चायवाला मोदी भर्सेस चौकीदार मोदी

चायवाला मोदी भर्सेस चौकीदार मोदी

विश्व जनसंख्याको १७ प्रतिशत हिस्सा ओगटेको छिमेकी राष्ट्र भारत यतिबेला चुनावमय भएको छ। ११ अप्रिलमा सुुरु भएको सत्रौं लोकसभा निर्वाचन मे १९ मा सकिनेछ। मे २३ मा नतिजा सार्वजनिक गर्ने कार्यक्रम छ। चुनावी मैदानमा रहेका ४५० राजनीतिक दलका आठ हजारभन्दा बढी उम्मेदवारमध्येबाट ५४३ जनालाई जनताले लोकसभामा पठाउने छन्। निर्वाचनमा ९० करोड बालिग मतदाताले मताधिकार प्रयोग गर्नेछन्।

सन् २०१४ को लोकसभा निर्वाचन नजिकिँदै गर्दा दुई कार्यकाल सत्तामा रहेको कांग्रेस आईप्रति जनविश्वास घट्दो थियो। मनमोहन सिंह सरकारको पछिल्लो कार्यकालमा आर्थिक विकासले अपेक्षाकृत गति लिन सकेन। २००९ मा कुल गार्हस्थ उत्पादन ८.५९ प्रतिशत थियो भने २०१३ को अन्त्यतिर ४.४७ प्रतिशतमा झरेको थियो। जनताले विकल्प खोजिरहेको बेला २०१४ को लोकसभा निर्वाचन विपक्षी दल भारतीय जनता पार्टी र उसको गठबन्धनलाई सुनौलो अवसर थियो। विकल्प सीमित थिए।

सन् २०१४ मा भाजपाका लागि पहिलो चुनौती कसको नेतृत्वमा चुनाव लड्ने भन्ने थियो। संस्थापक नेतात्रयमध्येका प्रभावशाली तथा धरोहर नेता अटलविहारी बाजपेयीले अस्वस्थताका कारण सक्रिय राजनीतिबाट सन्न्यास लिइसकेका थिए। पार्टी नेतृत्व सम्हालेका दोस्रो पुस्ताका नेता अन्य दुई नेता लालकृष्ण आडवाणी र मुरली मनोहर जोशीलाई मार्गदर्शक मण्डलमा राखेर सम्मान दिन चाहन्थे। तर, भावी सरकारको नेतृत्वकर्ताका रूपमा प्रस्तुत गरेर जोखिम मोल्न चाहँदैनथे। तत्कालीन पार्टी अध्यक्ष राजनाथ सिंहलगायत अन्य नेताले आफूलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने हिम्मत गरेनन्। कार्यकर्तामा ऊर्जा जगाउने र मतदाता आकर्षित गर्न सक्ने नेता खोजी गरिँदा एक्ला पात्रका रूपमा गुजरात प्रान्तका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी अग्रपंक्तिमा आए।

१२ वर्षसम्म मुख्यमन्त्रीका रूपमा काम गरेको अनुभव, मोदी कार्यकालको गुजराती विकास मोडेल, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को अध्यक्ष मोहन भगतसँगको सम्बन्ध र उनको पारिवारिक पृष्ठभूमिका कारणले मोदीले सन् २०१४ को चुनावी मोर्चा सम्हाल्ने जिम्मा पाए। सन् २००२ को गुजरातमा भएको हिन्दु–मुस्लिमबीचको साम्प्रादयिक दंगामा मोदीको संलग्नता रहेको भन्ने आशंकाले उनको छवि धमिलिएको थियो। जसका कारण अमेरिकाले सन् २००५ मा भिसा दिएको थिएन। तर, सम्बन्धमा गठित विशेष जाँचबुझ समितिले उनलाई सन् २०१२ मा सफाइ दिइसकेको थियो।

बीजेपीले मोदीको रिब्रान्डिङ गरेर भिजिनरी तथा चायवाला नेताका रूपमा मार्केटिङ गर्यो। मोदी भिजनरी नेता हुन्, त्यसैले उनले गुजरातजस्तै देशको कायपलट गर्नेछन्, मोदी चिया बेच्ने गरिब पृष्ठभूमिबाट आएका हुन् र उनले आम नागरिकका भावना बुझेर काम गर्नेछन् भन्ने सन्देश दिन खोजियो। यसैबीच ममता बेनर्जीले कोलकातामा राख्न नदिएको टाटा समूहको न्यानो प्लान्टलाई मोदीले एकै रातमा निर्णय गरेर गुजरातमा स्थापना गर्ने अनुमति दिएकाले कर्पोरेट वर्ग उनीबाट प्रभावित थिए। शिक्षित युवा र कर्पोरेट वर्गबाट मोदीले साथ पाए। कुशल भाषणकला भएका मोदीले देशव्यापी चुनावी र्यालीमा भाग लिए। ‘मे भी चायवाला हुँ’ भन्दै हिँडे सामाजिक सञ्जालमा पनि चायवाला अभियान चलाएर जनताको मन जित्ने प्रयत्न गरे। ‘अच्छे दिन आनेवाला है, अब की बार मोदी सरकार’ भन्ने नाराले सफलता पायो। फलस्वरूप भाजपा नेतृत्वको नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडीए) सन् २०१४ को लोकसभा निर्वाचनमा ३३६ सिट ल्याउन सफल भयो, जसमा भाजपा एक्लैले २८२ सिट ल्याएको थियो।

