अपहरणमा परेका ११२ बालिका पाँच वर्षसम्म पनि फर्किएनन्
चिबोक : नाइजेरियाको चिबोकबाट पाँच वर्षअघि अपहरणमा परेका ११२ जना बालिका अझै घर फर्किएका छैनन् ।
उनीहरूलाई नाइजेरियामा सशस्त्र विद्रोह गरिरहेको र त्यस देशद्वारा आतंककारी घोषित बोको हराम समूहले विद्यालयबाटै अपहरण गरेको थियो । उनीहरूका बाबुआमा तथा आफन्तहरू ती बालिका घर फर्किने आशमा अहिले पनि सुरक्षानिकाय र सरकारी अधिकारीहकहाँ धाइरहेका छन् । यद्यपि उनीहरूले घर फर्किने सूचना अहिलेसम्म पनि पाएका छैनन् । उत्तरपूर्वी नाइजेरियामा हिंसात्मक आक्रमण गरिरहेका बोको हराम कार्यकर्ताले सो क्षेत्रबाट विद्यालयका बालबालिकालाई अपहरण गरेर लाने र उनीहरूलाई जबरजस्ती बन्दुक बोकाई हिंसात्मक काममा लगाउने गरेका छन् । चिबोकको बालिकाहरूमात्र पढ्ने विद्यालयबाट सन् २०१४ अप्रिल १४ मा उनीहरूलाई बोको हरामले अपहरण गरेका थिए । अपहरणमा परेका ती बालिकाको अवस्था अझै पनि अज्ञात रहेकाले उनीहरूका परिवारमा निकै तनाव उत्पन्न भएको छ । त्यस दिन सो विद्यालयबाट उनीहरूले २७६ जना बालिकालाई अपहरण गरेका थिए । उनीहरू १२ देखि १७ वर्ष उमेरका थिए ।
ठूलो संख्यामा आएका सशस्त्र आक्रमणकारीहरूले विद्यालयलाई घेरा हाली उनीहरूलाई अपहरण गरी लगेका थिए । त्यस दिन अपहरणमा परेपछि पनि ५७ जना बालिका भने ट्रकबाट हाम फालेर भाग्न सफल भएका थिए । ती बालिकालाई घर फिर्ता गर्ने विषय नाइजेरियाको गत वर्षको आमनिर्वाचनको पनि ठूलो मुद्दा बनेको थियो । नाइजेरियाका वर्तमान राष्ट्रपति मोहम्मद बुहारीले राष्ट्रपतीय निर्वाचनमा यस विषयलाई मुख्य एजेन्डा बनाएका थिए ।
उनले आफूले निर्वाचन जितेमा अपहृत ती बालबालिकालाई अपहरणमुक्त गरी घर फर्काउने वाचा गरेका थिए । तर गतवर्ष बोको हरामहरूसँग भएको वार्ताको क्रममा सरकारले केही बालिका फिर्ता गराएको थियो । ती बालिका पनि बोको हरामका बन्दीहरूसँग बन्दी साटासाटजस्तो गरी अपहरणमुक्त गरिएको थियो ।
यसरी अहिलेसम्म २७६ बालिकामध्ये १०२ जना मात्र मुक्त भएका छन् भने अझै पनि ११२ जना भने बोको हरामकै अपहरणमा रहेका छन् । ती बालिकालाई अपहरणमुक्त गर्न आफूले सक्दो प्रयास गरेको सरकारले जनाएको छ । बालिकाका आफन्तले भने सरकारले चाहेमा उनीहरू मुक्त हुनसक्ने बताउँछन् । आफ्ना छोरीहरू जीवितै छन् कि मारिए भन्ने बारेमा पनि उनीहरूका बुबाआमालाई थाहा छैन । तैपनि आफ्ना सन्तान घर फर्किने आशमा उनीहरू रहेका छन् । यस विषयमा बोको हरामले पनि केही बताएको छैन । सुरक्षानिकायले भने ती बालिकालाई बोको हराम समूहले आफ्नो सैन्य समूहमा लगाएको अनुमान गरेका छन् ।