भेरी-बबई आयोजनाको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’
सुर्खेत : राष्ट्रिय गौरबको भेरी-बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काममा ‘ब्रेक थ्रु’ भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार एक समारोहबीच यो आयोजनाको सुरुङ खन्ने काम सम्पन्न भएको औपचारिक घोषणा गरेका हुन्।
बबई नदीबाट सुरुङ खन्दै अगाडी बढेको प्रविधियुक्त मेशिन प्रधानमन्त्री ओलीले मंगलबार स्वीच दबाएपछि सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा निस्किएको हो।
चुनौतीपूर्ण मानिएको सुरुङ खन्ने काम तोकिएको मितिभन्दा एक वर्ष अगाडि नै सम्पन्न भएको हो। नेपालमै पहिलोपटक विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) मार्फत सुरुङ निर्माण गरिएको हो।
सुरुङ खन्ने काम सकिएसँगै अब भेरी नदीको पानीलाई सुर्खेत र वर्दियाको सीमानामा रहेको बबई नदीमा खसालेर विद्युत उत्पादन र सिँचाइमा प्रयोग गर्नका लागि आवश्यक काम थालिने प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले सुरुङ निर्माणको काम सफल भएसँगै अब विद्युत उत्पादन र सिचाइँको काम पनि तत्कालै सुरु हुने जनाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रेक थ्रु गरेसँगै अब सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेमा बाँध निर्माणको काम अगाडी बढ्नेछ। चुरे क्षेत्रको पहाडमा १२ दशमलव दुई किलोमिटर लामो सुरुङ खनिएको हो।
अघिल्लो वर्ष (२०७४) कार्तिक २० गतेबाट सुरुङ खन्ने काम सुरु गरिएको थियो। एकवर्ष अगाडि नै सुरुङ तयार भएसँगै अब बाँकी कामले पनि गति लिने प्रधानमन्त्री ओलीको भनाइ छ।
‘नेपालमा पहिलो पटक मेशिनबाट सुरुङ निर्माण भएको छ, स्वदेशी लगानीबाटै चुनौतीपूर्ण काम सफल भएको छ’ प्रधानमन्त्री ओलीले भने,‘यो देशकै नमूना आयोजना बनेको छ, अब बाँध निर्माण र विद्युत उत्पादनको प्रक्रिया पनि धमाधम अगाडि बढाउन म विभागीय मन्त्रालयलाई निर्देशन दिन्छु।’ प्रधानमन्त्री ओलीले देशका अन्य आयोजना पनि अब तोकिएकै अवधिमा सम्पन्न गर्न सरकार लागि परेको बताए।
चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रति सेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ। बबईमा खसालिएको पानीबाट ४६ दशमलव आठ मेगावाट विद्युत उत्पादन गरेर राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ। कार्यक्रममा उर्जा तथा सिचाइँ मन्त्री वर्षमान पुनले यो आयोजनाबाट उत्पादन हुने विद्युतमा जनताको पनि शेयर हुने जानकारी दिए।
उनले भने,‘हामीले जनताको जलविद्युत आयोजना कार्यक्रम अगाडि बढाएका छौं, यो आयोजनाबाट उत्पादन हुने विद्युतमा जनताको ४९ प्रतिशत शेयर लगानी हुनेछ।’ यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसमेत आयोजनाले लिएको छ। यसका लागि आउँदो सुख्खा समयमा नै भेरीको पानी बबइमा खसालेर तराइका जिल्लामा सिचाइँ सुविधा उपलब्ध गराउने र बाँकी काम जारी राखिने आयोजनाले जनाएको छ।
सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ गु्रप कम्पनी (कोभेक) बीच सुरुङ निर्माणका लागि २०७१ माघ १५ गते ठेक्का सम्झौता भएको थियो। स्वदेशी लगानीमा नै निर्माण हुन लागेको यो आयोजनाको काम २०७१ बाट सुरु भएको हो। सम्झौता अवधि भन्दा एकवर्ष अगाडि नै सुरुङ निर्माणको काम सम्पन्न भएको हो।
सम्झौताअनुसार आउँदो वर्षको (२०७६) चैत १५ गतेसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो। तर तोकिएको मितिभन्दा एकवर्ष अगाडि नै सुरुङ तयार भएको हो। ब्रेक थु्र कार्यक्रममा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत यो आयोजनाको काम नमूना भएको भन्दै देशका अन्य आयोजनामा पनि मेशिन मार्फत सुरुङ खन्नका लागि हौसला मिलेको बताए।