चायवाला मोदीको विरासतलाई चौकीदार मोदीले कायम राख्न सक्छन् कि सक्दैनन् मे २३ मा सार्वजनिक हुने निर्वाचन परिणामले बताउनेछ।

मोदीको सत्तारोहणसँगै मोडिफाइड अर्थात् परिष्कृत भारतको अपेक्षा गर्न थालियो। ग्रामीण विद्युतीकरण, भौतिक पूर्वाधार निर्माण, स्वच्छ भारत कार्यक्रममार्फत ग्रामीण भागमा शौचालय निर्माण, कार्यक्रम, उज्जला कार्यक्रममार्फत गाउँगाउँमा ग्याँस आपूर्ति, प्रधानमन्त्री जनधन कार्यक्रममार्फत गरिब जनतालाई बैंक खाता खोल्न अभिपे्ररित गरी वित्तीय सेवा पुर्याउने र अमेरिका र रूससँगको सन्तुलित सम्बन्ध स्थापित आदि मोदी सरकारले पाएको आशिंक उपलब्धि मानिन्छ। जाली नोट र कालो धन नियन्त्रणका लागि लागू गरिएको नोटबन्दी कार्यक्रम, युवा रोजगार कार्यक्रम, गरिब किसानको समस्या सम्बोधन, महँगी नियन्त्रण तथा दक्षिण एसियामा चीनको प्रभाव रोक्न नसक्नु मोदी सरकारका असफलता मानिन्छन्।

आरएसएसलाई बीजेपी तथा उसको नेतृत्वको सरकारको रिमोट कन्ट्रोलर मानिन्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ, जापानी प्रधानमन्त्री सिन्जो आबे तथा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनजस्ता बलशाली कार्यकारी प्रमुखहरूको युगको प्रभाव मोदीमा नपर्ने कुरा भएन। उनले सरकार र त्यसमातहतका संयन्त्रलाई मोदीकेन्द्रित बनाउँदै लगे। मोदी र आरएसएसका बीचमा आकर्षण र विकर्षणको सम्बन्ध छ। मोदीका गतिविधिसँग असहमति भए पनि बीजेपी र आरएसएसका कार्यकर्ताले समाजमा वितण्डा मच्चाउने छुट पाए। उनीहरूको कार्यलाई सहमति नजनाए पनि मोदी मौन बसिदिएका छन्। २०१८ को अप्रिलमा कश्मीरको कठुवामा आठ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरियो। घटनाका आरोपी हिन्दु युवक भएकाले धार्मिक प्रतिशोधका आधारमा आरोप लगाइएको भन्दै भाजपाका दुई प्रान्तीय मन्त्रीसहितका बीजेपी कार्यकर्ताले आरोपीका पक्षमा र्याली निकाले। मोदी धेरै बेरसम्म मौन बसे। सन् २०१७ मा उत्तर प्रदेशको उनाउमा भाजपाका विधानसभा सांसद कुलदीप सिंहले १७ वर्षीया युवतीमाथि बलात्कार गरे। पीडित युवतीका पिताले न्याय माग्न जाँदा उल्टो हिरासतमा राखियो र हिरासतमा रहस्यमय ढंगले उनको पनि मृत्यु भयो। उक्त घटनाका सम्बन्धमा मोदीले धेरै समयपछि मुख खोले। पीडितलाई न्याय दिने आश्वासन त दिए तर घटनालाई बलात्कार भनेर किटान गरेनन्।

