सुदिनको संकल्प

सुदिनको संकल्प

नयाँ वर्ष आयो। बाबाले सुदिनका लागि नयाँ लुगा किनिदिनुभयो। नयाँ लुगा लगाएर सुदिन मामाघर गयो। सुदिनको मामाघर भक्तपुरमा छ। सुदिनलाई मामाले बिस्केटजात्रा देखाउन लग्नुभयो। बिस्केटजात्रामा पाँचतले मन्दिरअगाडि टौमढीमा भैरवको रथयात्रा हुन्छ। यसैगरी भेलुखेलमा लिंगो पनि उभ्याइन्छ। सुदिनले मामासँगै भैरवको रथ तानेको हेर्‍यो। धेरै मानिस मिलेर भैरवको रथ तानेको देखेर सुदिन निकै रमायो। मानिस ठूल्ठूलो स्वरमा कराएको सुनेर सुदिनलाई डर पनि लाग्यो।

रथयात्रामा कहिलेकाहीँ झगडा पनि हुन्छ रे। थःने (माथिल्लो टोल) र क्वःने (तल्लो टोल) का मानिसले रथ आफूतिर तान्ने बल गर्छन्। यसरी भैरवको रथ आफ्नो टोलतिर तान्ने घम्साघम्सीमा कहिलेकाहीँ झगडा पनि हुन्छ।

रथयात्रामा झगडा पनि हुन्छ भन्ने सुनेर सुदिनलाई डर लाग्यो। रात पनि परिसकेको हुँदा सुदिनलाई घर जान मन लाग्यो। उसले भन्यो, ‘मामा रथयात्रा हेर्न पुग्यो। अब घर जाऔं।’ त्यसपछि मामाले सुदिनलाई घरमा लिएर जानुभयो।

मामाले सुदिनलाई लिंगो उभ्याएको पनि देखाउन लानुभयो। उनीहरूसँगै माइजू पनि जानुभयो। सुदिन मामाको हात समातेर हिँड्यो। भीडभाड भएकोले भीडमा हराउँछु भन्ने डर लाग्यो उसलाई। लिंगो उभ्याउन धेरै मानिस जुटे। धेरै मानिसले मद्दत गरे। अलिअलि गर्दै लिंगो पूरै उभ्याए। लिंगो उभ्याएपछि मानिस खुसीले कराए। कसैकसैले ताली पनि बजाए। सुदिनले पनि ताली बजायो।

लिंगो उभ्याइसकेपछि मानिस बिस्तारै आआफ्नो घर जान थाले। मामामाइजू र सुदिन पनि घर फर्के। किन लिंगो उभ्याउनु परेको होला ? बाटोमा हिँड्दाहिँड्दै सुदिनको मनमा यस्तो प्रश्न उठ्यो। अनि उसले हिँड्दाहिँड्दै मामालाई सोध्यो, ‘मामा, लिंगो किन उभ्याएको ? ’

सुदिनको प्रश्न सुनेर मामा मुसुक्क हाँस्नुभयो। सुदिनको जिज्ञासा मामालाई मन पर्‍यो। आफ्नो संस्कृतिको ज्ञान सबैलाई हुनुपर्छ भन्ने लाग्यो उहाँलाई। अनि उहाँले सुदिनलाई हात समातेर डोर्‍याउँदै भन्नुभयो, ‘भैरवको रथायात्रा गरेर र लिंगो उभ्याएर बिस्केटजात्रा मनाइन्छ। यो लिंगो किन उभ्याउन थालियो र बिस्केटजात्रा किन मनाउन थालियो भन्ने सन्दर्भमा रोचक पौराणिक कथा छ।’

‘कस्तो कथा ? कथा सुनाउनुस् न मामा ’ सुदिनले निकै उत्सुक भएर भन्यो। अनि मामाले कथा सुनाउनु भयो। परापूर्वकालमा यहाँ एक प्रतापी राजा थिए। ती राजाकी एक अत्यन्त सुन्दरी कन्या थिइन्। राजाले ती राजकन्यालाई विवाह गरिदिन धेरै कोसिस गरे। तर सफल हुन सकेनन्। विवाह गरी राजकन्या आफ्ना दुलहासँग सुतेपछि भोलिपल्ट बिहान ती दुलाहा मरिसकेका हुन्थे। दुलहादुलही सुतिसकेपछि राति राजकन्या दुलहीको नाकको प्वालबाट दुइटा ससाना सर्पहरू निस्केर अजिंगर–अजिंगरनीको रूप लिई दुलहालाई डसेर मार्थे र फेरि सानो सर्प भई राजकन्याको नाकको प्वालबाट भित्र पसी अदृश्य हुन्थे। यसरी धेरै राजकुमारहरूको ज्यान गइसकेको थियो। उता राजा पनि आफ्नी छोरीको विवाह हुन नसकेकोमा निकै चिन्तित थिए।

यस्तैमा एकदिन एक प्रतापी र बलवान् राजकुमार घुम्दैघुम्दै यहाँ आए। राजाको दरबारमा गएर राजासामु राजकन्यासित विवाह गर्ने इच्छा प्रकट गरे। राजाले पनि खुसीसाथ ती दुईको विवाह गरिदिए। दुलहादुलही कोठामा सुत्न गए। राति राजकन्या निदाइसकेपछि उनको नाकको प्वालबाट दुइटा ससाना सर्प निस्के। ती सर्पले अजिंगर–अजिंगरनी रूपधारण गरी राजकुमारलाई डस्न खोजे। ननिदाइ बसेका राजकुमारले निडरतापूर्वक खड्गले काटेर अजिंगर–अजिंगरनीलाई टुक्रा पारिदिए।

