गञ्जागोल ग्यारेज
तपाईको गाडी, मानिसको शरिर जस्तै हो। मान्छेले जिउनका लागि खानुपरेजस्तै यसलाई पनि इन्धन चाहिन्छ, बस्नलाई पार्किङ चाहिन्छ। त्यतिमात्रै होइन, यो अस्वस्थ वा घाइते पनि हुन्छ। गाडी अस्वस्थ भएपछि उपचारका लागि लैजाने अस्पताल हो ‘ग्यारेज’।
बढ्दो सहरीकरण र सवारीसाधनको उच्च प्रयोगसँगै ग्यारेज (वर्कसप) धेरै खुलेका छन्। गाडीको मागवृद्धिसँगै ग्योरज खुल्नु स्वाभाविक हो। तर जथाभावी तथा अव्यवस्थित ग्यारेजले सहरलाई कुरूप त बनाएको छ नै, त्यस्ता वर्कसपहरूबाट निस्कने रसायनजन्य फोहोरले प्रदूषणसमेत बढाएको छ।
गाडीको उच्च चापका कारण बजार पाएर च्याउसरी खुलेका ग्यारेजले निम्त्याएका समस्याबाट विविध प्रश्न उब्जिएका छन्, के यति धेरै ग्यारेज आवश्यक छन् ? छैनन् भने मापदण्ड खै त ? यदि आवश्यक छन् भने समस्याको हल के छ ?
‘जथाभावी ग्यारेज नियमन गर्ने प्रयास यसअघि पनि नभएका होइनन्,’ ज्ञानेश्वरस्थित पपुलर अटोवर्कसप प्रालिका निर्देशक तथा सञ्चालक विकास प्रधान भन्छन्, ‘मापदण्ड बनाएर ग्यारेज खोल्न दिनु राम्रो हुन्छ। साथमा बीच बाटोमा गाडी बिग्रिँदा पनि नजिकै ग्यारेज भयो भने सजिलो हुन्छ। यो कुरालाई पनि ध्यानमा चाँही राख्नुपर्छ।’ ग्यारेज व्यवसायी प्रधानको आफ्नै ग्यारेज पनि व्यवस्थित छ। उनीसहित पाँचजनाको साझेदारीमा सञ्चालित ग्यारेजले पछिल्लो पाँच वर्षमा सानो पसल जस्तो ग्यारेजबाट ठूलो ग्यारेजमा रूप फेरिसकेको छ। उनी भन्छन्, ‘व्यवसाय बढ्दैछ। जति गाडी बढ्यो व्यवसाय त्यति नै बढ्दै जाने हो। कार र जीपहरू सर्भिसका लागि बढी आउने गर्छन्।’
ग्यारेज दुई रोपनी चार आना क्षेत्रफलमा छ। यसले कमलपोखरी, ज्ञानेश्वर, कालोपुल, रातोपुल, दरबारमार्ग, नागपोखरी, पुतलीसडक आसपासका क्षेत्रलाई प्रत्यक्ष सुविधा पुर्याइरहेको छ। वरिपरि कम बस्ती भएकाले कसैलाई डिस्टर्ब नहुनेमा प्रधान विश्वस्त छन्।
सामान्यतया मेसिनरी कामहरू बढी हुने र गाडीहरू आवाजले वरपरको बस्तीलाई समेत तरंगित बनाउँछ। उनी भन्छन्, ‘मूल कुरा अरूलाई डिस्टर्ब हुनुभएन।’ सहरमा खुलेका ग्यारेजहरू आवश्यक भए पनि अव्यवस्थित छन्। ठ्याक्कै जाम परेको बेलामा गाडी बिग्रियो तर ग्यारेज टाढा छ भने समस्या आउनसक्छ। त्यसैले ग्यारेजको उचित व्यवस्थापन निकै चुनौतिपूर्ण पनि देखिन्छ।
मापदण्ड
अव्यवस्थित रूपमा चलेका त्यस्ता वर्कसप (ग्यारेज) अहिलेसम्म कानुनी दायरामा पनि आएका छैनन्। गत वर्षको अन्ततिर अब सरकारले यस्ता वर्कसपका लागि पनि मापदण्ड तय गर्दै सञ्चालन निर्देशिका ल्याएको थियो।
निर्देशिकाले दिएको म्याद सकिँदासम्म पनि जम्मा ६÷७ वटा ग्यारेजले मात्रै दर्ता गराएको पाइएको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहाल बताउँछन्। उनी भन्छन्, ‘मैले भर्खरै महानिर्देशक पद सम्हालेको छु, यसबीचमा अधिकांश ग्यारेजहरूले निर्देशिका पालना गरेका छैनन् भन्ने जानकारी आएको छ।’ विभागले ग्यारेजहरू अनुगमन गरेर मापदण्ड मिच्ने त्यस्ता व्यवसायीलाई कानुनको दायरामा ल्याउने बताए। उनी भन्छन्, ‘अनुगमनपछि उनीहरूलाई बोलाएर सोध्छु। कारबाहीका लागि कुनै कसर बाँकी राख्ने छैन।’ विभागले सवारीको बडी बनाउने कारखाना मर्मत गर्ने वर्कसपलाई पनि नियमन गर्ने भन्दै विभागले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका जारी गरेको थियो।
