थपूर्ण हुँदैन। त्यसैले प्रश्न भारतको नेतृत्वका लागि मोदी योग्य छन् वा छैनन् भन्ने नभएर राहुल योग्य कि मोदी भन्ने हो। परिवारमा आतंकवादीको भय भएकाले राहुलले विद्यालयमा समेत स्वतन्त्र रूपले अध्ययन गर्न पाएनन्। देश र जनताका समस्यासँग जानकार हुने युवा अवस्थाको प्रमुख समय उनले विदेशमा बिताए। सुरक्षाको कारणले विदेशमा उनी छद्मनामले लुकेर बसेका थिए। भारत फर्केपछि कांग्रेसको महासचिव हुन उनले संघर्ष गर्नुपरेन। भारतीय गरिब जनतासँग, गरिबले पढ्ने विद्यालयसँग, गरिबले बस्ने झोपडीसँग र गरिबले प्रयोग गर्ने बस, ट्रक, साइकल र रिक्सासँग राहुलको साक्षात्कार भएकै छैन। मोदीले गरिबको धुलो माटोसँग परिचय गरिरहनु पर्दैन। राहुलको आयस्रोतमा शंका गरिएको छ, मोदीकोमा छैन। तर मोदी दक्षिणपन्थी विचारधाराका र अल्पसंख्यकले नरुचाएका नेता हुन् ।

माओले लथालिंग परेको अर्थतन्त्र सुधार गर्ने सन्दर्भमा चीनका नेता देङ स्याओ पिङले सन् १९७९ मा भनेका थिए, ‘बिरालो कालो भए पनि हुन्छ, सेतो भए पनि हुन्छ तर मुसा मार्न सक्नुपर्छ ।’ पुँजी वितरण र श्रम व्यवस्थापन पुराना नारा हुन्। ऋण माफ गर्ने र नगद बाँड्ने राहुलको सानो र सस्तो सोच हो। मोदीसँग नवीनतम् विचारमार्फत जनतालाई ऊर्जावान् बनाउन सक्ने सम्प्रेक्षणीय क्षमता छ। भाजपा पराजित भएमा भारतमा कुनै मुद्दामा एकरूपता नभएका दलहरूको एक उद्देश्यहीन सरकार बन्नेछ। कम्युनिस्ट र तृणमूलजस्ता परस्पर विरोधीहरूको साथ राहुललाई चाहिनेछ। उत्तरप्रदेशमा मायावती र अखिलेशसँग र अन्यत्र कम्युनिस्टहरूसँग प्रतिस्पर्धा गरिरहेको कांग्रेसले तिनै दलसँग सहकार्य गर्नुपर्नेछ। लगानीकर्तालाई आकर्षित गर्ने स्थिरता भारतले गुमाउनेछ ।

भारतको यो निर्वाचन मोदीलाई रोज्ने कि रोक्ने भन्ने प्रश्नमा केन्द्रित भएको देखिएको छ। सन् २०१४ को तुलनामा अहिले भारतमा करिब १० करोड मतदाता थापिएका छन्। मोदीको शासनमा वयस्क भएका यी मतदाताको मत मोदीका लागि निर्णायक हुने हालै भएका विधानसभाको निर्वाचन र अनेक जनमत सर्वेक्षणको रुझानले देखाएको छ। त्यसैले मोदी यिनै नयाँ पुस्ताका युवाहरूको इजलासमा छन्। मोदीको विजयले भारतमा वंशवादमा भने एक धक्का लाग्नेछ। प्रकारान्तरले त्यो लोकतन्त्रको पनि विजय हुनेछ ।हाइलाइट

मोदीले गरिबको धुलो माटोसँग परिचय गरिरहनु पर्दैन। राहुलको आयस्रोतमा शंका गरिएको छ, मोदीकोमा छैन। तर मोदी दक्षिणपन्थी विचारधाराका र अल्पसंख्यकले नरुचाएका नेता हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.