विद्यालय सुधार्दै स्थानीय सरकार
ताप्लेजुङ : स्थानीय सरकारले सामुदायिक विद्यालय सुधारको प्रयास थालेका छन्। विद्यार्थी संख्या कम भएकालाई गाभिएको छ भने कतै कक्षा घटाइएको छ। स्थानीय सरकार सञ्चालन ऐनले माध्यमिक तहसम्मको शिक्षा हेर्ने जिम्मा स्थानीय तहलाई दिएको छ। सोहीअनुसार शिक्षा ऐन बनाएर विद्यालय सुधारमा लागेको आठराईत्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले बताए। यो गाउँपालिकाले ११ वटामा कक्षा घटाएको छ। फक्ताङलुङले तीनवटालाई मर्ज गरेको छ।
नियमित सञ्चालनमा नरहेका फले र ग्याब्लालाई घुन्सा र याङ्मा प्राविलाई गोला आधारभूतमा मर्ज गरिएको गाउँपालिका प्रवक्ता छेतेन वालुङले बताए। यहाँका विद्यार्थीले हिमाली छात्रावासअन्तर्गत आवासीय सुविधा पाउँछन्।
आठराईत्रिवेणीले वडा नम्बर १ को जनता, २ का पीपलबोटे, भगवती र पञ्चकन्या र ३ हाङपाङको सिंहबाहिनीमा कक्षा ३ सम्म मात्र सञ्चालन गर्ने निर्णय गरेको छ। यी विद्यालयमा कक्षा ४ र ५ कटाइएको छ, जहाँ २८ भन्दा कम विद्यार्थी छन्। वडा नम्बर ३ का बिस्मुरे, किरातेश्वर र ४ चाँगेस्थित पोरक्मीमा कक्षा १ मात्र चलाइने भएको छ।
हाङपाङको गणेश आधारभूतलाई बाल विकास केन्द्रमा सीमित गरिएको छ। चाँगेको जनज्योति बाल विकास केन्द्रलाई शिक्षकसहित पोरक्मीमा गाभिएको छ। कक्षा ८ सम्म सञ्चालनमा रहेको चाँगेकै नेसुमस्थित नेपाल राष्ट्रिय आधारभूतमा ५ सम्म मात्र पढाइ हुने भएको छ। यहाँ दक्ष शिक्षकसमेत अभाव भएकाले घटाइएको गाउँपालिकाले जनाएको छ। कक्षा घटाउँदा बचत भएका नौ शिक्षकलाई विद्यार्थी चाप बढी भएको विद्यालयमा खटाइने प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद न्यौपानेले बताए।
‘नजिकै अर्को विद्यालय भएका र न्यून संख्या भएकाको कक्षा घटाएका छौं’, उनले भने, ‘विद्यार्थीहरू अझै आधा घण्टाभन्दा कम समयमा अर्को विद्यालय पुग्न सक्छन्।’ गाउँपालिका अध्यक्ष सिटौलाका अनुसार जनसंख्या धेरै रहेको समयमा कक्षा थपिएको थियो। जनसंख्या घटेपछि विद्यार्थी कम भएको उनको भनाइ छ।
फक्ताङलुङ गाउँपालिकाले २२ शिक्षकको विद्यालय हेरफेर गरेको छ। जनप्रतिनिधिले विद्यार्थी संख्या यकिन गरी शिक्षकबारे जानकारी लिएका थिए। त्यसकै आधारमा गाउँ कार्यपालिकाले उनीहरूको काज सरुवा गरेको छ। चीन र भारतसँग सीमा जोडिएको यो गाउँपालिकामा पातलो बस्ती र कम जनसंख्या छ। १० विद्यार्थी भएकामा एक शिक्षकको व्यवस्था गर्ने निर्णय यसअघि भएको थियो। मर्जपछि विद्यालय संख्या ४० भएको छ।
शिक्षकलाई हाजिरीमा रोक
इलाम : शिक्षक सेवा आयोगको प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकलाई सूर्योदय नगरपालिकाले हाजिर हुन रोक लगाएको छ। शिक्षा विकास तथा समन्वय इकाइ इलामले समन्वय नगरी पठाएकाले हाजिरीमा रोक लगाइएको नगरपालिकाले जनाएको छ। चैत २९ देखि नयाँ शिक्षक पठाएपछि करारमा नियुक्त शिक्षक विस्थापित भएको मेयर रणबहादुर राईले बताए। यसबाट नगरको अधिकार मिचिएको उनको भनाइ छ।
इकाइ प्रमुख होमनाथ भण्डारीले भने आफ्नो रेकर्डमा रिक्त पद देखिएपछि आयोगको परीक्षा पास गरेका शिक्षक पठाइएको बताए। नगरपालिकाले अनुमतिबिना शिक्षक नियुक्त गरेको उनको भनाइ छ। सूर्योदय–१२ स्थित त्रिभुवन आधारभूत विद्यालयका शिक्षक नवीन पौड्यालले नगरपालिकाको निर्देशनको अर्थ नरहेको बताए। उनले नयाँ नियुक्ति पाएका हुन्। तर, अधिकांश शिक्षकले काम सुरु गरेको उनले बताए।