नमिलेको जोखना

नमिलेको जोखना

काठमाडौं : जोखना हेरेर भविष्यको पूर्वानुमान गर्ने चलन पुरानै हो। गाउँघर तथा सहरबजार सबैतिर केही न केही यसको प्रभाव परिरहेकै छ। धामी, झाँक्री, सेलेमी तथा ज्योतिषले जोखना हेर्ने गर्छन्। जोखना हेरेर भनेको कुरा साँचो हुन्छ भन्ने मान्यता छ हाम्रो समाजमा। तर मण्डला थियटरमा मञ्चन भइरहेको नाटक ‘जोखना’ मा भने सेलेमी बाजेले धनसुवाको मृत्युबारे गरेको आकलन मिलेन।

साकेला नाच्न हिँडेको जसे फर्केर घर आएन। लामो समयसम्म जसे घर आएन र मरे बाँचेको खबर पनि पठाएन। गाउँलेले जसे मरेको अनुमान गरे। गाउँका चर्चित सेलेमीले जसेको जोखना हेरेर ऊ सांसारिक मायामोहबाट पर गइसकेको बताए। गाउँले र परिवार मिलेर उसको किरियाकर्म गरे। धेरै वर्षपछि निकै भयवह र दयनीय स्वरूपमा जसे गाउँमा देखा प¥यो।

कथाकार वियस राईको कथासंग्रह ‘हिउँमाझी’ मा समावेश जोखना कथालाई नाट्य रूपान्तरण गरिएको हो। राजन मुकारुङले यो जोखिम मोलेका हुन्। ‘ मुन्दुुमी संस्कृतिका लय, बिम्ब र जीवन दर्शनलाई नाटकका माध्यमबाट देखाउने प्रयासस्वरूप जोखना कथालाई नाट्य रूपान्तरण गरेको राजन मुकारुङले स्पष्ट पारे।

कथाकार राईले जोखना कथामा ‘१० वर्षे जनयुद्धको समयमा आफ्नो श्रीमान् गाउँबाट हराएपछि एउटी महिलाले भोग्नु परेको सांस्कृतिक, राजनीतिक नियतिलाई देखाउन खोजेको बताए। यस नाटकलाई किरण चाम्लिङ राईले निर्देशन गरेका छन्। चैत ८ गतेबाट सुरु भएको नाटक वैशाख ८ गतेसम्म चल्नेछ।

जोखना कथा नाटककी पात्र धनसुवाको कथा मात्रै नभएर तमाम नेपालीको कथा हो। १० वर्षसम्म चलेको द्वन्द्वमा जसेजस्ता तमाम मानिस बेपत्ता भए। परिवारले सास पनि भेट्टाएन, लास पनि पाउन सकेन। कति मानिसले ज्यान गुमाए, कत्तिको अहिलेसम्म अन्तिम संस्कारसमेत भएको छैन। द्वन्द्वले धेरै परिवारलाई बेघरबार बनायो। अहिले पनि परिवारका सदस्य बेपत्ता मान्छे आउने आशमा जोखना हेरेरै बसिरहेका भेटिन्छन्।

नाटकले पूर्वी पहाडी जिल्लाको सांस्कृतिक चलन दृश्यमा उतारेको छ। साकेला सिली, मुन्धुमी धुन, च्याङब्रुङको ताल, स्याउलाका कलिला पालुवा, केराका पात, निगालो घारी र किराँती समुदायमा महिलाले धागो कात्ने चलनको दृश्य नाटकका सजावट हुन्।

नाटक ससाना उपकथा जोडेर सुन्दर बनाइएको छ। श्रीमती धनसुवा र दुई वर्षीय छोरा निछाहानलाई छोडेर जसे बेपत्ता भएको छ। जसे बेपत्ता भएपछि नाटकको कथाले गति लिन्छ। देशमा राजनीति फेरिएको छ। द्वन्द्व सकिएर विद्रोही राजनीतिको मूलधारमा आएका छन्।

पहिले अशान्त देखिएको गाउँ केही शान्त छ। गाउँमा बाटो बनाउने चहलपहल छ। बाटोसँग गाउँलेमा सपनाको फूल फुलेको छ। कोहिले ट्याक्टर किनेर गाउँको सामान बजार पु¥याउने र धनी बन्ने योजना बनाएका छन् त कोहीले पैसा कमाएर ठूलो घर किन्ने सपना पालेका छन्। हुर्किसकेको निछाहान पुलिसमा भर्ती हुन सहर पस्छ।

करिब दुई घण्टा लामो नाटक सलल बगेको छ। कलाकारको अभिनय जीवन्त छ। दर्शकले किराँती समुदायमा पुगेको स्वाद भेट्छन्। नाटकमा साकेला नाचसँगै मन्त्रमुग्ध संगीत पनि सुन्न पाइन्छ। मानिसको जीवनमा घट्ने अनगिन्ती घटनालाई मौलिक संस्कृतिसँग जोडेर देखाउने प्रयास गरिएको छ। हराएको जसेको मृत्यु संस्कार गर्ने अजीव प्रकारको चलन छ। विभिन्न मन्त्रको उच्चारणसँगै सेलेमीमा पितृ उत्पन्न हुन्छ र जसे बनेर सेलेमीले गाउँलेसँग संवाद गर्छन्।

नाटकमा संगीता थापा, रूपेश लामा, सजीव राई, मनहाङ लावती, अनिल सुब्बा, पवित्रा राई, निशा पाख्रिन, कवि राई, सुदर्शन क्षेत्री, दिवन रसाली, मनिकुमार राईले अभिनय गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.