सिर्जनशील सिर्जना

सिर्जनशील सिर्जना

सिर्जना सुब्बा मूलत रंगकर्मी हुन्। उनले तीन दर्जन नाटक र आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेकी छन्। उनी नारीप्रधान युमा नाटककी कुशल निर्देशकसमेत हुन्। लुट, लुट– २, मिस्टर भर्जिन, कबड्डी कबड्डी, डाइङ क्यान्डललगायतका फिल्ममा काम गरेर उनले चर्चा कमाइन्। डाइङ क्यान्डलमा उनले गरेको अभिनय सशक्त रह्यो। यसबाट उनले अन्तर्राष्ट्रिय अर्वाडसमेत प्राप्त गरिन्। थोरै काम तर सशक्त भूमिकामा काम गर्न चाहने सुब्बा १४ वर्षदेखि नेपाली रंगमञ्चमा सक्रिय छिन्।

अल इन्डिया रेडियोबाट रातिको समयमा मीठामीठा प्रेमिल गीत बज्ने गथ्र्योे उनी हुर्केको समयमा। गीत सुनेरै उनी दृश्यको कल्पना गर्थिन्। कुनै सुन्दर पहाडी भूभागमा नायिका र नायक मस्त नाचिरहेका होलान् भन्ने कल्पना गर्थिन्। आफू पनि हिरोइन बनेर नाचिरहेको सपना देख्थिन्।

मोरङको उर्लाबारी आम्बारीमा जन्मेकी सुब्बा फिल्मका कहानी सुनेरै हुर्किएकी हुन्। हलसम्म गएर फिल्म हेर्ने छुट थिएन घरमा। गाउँका दिदीहरूले फिल्म हेरेर आउँथे, उनीहरूको काममा सघाइदिएपछि मात्रै फिल्मको कहानी सुन्ने अवसर मिल्थ्यो। कहानी सुन्नकै लागि अग्रज दिदीहरूका निकै अप्ठ्यारा काम पनि गरिदिन्थिन् उनी। हिरो हिरोइनका वियोगान्त कथा सम्झेर रोएर बस्थे उनीहरू। कथा सुन्दासुन्दै सिर्जनामा कलाकारिताको भोक जागिसकेको रहेछ।

कङ्कु, गितार, पुराना बाजा आफ्नै घरमा थिए। गाउँमा दसंैतिहारका बेला नाटक देखाइथ्यो। कङ्कु, झ्याली, डम्फु, गितार, मादलजस्ता बाजा र रेकर्ड गरेर सुन्न मिल्ने क्यासेट प्लेयर उनको घरमा थियो। नाटक रेकर्ड गरेर सुनिरहन्थिन् उनी। स्कुलमा हुने कार्यक्रममा नाच देखाउने गर्थिन्। एसएलसी पास गर्नेबेलासम्म उनले आफू कलाकार बन्ने निधो गरिसकेकी थिइन्। तर कहाँ जाने, कसरी सिक्ने अन्योल थियो।

फिल्म उद्योगमा बाहुन, क्षेत्री, नेवार समुदायको वर्चस्व थियो। हिरोइन हुनका लागि अग्लो कद, गोह्रो वर्ण, ठूल्ठूला आँखाजस्ता सीमारेखा तोकिएको थियो। सिर्जना लिम्बू समुदायबाट आएकी, त्यो पनि चिम्सा आँखा भएकी। अभिनय गर्छुभन्दा नपत्याउने धेरै थिए।

काठमाडैां आएर उनले राजधानी कला केन्द्रमा निर्देशक लोकेन्द्र लेखकसँग डान्स सिकिरहेकी थिइन्। यसैबेला पहिलोपटक नाटक खेल्ने अवसर पाइन्। २०६३ सालमा काठमाडांैमा पश्चिमाञ्चल नाटक कम्पिटिसन आयोजना भएको थियो। त्यहाँ उनले मैना नामक नाटकमा अभिनय गरिन्। यो नाटकले पहिलो पुरस्कार पायो। नाटकमा उनले १३ वर्षे बालिकाको भूमिका निर्वाह गरेकी थिइन्। बेस्ट एक्टरको अवार्ड पनि उनकै पोल्टामा पर्‍यो। त्यसपछि अभिनय सिक्न गुरुकुल प्रवेश गरिन्। त्यहाँ उनले जात सोध्नु जोगीको, खरीको घेरो, कर्णाली दक्षिण बग्दछ लगायतका धेरै नाटक प्रत्यक्ष हेर्ने अवसर पाइन्।

