भारतका मतदाता काँकडभिट्टामा अलपत्र
काँकडभिट्टा : पूर्वी नाका काँकडभिट्टा ४८ घण्टाका लागि सिल गरिएपछि चुनावमा मतदानका लागि जाने भारतीय नागरिक काँकडभिट्टा नाकामै अलपत्र परेका छन्। भारतमा हुने लोकसभाको निर्वाचनलाई मध्यनजर राख्दै मंगलबार साँझबाट ४८ घण्टाका लागि नेपाल–भारत सीमा नाका सिल गरिएको छ। समयमा सूचना र जानकारी नपाएका कारण काँकडभिट्टा नाका हुँदै निर्वाचन क्षेत्र फर्कने भारतीय नागरिक बुधबार नेपालतर्फ नै अलपत्र परेका हुन्।
मजदुरीका लागि नेपाल आएका तथा पूर्वी नेपालमा अस्थायी रूपमा बस्दै आएका ठूलो संख्याका भारतीय नागरिक बुधबार सो नाका हुँदै मतदानका लागि घर फर्कने तयारीमा थिए। एक सयभन्दा बढी भारतीय नागरिक नाकामै थुनिएका छन्।
झापासँग जोडिएको भारतको पश्चिम बंगाल र बिहारको सीमावर्ती जिल्लामा बिहीबार (अप्रिल १८ तारिक) मा हुने लोकसभा निर्वाचनमा मतदान गर्न नेपालमा रहेका भारतीय नागरिक बुधबार मात्र घर फर्किन थालेका थिए। काकँडभिट्टा नाका पश्चिम बंगालसँग जोडिएको छ। झापाकै काँकडभिट्टा नाकाबाट आवतजावतमा रोक लगाए पनि अर्को नाका भद्रपुरबाट भने भारतीय सुरक्षाकर्मीकै सहकार्यमा बुधबार बिहान भारत फर्किने भारतीय नागरिकलाई पेन कार्ड, आधार कार्ड वा मतदाता परिचयपत्रका आधारमा भारत जान दिइएको थियो। काकँडभिट्टा हुँदै भारत प्रस्थान गर्न तीन सयभन्दा बढी भारतीय नागरिक बुधबार नाकामा पुगेका थिए। तीमध्ये लगभग दुई सय जना परिचयपत्र देखाएर भद्रपुर नाका हुँदै भारततर्फ लागे। परिचयपत्र नभएका र भारत गएर पनि मतदानमा सहभागी हुन नसक्ने सयभन्दा बढी काकँडभिट्टामै अलपत्र छन्।
भद्रपुर पश्चिम बंगाल र बिहारसँग जोडिएको नाका हो। काँकडभिट्टामा भेटिएका धेरै मजदुरले साहूले छुट्टी नदिएकाले बुधबार मात्र घर फर्किन लागेको बताए। पश्चिम बंगालका नागरिक साहिद आलमलले छुट्टी नमिलेकाले बुधबार मात्र घर फर्किएको तर काँकडभिट्टाबाट जान नदिँदा अर्को नाका हुँदै फर्कनुपर्दा आर्थिक भार थपिएको गुनासो गरे। भद्रपुर नाका हुँदै गए पनि मतदानमा सहभागी हुन नपाउने भएपछि र आवश्यक कागजात नभएपछि कतिपय काँकडभिट्टामै रोकिएको उनले बताए।
भद्रपुरमा रहेको मेची पुलबाट पनि कुनै पनि सवारीसाधन आवतजावत गर्न दिएको छैन। सबै भारतीय नागरिक यो नाकाबाट पैदल यात्रा गर्दै भारत छिरेका छन्। बुधबार पैदल जान दिए पनि बिहीबार निर्वाचनका दिन आवतजावतमा पूर्ण बन्देज लगाइने नेपाल प्रहरीका इन्सपेक्टर यमकुमार श्रेष्ठले बताए। काँकडभिट्टा नाकामा भने भारतीय नागरिकले परिचयपत्र देखाए पनि प्रवेश गर्न नदिने भारतीय सुरक्षाकर्मीले जानकारी गराएकाले काँकडभिट्टास्थित मेची पुलबाट आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताए।