नगरकोटको सडक समयमा नबनेपछि स्थानीय आन्दोलित
भक्तपुर : दुई वर्षमा निर्माणकार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडकखण्ड सात वर्ष बित्दा पनि पुरा नभएपछि स्थानीय आन्दोलनमा उत्रने भएका छन्।
नगरकोट खण्डको ४० किलोमिटर सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सनले निर्माण अलपत्र बनाएपछि उनीहरु आन्दोलित बनेका छन्। एक्जिम बैंक भारतको सहयोगमा उक्त सडक निर्माण हुँदैछ।
सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयको भेलाले राजकुमार लामिछानेको संयोजकत्वमा शनिबार उक्त समिति गठन गरेको हो।
लामिछानेका अनुसार, अबको ५ महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिर्टेनिङ वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरीय हुनुपर्ने लगायतका माग राखेर समिति आन्दोलनमा उत्रिएको हो ।
समितिले नगरपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार, संघ तथा प्रदेश सांसद, शैलुङ कन्ष्ट्रक्सनको प्रोपाइटर शारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माणमन्त्री, प्रधानमन्त्री र राष्ट्रपतिलाई समेत ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।
नगरकोट सडकका पीडितले निर्माण व्यवसायीको लापरबाहीका कारण धुलो, धुँवा, हिलो र खाल्डाखुल्टीका कारण जनजिवत प्रभावित बनेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका छन् । व्यवसायीले तत्काल निर्माण कार्य अगाडि नबढाए धर्ना, जुलुस र सडक नाकाबन्दी गर्नेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको संघर्ष समितिका संयोजक लामिछानेले जानकारी दिए।