ती अजिंगर र अजिंगरनीले प्राणत्याग गर्ने बेलामा ‘अब हामी दुवै एक ठाउँमा मर्न लाग्यौं। हामी प्राण त्यागेर गएपछि हाम्रो पुरुषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू’ भनी प्राण त्यागे। भोलिपल्ट बिहान सबैले दुलहादुलही दुवै जीवित रहेको देखे। दुइटा अजिंगरमात्र मरिरहेको देखेर सबैजना खुसी भएर दरबारमा उत्सव मनाए। अनि राजाले पनि छोरीलाई थुप्रै धन दाइजो दिएर राजकुमारलाई राजतिलक दिए।

अजिंगर–अजिंगरनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो काठको लिंगो उभ्याई त्यसमा अजिंगर–अजिंगरनीको प्रतीकस्वरूप दुइटा पताका पनि फहराई हरेक वर्ष जात्रा मनाउन थाले।

नेवारी भाषामा ‘बि’ भनेको सर्प र ‘स्यात’ भनेको मारियो हुन्छ। ‘बि’ र ‘स्यात’ मिलेर बिस्यात बनेको हो। यही बिस्यात भन्ने शब्द अपभ्रंश भई बिस्केट हुन गएको किंवदन्ती छ। आजभोलि यसलाई बिस्केट जात्रा भन्ने गरिन्छ। नेवारहरूले यसलाई बिस्काः जात्रा भन्ने गर्छन्।

मामाले कथा टुंग्याउनुभयो। सुदिनलाई कथामा निकै चाख लाग्यो। उसले निकै ध्यानपूर्वक कथा सुन्यो। मामाले कथा टुंग्याउनासाथ उसले भन्यो, ‘राजकुमार त कस्तो निडर हगि मामा ? ’ ‘हो नि, तिमी पनि निडर र बहादुर हुनुपर्छ है भाञ्जाबाबु !’ मामाले सुदिनलाई डोर्‍याउँदै भन्नुभयो।

सुदिनले खुसी भएर भन्यो, ‘हस्।’ मामाभाञ्जाको कुरा सुनेर माइजू मुसुमुसु हाँस्नुभयोे। मामा, माइजू र सुदिन घर पुगे। घरमा सुदिनको बाबा र आमा पनि आउनुभएको रहेछ। बाबा र आमालाई देखेर सुदिन झन् खुसी भयो। ऊ दौडेर बाबाकहाँ गयो। आफूले बिस्केट जात्रा हेरेको बेलिविस्तार लाउन थाल्यो। मामाले अजिंगर र अजिंगरनीलाई काट्ने राजकुमारको कथा सुनाएको कुरा पनि भन्यो।

सुदिनको कुरा सुनिसेकपछि बाबाले भन्नुभयो, ‘हाम्रो छोरा पनि त्यो राजकुमारजस्तै निडर र बहादुर हुनुपर्छ।’ सुदिन बाबाको मुख हेरेर मुसुमुसु हाँसिरह्यो।

आज वैशाख १ गते। आजदेखि नयाँ वर्ष लाग्यो। बाबाले सुदिनलाई काखमा राखेर भन्नुभयो, ‘नयाँ वर्षमा नयाँ लुगा लाउने र बिस्केटजात्रा हेरेर रमाउनेमात्रै होइन। नयाँ वर्षको दिनमा नयाँ संकल्प पनि गर्नुपर्छ।’ सुदिनले संकल्प भनेको बुझेन। अनि उसले बाबासँग सोध्यो, ‘बाबा, संकल्प भनेको के हो ? ’

बाबाले सुदिनको गाला मुसार्दै भन्नुभयो, ‘मेरो प्यारो छोरालाई संकल्प भनेको थाहा छैन है। लौ सुन, संकल्प भनेको कुनै काम गर्ने दृढ निश्चय गर्नु हो। नयाँ वर्षको दिनमा राम्रो काम सुरु गर्ने र नराम्रो काम छोड्ने संकल्प गर्नुपर्छ। तिमीले पनि आज एउटा संकल्प गर्नुपर्छ।’

सुदिन एक छिन घोरियो र भन्यो, ‘म के संकल्प गरुँ बाबा ? ’ ‘पब्जी नखेल्ने संकल्प ? ’ बाबाले फ्याट्टै भन्नुभयो। ‘किन बाबा ? पब्जी खेल्नु नराम्रो हो र ? ’ सुदिनले अलि अनौठो मानेर सोध्यो।

‘हो नि। पुस्तक पढ्नु पो राम्रो। पब्जी खेल्नु त नराम्रो हो।’ बाबाले सुदिनको मुख हेर्दै भन्नुभयो। सुदिनले फेरि एक छिन् घोरिएर भन्यो, ‘त्यसो भए म अबदेखि पुस्तक पढ्छु। पब्जी कहिल्यै खेल्दिनँ।’ सुदिनको संकल्प सुनेर बाबा, आमा, मामा र माइजू पनि खुसी हुनुभयो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.