चाररातेमा चौंरी महोत्सव
फिदिम : वस्तीविहीन क्षेत्र पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा एकदिने चौंरी महोत्सव गरिएको छ।
चारराते सदरमुकाम फिदिमदेखि ७५ किलोमिटरको दूरीमा छ। चौंरी संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले नेपाल–भारत सीमा क्षेत्रमा गाउँपालिकाले नयाँ वर्षको अवसर पारेर महोत्सवको आयोजना गरेको हो।
उच्च पहाडको गहनाको रूपमा लिइने चौंरी पछिल्लो समय घट्ने क्रममा छन्। कुनैबेला चौंरीले भरिभराउ देखिने यहाँका पहाडका टाकुरा अहिले चौंरीविहीन बन्दै छन्। चौंरीसँगै चांैरी संस्कृति पनि लोप हुन लागेपछि त्यसको संरक्षण गर्न स्थानीय सरकारको सक्रियतामा महोत्सव गरिएको हो।
‘हाम्रा लागि चौंरी गहना हो’, फालेलुङ गाउँपालिका अध्यक्ष सञ्चकुमार केरुङले भने ,‘चौँरीबाट किसानले राम्रो आम्दानी त गर्छन् नै। चौंरी देखाएरै पनि राम्रो आम्दानी गर्न सक्छौँ भन्ने हाम्रो लक्ष्य हो।’
महोत्सवमा पाँच सयभन्दा बढी चौंरी भेला गरिएका थियो। चौंरीको दूध, घिउ, छुर्पी, चौंरीको उनबाट बनेका विभिन्न प्रकारका कपडा महोत्सवमा राखिएका थिए। तीन हजार तीन सय ४० मिटरको उचाइमा सम्पन्न महोत्सवमा सहभागीलाई छुर्पीको माला लगाएर सम्मान पनि गरियो।
महोत्सव उद्घाटन गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले चौंरी पहाडका गहना भएकाले यसको संरक्षणका लागि सरकारले चासो दिने बताए। ‘चौंरी पहाडका गहना हुन्’, आङ्बोले भने, ‘यसको संरक्षणका लागि हामी सबैले चासो दिनुपर्छ।’ प्रदेश सरकारले चौंरी गोठलाई व्यवस्थित बनाउन लगानी गर्ने उनको भनाइ छ।
पछिल्लो समय चौंरी घट्दै गएका छन्। गाउँपालिका अध्यक्ष केरुङका अनुसार चरण क्षेत्रको अभावमा चौरी गोठ मासिँदै गएपछि संरक्षण र चौंरी संस्कृतिको विकासका लागि महोत्सव थालिएको हो।
महोत्सवमा नेपाल, भारत, भुटान, चीनलगायतका चौंरी विज्ञको सहभागिता थियो। महोत्सवले चौंरीपालक किसानलाई चौंरी पाल्न र यसको महŒवबारे बुझ्न सहयोग पुगेको चौंरीपालक किसानजंग राईले बताए। ‘हामीलाई चौंरीको बारेमा बुझ्न महोत्सवले ठूलो सहयोग गरेको छ’, राईले भने, ‘अब हामी लोप हुन लागेका चौंरीलाई संरक्षण गर्न लाग्नेछौं।’
लेकाली फाँटमा रमाउने एक प्रकारको घरपालुवा जनावर हो चौंरी। मानिसले चौंरीको दूध, घिउ र छुर्पी बेचेर राम्रो आम्दानी गर्छन्। हिउँमा बाँच्ने र रमाउने चौंरीको आनीबानी हुन्छ। अन्य घरपालुवा जनावरलाई जस्तो थलामा चौंरीलाई घाँस काटेर खुवाउनु पर्दैन। फराकिलो फाँटमा चरेर चौंरीले पेट भर्ने गर्छ। तर, पछिल्लो समय चौंरी गोठ मासिँदै चौँरी संस्कृति लोप हुन लागेपछि यसको संरक्षणका लागि स्थानीय सरकार लागि परेको केरुङले बताए।
भारतको पश्चिम बंगाल राज्यसँग जोडिएको पाँचथरको उच्च पहाडी क्षेत्रमा दर्जनौ चौंरी गोठ छन्। यहाँ दार्जिलिङ घुम्न आउने तेस्रो मुलुकका पर्यटकसमेत चौंरी संस्कृतिबारे बुझ्न आउने गरेका छन्। भारतमा कम मात्रामा पाइने चौंरी नेपालको उच्च पहाडी क्षेत्रमा प्रशस्त पाइने भएकाले यहाँ पर्यटकहरू आउने गरेका हुन्।
पर्यटक तान्न चौंरी महŒवपूर्ण माध्यम बनिरहँदा यो नै लोप हुन लागेपछि संरक्षणका लागि पहल सुरु गरिएको महोत्सव सह–आयोजक संस्था कञ्चनजंघा पर्यटन प्रवद्र्धन संस्थाका सचिव शिल्प राईले बताए।