एथलेटिक्समा चन्द्रकलाको राष्ट्रिय कीर्तिमान
दाङ : आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुन्डीमा सुरु भएको एथलेटिक्स प्रतियोगिताको पहिलो दिन नै चन्द्रकला लामगादेले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। उनले महिला सटपुट स्पर्धामा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन्।
उनले १२.०४ मिटरको प्रदर्शनसहित राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। यसअघि पनि उक्त स्पर्धाको कीर्तिमान चन्द्रकलाकै नाममा थियो।
यसअघि उनले इटहरीमा भएको राखेप च्याम्पियनसिपमा ११.५६ मिटरको कीर्तिमान बनाएकी थिइन्। चन्द्रकलाले २०७३ सालमा पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदमा पनि राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
महिला सटपुटमा प्रदेश नम्बर ५ की संगीता अधिकारीले १०.१५ मिटरको प्रदर्शनसहित रजत र नेपाल पुलिस क्लबकी वसन्ती चौधरीले १०.०५ मिटरको प्रदर्शनसहित कांस्य पदक जिते। महिला एक सय मिटर दौडमा त्रिभुवन आर्मी क्लबकी सरस्वती चौधरीले स्वर्ण पदक जितिन्। उनले निर्धारित दूरी पूरा गर्न १२.१९ सेकेन्डमा पूरा गरिन्। उक्त स्पर्धामा प्रदेश नम्बर ५ की जयरानी चौधरीले रजत र आर्मी क्लबकी कृष्णा चौधरीले कांस्य पदक हात पारे।
यसैगरी पुरुष एक सय मिटर दौडमा एपीएफ क्लबका आशिष चौधरीले स्वर्ण पदक जिते। उनले निर्धारित दूरी पूरा गर्न केवल ११ सेकेन्ड समय खर्चिए। कर्णाली प्रदेशबाट प्रतिस्पर्धा गरेका यमसाजन सुनार ११.१० सेकेन्डसहित दोस्रो र आर्मी क्लबका आनन्ददेव चौधरी ११.१५ सेकेन्डसहित तेस्रो भए।
महिला १० हजार मिटर दौडमा आर्मी क्लबकी विश्वरूपा बुढाले स्वर्ण पदक जितिन्। उनले ३७ मिनेट ३०.९ सेकेन्डमा दौड पूरा गरेकी थिइन्। पुलिस क्लबकी राजपुरा पछाई दोस्रो भइन्। उक्त स्पर्धामा प्रदेश नम्बर ३ की सन्तोषी श्रेष्ठ ३७ मिनेट ५०.६ सेकेन्डसहित तेस्रो भइन्।
पुरुष १० हजार मिटर दौडमा कर्णाली प्रदेशका दुर्गा बुढाले स्वर्ण पदक जिते। उनले ३१ मिनेट ०३.१ सेकेन्डमा दौड पूरा गरे। गण्डकी प्रदेशका अनिश थापा ३१ मिनेट ०९.८ सेकेन्डसहित दोस्रो भए। एपीएफका गोपीचन्द्र पार्की ३१ मिनेट ५८.३ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।
पुरुष सटपुटमा आर्मी क्लबका टंकप्रसाद दाहालले स्वर्ण पदक जिते। उनले १२.१९ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन्। उक्त स्पर्धामा १२.०४ मिटरको प्रदर्शनसहित पुलिस क्लबका पुष्कल शर्माले रजत पदक जिते। आर्मी क्लबकै चित्रबहादुर वलीले ११.८५ मिटरको प्रदर्शनसहित कांस्य पदक हात पारे।