सन् २०१७ को जुनमा हरियाणा राज्यमा रेलमा यात्रा गरिरहेका सोह्र वर्षीया जुनैद खान नामक मुस्लिम युवालाई गाईको मासु बोकेको आरोपमा भाजपाका गौरक्षक दस्ताले कुटेर हत्या गर्यो। सन् २०१८ को मार्चमा गुजरात प्रान्तका एक दलित युवकले घोडा चढेर हिँडेका देखेपछि कथित उच्च जातीय समुदायले कुटेर हत्या गरे। सन् २०१६ मा हैदराबाद विशवविद्यालयमा पीएचडी गरिरहेका दलित विद्यार्थी रोहिथ बेमुलाले, भाजपाको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्को पक्ष लिएर विश्वविद्यालय प्रशासनले निलम्बन गरेपछि आत्महत्या गरे। उक्त घटनामा केन्द्र सरकारको समेत संलग्नता थियो। बेमुला घटनाको विरोधमा जवाहरलाल नेहरू विश्वविद्यालयमा आन्दोलन भइरहेको थियो। त्यो आन्दोलन दबाउन सन् २००१ मा भारतीय संसद् भवनअगाडि भएको आतंककारी हमलाको आरोपी अफजल गुरुको वार्षिकी कार्यक्रमसँग जोडेर विद्यार्थी नेता कन्हैया कुमारलगायत अन्य तीन विद्यार्थीलाई पक्रेर देशद्रोहको मुद्दा लगाइयो। तिनै कन्हैया कुमार हाल भारतभरि उम्दा युवा नेताका रूपमा चर्चामा छन्।

चायवाला मोदीको पहिलो कार्यकालमा भारतीय समाज सबैभन्दा बढी धु्रवीकृत भयो। मोदी, उनको नेतृत्वको सरकार र भाजपको विरोधी सबैलाई राष्ट्रविरोधी र पाकिस्तानी समर्थकका रूपमा चित्रित गरियो र गरिन्छ। समाजमा बढ्दो ध्रुवीकरण, घृणाको राजनीति र अल्पसंख्यकले भोग्नुपरेको असहिष्णु व्यवहारप्रति प्रतिक्रिया दिँदा बलिउडका नायक अमिर खान, नसुरद्दिन शाह आदिले चर्को आलोचना खेप्नुपर्यो। भाजपाका नेताले उनीहरूलाई पाकिस्तान जानसमेत सल्लाह दिए। मोदी सरकार भाजपाको उग्र दक्षिणपन्थी र भाजपाको चरम दक्षिणपन्थी आइडोलोजीको कट्टर विरोधीका रूपमा चिनिएकी पत्रकार गौरी लंकेशको उनकै आवासमा गोली हानी हत्या गरियो। मोदी सरकारको आलोचना गर्ने पत्रकार र लेखकले बारम्बार धम्की र सास्ती खेप्नुपरेको भारतीय पत्रकार बताउँछन्।

पाँच वर्षको शासनकालको उत्तरार्धतिर आइपुग्दा मोदीमा फासिस्ट शैली हावी भएको विश्लेषक बताउँछन्। मोदीमा आत्मकेन्द्रित र उग्र महत्त्वाकांक्षी भावनाले जरो गाढेको छ। उनी दोस्रो कार्यकालका लागि दोहोरिएर शक्तिशाली, ऐतिहासिक र यादगार प्रधानमन्त्रीको छाप छोड्न चाहन्छन्। तर, गत डिसेम्बरमा सम्पन्न विधानसभा निर्वाचनमा मध्यप्रदेश, राजस्थान, छत्तीसगढ र तेलंगना राज्यमा बीजेपीले नराम्रो हार बेहोरेपछि भने उनी केही झस्किएका थिए। चायवाला मोदीले सन् २०१४ मा जनतासँग धेरै वाचा गरेका थिए तर विगत पाँच वर्षमा ती वाचा पूरा गर्न मोदी असफल भए। सन् २०१९ को निर्वाचन नजिकिँदै गर्दा उनलाई एउटा सशक्त नाराको जरुरत थियो, जसले आफ्ना कमजोरी ढाकेर जनतामा नयाँ तरंग ल्याउन सकोस्। यसैबीच गत फेब्रुअरी १४ मा भारतप्रशासित कश्मीरको पुलवामामा भएको आत्मघाती हमलामा ४० जना भारतीय अर्धसैनिक जवान मारिए। त्यसको जवाफी कारबाहीस्वरूप बालकोटमा भारतीय वायु सेनाले हमला गर्यो। भारतीय विङ कमान्डर अभिनन्दन वर्तमान पाकिस्तानी कब्जामा परे र पाकिस्तानी हिरासतबाट रिहा भए। सेनाको कामलाई राजनीतिक रङ दिएर मोदीले ‘में भी चौकीदार हुँ’ भन्ने चुनावी नारा निकाले।

