सशस्त्र प्रहरी बल कोशीद्वारा ७० करोड बढीको अवैध सामान बरामद
विराटनगर : सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीले अवैध सामान बरामद गरेर रेकर्ड कायम गरेको छ। ७० करोड ७ लाख १९ हजार छ सय रूपैयाँ बराबरको चोरी निकासी तथा पैठारीका सामान बरामद गरिएको कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल बताए। उनका अनुसार चालु आर्थिक वर्षको हालसम्म ४७ करोड २४ लाख ७६ हजार ७ सय रूपैयाँ बराबरको तस्करीका सामान बरामद गरिएको छ।
सशस्त्रले आर्थिक वर्ष २०७९/०८० मा ३६ करोड २४ लाख ५६ हजार ९ सय तथा २०७८/०७९ मा १६ करोड १७ लाख ९७ हजार रूपैयाँ बराबरको समान बरामद गरेको थियो। पोखरेलले लत्ताकपडा, जुत्ता-चप्पल, चिनी, किराना सामान, खाद्यान्न, कस्मेटिक, फलफूल, मोटर पार्टस, हार्डवेयरका सामान, सुपारी, सूर्तीजन्य वस्तु, मदिरालगायतका तस्करीको सामान बरामद गरिएको बताए।
उनका अनुसार स्रोत नखुलेको १ करोड ४७ लाख ४० हजार १ सय ४० नेपाली रूपैयाँ र प्रतिबन्धित एवं स्रोत नखुलेको ३७ लाख ४९ हजार १ सय ५२ भारतीय रूपैयाँ बरामद गरिएको छ। लागुऔषधतर्फ गाँजा १ हजार ६ सय ७१ किलो, ब्राउन सुगर (खैरो हेरोइन) ६ सय १६ दशमलव ९२ ग्राम, ट्रमाडोल ४४ हजार ७ सय २२ र स्पास्मिड ४ हजार २ सय १६ ट्याब्लेट बरामद गरिएको जानकारी पोखरेलले दिए। उनका अनुसार लागूऔषध ओसारपसारमा संलग्न १ महिलासहित १ सय १६ जनालाई पक्राउ गरेर कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ।
उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउँदै तस्करी नियन्त्रण गर्न सीमावर्ती वडाका वडाध्यक्षहरूसँग सहकार्य भएको बताए। जनप्रतिनिधिसँगको छलफल एवं अन्तरक्रियाबाट तल्लो तहसम्म पुग्न सकेकाले तस्करी रोक्न सम्भव उनको भनाइ छ। उनका अनुसार सीमा क्षेत्रका बासिन्दालाई अपनत्व महसुश गराउन सशस्त्र प्रहरी सफल भएको छ।
प्रतिक्रिया दिनुहोस !