निर्देशिकाले यस्ता वर्कसपलाई ६ वटा खण्डमा विभाजन गरेर मापदण्डहरू तोकेको छ। सबै खालका वर्कसपहरू सडक सीमाभन्दा बाहिर निर्माण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। च्यासिस ल्याएर यहाँ बडी बनाउने काम गर्ने कारखानाहरू पनि यसमा समेटिएका छन्। पर्खाल र तारबार घेर्नुपर्ने व्यवस्था अनिवार्य गरिएको छ। वर्कसप वरपर फोहोर व्यवस्थापन गर्नुपर्ने, सवारी राख्न पर्याप्त स्थान हुनुपर्ने, पर्याप्त मेसिनरी र औजारहरू हुनुपर्ने लगायतका व्यवस्था छन्।
खानेपानी र शौचालयको उचित व्यवस्थापन गर्नुपर्ने, अग्नि नियन्त्रक सिस्टम राख्नुपर्ने, प्राथमिक उपचारको टुल बक्स राख्नुपर्ने लगायतका नियम पनि बनाइएका छन्। वर्कसपको प्रकृतिअनुसार कति क्षेत्रफल हुनुपर्ने भन्ने पनि तोकिएको छ। ग्यारेजमा बाल श्रम पनि निषेध गरिएको छ। सबै वर्कसप विभागमा दर्ता हुनुपर्ने र कर्मचारीको नियुक्ति सरकारले तोकेको व्यवस्थाबमोजिम गर्नुपर्ने, पुराना सवारीहरू ग्यारेजमा थन्क्याएर राखिरहन नपाइने, सवारीको बडी निर्माण गर्दा विभागबाट स्वीकृति लिएर स्वीकृत ढाँचामै सम्पन्न गर्नुपर्ने लगायतका नियम छन्।
यो मापदण्डअनुसार अहिले चलिरहेका ग्यारेजले ६ महिनाभित्र आफूलाई सुधार नगरे खारेज (बन्द) गर्ने व्यवस्था निर्देशिकामा छ। निर्देशिकाअनुसार अब सरकारले ग्यारेजहरूको नियमित अनुगमन तथा निरीक्षण पनि गर्ने बताएको थियो। तर अहिलेसम्म त्यो निर्देशिकालाई सरकारले कार्यान्वयनमा ल्याउन भने सकेको छैन।
प्रविधिको अभाव
अहिलेसम्म नेपालका ग्यारेजहरूले नयाँ प्रविधि अवलम्बन गर्न सकेका छैनन्। नयाँ प्रविधिअनुसार नेपालमा खासै काम हुन नसकेको ग्यारेज व्यवसायी बताउँछन्। पीएम अटोमोबाइल वर्कका प्रबन्ध निर्देशक सुरेन्द्रबहादुर नापित भन्छन्, ‘अबका दिनमा पनि नयाँ प्रविधिअनुसार वर्कसप सञ्चालन नगरी पहिलेझैं हातमा कालोमैलो लगाएर हथौडाले ठोकेर काम गर्ने हो भने कामदार पाउन सकिने अवस्था रहँदैन। त्यसैकारण नयाँ प्रविधिबमोजिम काम गर्नु अत्यन्तै आवश्यक छ।’ अहिले नेपालमा सिटिईभिटी लगायतका केही संस्थाले औपचारिक शैक्षिक तालिम प्रदान गर्ने काम पनि गर्दै आएका छन्।
अटो ग्यारेजको अवधारणा
नवलपरासीको सुनवल नगरपालिकलाई ५ वर्षभित्र नमूना नगर बनाउन पहिलो चरणमा अटो भिलेज निर्माण भइरहेको छ। जसमा अटो ग्यारेजको पनि अवधारणा सुरु गरिएको छ। यसअन्तर्गत नगरलाई सुन्दर र व्यवस्थित बनाउन छरिएका सवारी साधन र अटो ग्यारेजहरूलाई अटो भिलेजभित्रै व्यवस्थित गरिने बताएको थियो।
अव्यवस्थित सवारी साधनको पार्किङले दुर्घटनाको जोखिम बढ्नुका साथै नगरको बजार क्षेत्र कुरूप देखिन थालेपछि अटो भिलेजका लागि नगरपालिकाको वडा नम्बर ४ तुरिया खोलाको छेउमा १२ बिघा छुट कित्ता रहेको जग्गाको सरसफाई र सम्याएर व्यवस्थित अटो भिलेज निर्माणको काम सुरु गरेको हो। अटो भिलेजभित्र नगरमा छरिएका अटो ग्यारेज, अटो पार्टकको बिक्री, पन्चर टाल्ने, सवारी साधनको मर्मत गर्ने गराउने, ठूला साना सवारी साधनहरू पाकिङ र सवारी साधनहरूको धुलाई समेतको सम्पूर्ण कामलाई व्यवस्थापन हुन्छ।
नगरपालिकाले अटो भिलेजका लागि यस वर्ष ३० लाख रुपैयाँ विनियोजन गरेको छ। जुन बजेटले अटो भिलेजको भौतिक पूर्वाधार निर्माण र जग्गा व्यवस्थापन कार्य भइरहेको छ। अटो भिलेज यस क्षेत्रको व्यवस्थित र सुविधासम्पन्न हुने नगरपालिकाको दाबी छ। अटो भिलेजमा आगामी ५० वर्षसम्मका सवारी साधन धान्ने गरी प्रविधिहरू भिœयाउने योजना छ। यसबाहेक भैरहवाको सिद्धार्थनगर नगरपालिकामा पनि अटो भिलेज बन्ने तयारी अवस्थामा छ।