मार्च १ मा अभिनन्दन वर्तमान पाकिस्तानी हिरासतबाट रिहा हुँदै गर्दा मोदी तामिलनाडुको एक कार्यक्रमलाई सम्बोधन गर्दै थिए। उक्त सम्बोधनमा हर भारतीयले गर्व गर्नलायक विङ कमान्डर अभिनन्दन वर्तमान तामिलनाडुका हुन् र उनी आज रिहा हुुँदै छन् भनेका थिए। हिन्दू राष्ट्रवादको पक्षपाती भाजपाले पुलवामाको आतंककारी हमला र त्यसको जवाफस्वरूप गरिएको बालकोटको हवाई हमलासँग जोडेर राष्ट्रवादको मुद्दालाई उराल्दै ‘मोदी है तो मुम्किन है’ भन्दै मोदीलाई देशको रक्षकका रूपमा रिब्रन्डिङ गर्यो। त्यसै क्रममा मोदीले मार्च १२ मा ट्विटमार्फत देशलाई माया गर्नेहरू सबै भ्रष्टाचार, खराबी र सामाजिक विकृतिविरुद्धमा लड्न हर कोही चौकीदारका रूपमा खडा हुन आह्वान गरे। उनको ट्वीटलाई हजारौंले रिट्वीट गरे। बीजेपीले चुनावी प्रचारका सामग्री, क्याप, टिसर्ट र पर्चामा में भी चौकीदार हुुँ भन्ने नारा लेख्यो। मार्चको तेस्रो हप्तामा मोदीले झन्डै २०लाख चौकीदारलाई टेलिभिजनबाट सम्बोधन गरे भने मार्च २७ मा में भी चौकीदार हुँ भन्ने गीतलाई बीजेपीको चुनावी गीतका रूपमा सार्वजनिक गरियो। मोदी नवमतदातालाई पुलवामा सहिद हुने र बालकोटमा आक्रमण गर्ने वीर जवानप्रति सम्मानस्वरूप भोट दिन आह्वान गरिरहेका छन्।

बालकोट आक्रमणका सम्बन्धमा भाजपाका नेताले साढे दुुई सय आतंककारी मारिएको भनी प्रचार गर्दा त्यसलाई पुष्टि गर्ने तथ्यांक भेटिएनन्। उक्त हवाई आक्रमणमा मानवीय नभई वृक्षको क्षति भएको पाकिस्तानी दाबीलाई खण्डन गर्ने तथ्य भारतले प्रस्तुत गर्न नसक्दा भाजपाको आलोचना बढ्न थालेपछि मोदीले अर्को कदम चाले। मनमोहन सिंह सरकारको कार्यकालमै सक्षम भएको तर परीक्षण नगरिएको अन्तरिक्ष यान खसाल्ने मिसन शक्ति परीक्षण गरेर मोदीले टेलिभिजन सम्बोधनमार्फत जनताको ध्यान मोड्ने काम गरे।

मोदी सफल मार्केटर हुन्। सन् २०१४ चायवाला मोदीले विकासको मन्त्र र गरिबको हमदर्दीलाई मार्केटिङ गरेका थिए र हाल चौकीदार मोदीले राष्ट्रवाद र राष्ट्रिय सुरक्षालाई मार्केटिङ गरेका छन्। बीजेपी नेतृत्वको गठबन्धन नेसनल डेमोक्र्याटिक एलाइन्स (एनडीए) ले देश बचाउनका लागि चौकीदारलाई भोट हाल्न आह्वान गरेको छ भने कांग्रेस नेतृत्वको गठबन्धन युनाइटेड प्रोग्रेसिभ एलाइन्स (यूपीए) चौकीदार चोर हो भन्दै लोकतन्त्र र संविधानको रक्षाका लागि भोट मागिरहेको छ। ब्रिटिस उपनिवेशबाट स्वतन्त्र भएपछिको भारतीय राजनीतिको केन्द्रविन्दुमा प्रायः नेहरू र गान्धी परिवार रहन्थे तर हाल त्यसको स्थान मोदीले लिएका छन्।

हालको निर्वाचन एनडीए भर्सेस यूपीए, मोदी भर्सेस राहुलभन्दा पनि मोदी भर्सेस अन्य सबै भन्न थालिएको छ। निर्वाचनअघिका सर्वेक्षणले एनडीएले स्पष्ट बहुमत ल्याउने संकेत देखाएको छ। राहुल गान्धीभन्दा मोदी बलिया देखिएका छन्। यो निर्वाचनमा मोदीको प्रतिस्पर्धा अरूसँग भन्दा पनि आफैंसँग हो। चायवाला मोदी भर्सेस चौकीदार मोदी। चायवाला मोदीको विरासतलाई चौकीदार मोदीले कायम राख्न सक्छन् कि सक्दैनन् मे २३ मा सार्वजनिक हुने निर्वाचन परिणामले बताउनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.