मेलिसाको ह्याट्रिक
मेलिसा खड्गी उमेरले भर्खर १४ वर्षकी भइन्। उमेरले सानो भए पनि उनले खेलकुदमा हासिल गरेको उपलब्धि निकै ठूलो छ। काठमाडौं भोटेबहालकी मेलिसाले हङकङमा हरेक वर्ष आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा लगातार स्वर्ण जित्दै आएकी छन्। उनले गत फागुन १९ मा हङकङमा आयोजना भएको टप माउन्टेन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा पहिलो स्थान हासिल गर्दै स्वर्णमा ह्याट्रिक गरिन्।
वि.सं. २०७३ सालदेखि हङकङमा प्रतिस्पर्धा गर्दै आएकी मेलिसाले यस पटक भने फरक विधा पुम्सेबाट राष्ट्रलाई स्वर्ण दिलाइन्। मेलिसाले क्वार्टरफाइनलमा आयोजक हङकङ, सेमिफाइनलमा इन्डोनेसिया र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी थिइन्। यसअघि दुई स्वर्ण उनले क्योरोगीबाट जितेकी थिइन्।
अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र होइन, मेलिसाले घरेलु प्रतियोगितामा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन्। मेलिसाले प्रथम काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, मनमैजु तेक्वान्दो च्याम्पियनसिप र भक्तपुरमा आयोजना भएका प्रतियोगितामा पनि स्वर्ण जितिसकेकी छन्। मेलिसाले घरेलु प्रतियोगितामा स्वर्ण मात्र जित्ने होइन, प्रतियोगिताकै उत्कृष्ट खेलाडीको पुरस्कार पनि जित्दै आइरहेकी छन्।
काठमाडौं भोटेबहालको मर्निङ ग्लोरी स्कुलमा कक्षा ९ मा पढ्ने मेलिसाले तेक्वान्दो सिकेको करिब सात वर्ष भयो। उनले आफ्नै बुवा मनोज खड्गीबाट तेक्वान्दोको प्रारम्भिक शिक्षा लिएकी हुन्। उनी अध्ययनरत विद्यालयमा मनोजले हरेक दिन एक घण्टा तेक्वान्दो सिकाउने गर्छन्। मेलिसाले पनि त्यहीँ आफूलाई अब्बल खेलाडीका रूपमा निखार्दै आएकी छन्। मेलिसा आफूले सुरुमा सेल्फ डिफेन्सका लागि तेक्वान्दो सिके पनि अब भने खेलाडी बन्नकै लागि नियमित अभ्यास गर्दै आएको बताइन्।
एसएलसीपछि मेडिकल विषय लिएर उच्च शिक्षा पढ्ने लक्ष्य राखेकी मेलिसा पढाइसँगै खेलकुदलाई पनि अगाडि बढाउने योजनामा छिन्। ‘मेडिकल क्षेत्रमा जति धेरै पढ्नु परे पनि म तेक्वान्दोलाई छोड्न सक्तिनँ’ मेलिसा भन्छिन् ‘ तेक्वान्दोबाटै आफूलाई चिनाउन चाहन्छु।’ मेलिसा नेपालकी तेक्वान्दो क्विन संगीना वैद्यलाई आदर्श खेलाडी मान्दछिन्। संगीनाले विश्व एरिनामा हासिल गरेको उपलब्धिलाई उनी पनि दोहोर्याउन चाहिन्छन्। ‘म संगीना गुरुले जस्तै तेक्वान्दोमार्फत नेपालको नाम फैलाउन चाहन्छु’ पहिलो डान मेलिसा भन्छिन्।
उनको यो अभियानमा उनकै बुवा मनोजले लगातार सहयोग गर्दै आएका छन्। उनी मेलिसालाई खेलाडी बनाउनकै लागि सानैदेखि विशेष प्रशिक्षण दिँदै आएको बताउँछन्। ‘विदेशमा राष्ट्रको झन्डा फहराउने भनेकै खेलाडीले हो’ मनोज भन्छन्, ‘आफूले नसकेको काम छोरीबाट पूरा गरिरहेको छ।’ यो लक्ष्यमा छोरी अगाडि बढिसकेकोमा भने मनोज सन्तोष मान्छन्। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा छोरीले लगातार सफलता हासिल गर्दै आएकी छन्। एउटा प्रशिक्षणलाई योभन्दा अरू के चाहियो र ? ’ मनोज प्रश्न गर्छन्।
त्यसैले उनले छोरीका लागि कति समय पढ्ने र कति समय खेल्ने भन्ने तालिका बनाइदिएका छन्। तेक्वान्दोमा ३० वर्ष बिताइसकेका मनोजले छोरीको हरेक पाइलामा साथ दिइरहेका छन्। राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक मनोज एउटा खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण छोरी मेलिसामा रहेको बताउँछन्। ‘एउटा खेलाडीमा हुनुपर्ने सम्पूर्ण गुण मेलिसामा छ। उनी बच्चैदेखि तेक्वान्दोप्रति उत्सुक थिइन्। मैले स्कुलमा अरू विद्यार्थीलाई सिकाएको हेरेर बस्थिन्’ मनोज भन्छन् ‘अझ संगीना वैद्यका खेलहरू हेरेपछि तेक्वान्दोमा लाग्न थप प्रेरित गरेको रहेछ।’
जस्तोसुकै प्रतिद्वन्द्वीका अगाडि पनि नडराई खेल्ने शैलीले मेलिसाले लगातार सफलता पाइरहेको उनी बताउँछन्। उनी छोरीलाई तेक्वान्दोको दुई फरक विधा क्योरोगी र पुम्से दुवैमा खेल्न लगाउने बताउँछन्। क्योरोगी (फाइट) मा राम्रै भए पनि ग्रेडिङका बेला पुम्से आवश्यक पर्ने भएकाले त्यसलाई पनि सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिन्छन्। मेलिसा पनि दुवै विधालाई सँगसँगै अगाडि बढाउने विचारमा छिन्।