एक्टस स्टुडियामा पनि केही समय अभिनय सिकिन्। उनीहरूले अभिनयमा रुचि भएका राजन खतिवडा, दयाहाङ राई, लुनिभा तुलाधर, सरिता गिरी, बुद्धि तामाङलगायत साथीहरू मिलेर अभिनयमै केही गर्न समूह बनायो। यसको केही समयपछि मण्डला नाटकघर स्थापना भयो। उनीहरू सबैजना अहिले पनि रंगमञ्चमै सक्रिय छन्।

आदिवासी समुदायबाट अभिनय क्षेत्रमा आउने संख्या प्रायः शून्य थियो। फिल्म उद्योगमा बाहुन, क्षेत्री, नेवार समुदायको वर्चस्व थियो। हिरोइन हुनका लागि अग्लो कद, गोह्रो वर्ण, ठूल्ठूला आँखाजस्ता सीमारेखा तोकिएको थियो। इन्डियन सिने कल्चरबाट नेपाली सिनेमा गाइडेड थियो। सिर्जना लिम्बू समुदायबाट आएकी, त्यो पनि चिम्सा आँखा भएकी। अभिनय गर्छुभन्दा नपत्याउने धेरै थिए। निर्माता निर्देशकले काम, अभिनयभन्दा पनि अनुहार र थर नै हेर्ने गरेको अनुभव उनीसँग छ।

 सिर्जना भन्छिन्, ‘सुब्बा देख्ने बित्तिकै हुँदैन भन्ने चरित्रका मान्छे धेरै छन्। केटीहरूलाई कामको इज्जतले कहिल्यै पनि नहेरिने अनुभव उनले सुनाइन्। पात्रको गहिराइमा नै नपुगी फिल्म सकिने चलन फिल्म उद्योगमा छ। तर नाटकमा भने पात्रभित्र नपसी सम्भव नहुने हुँदा उनलाई थिएटरमा अभिनय गर्न आनन्द लाग्छ।

नाटकहरू गरिनै रहेकी थिइन्। उनीहरू नाटक प्रदर्शनका लागि विदेश पनि गइरहन्थे। यसै क्रममा फरक कथावस्तुमा लुट फिल्म बन्ने भयो। उनले त्यसमा अभिनय गर्ने मौका पाइन्। लुट फिल्मको सफलताले नेपाली चलचित्रको धार नै परिवर्तन भयो। प्रेमकथामा बनेका हिरो हिरोइनले लिड गरेका चलचित्र मात्रै चल्छन् भन्ने आम मानिसको बुझाइ फेरियो। लुटको सिक्वेल पनि निर्माण भयो। यसपछि लुटकै धारलाई पछ्याएर निर्माता निर्देशकले धेरै चलचित्र बनाए। लुट फिल्मले निकै नाफा कमाउन सफल भयो।

संख्यात्मक रूपमा कम काम गर्ने तर अभिनयमा निकै भिजेर मात्रै काम गर्न चाहने कलाकारमा पर्छिन् उनी। कुनै पनि भूमिकामा शतप्रतिशत न्याय दिने कोसिस गर्छिन् उनी। चाहे नाटकका पात्र होस् या फिल्मका पात्र उनले त्यहाँ आफैंलाई रिप्लेस गर्ने गर्छिन्।

 नेपाली फिल्मका हिरो हिरोइन निकै कम मात्रै अन्तर्राष्ट्रिय अवार्ड पाउन सफल छन्। सिंगापुर साउथ एसियन फिल्म फेस्टिभलबाट बेस्ट एक्ट्रेसको उपाधि सिर्जनाले जितेकी छिन्। डाइङ क्यान्डलमा गरको अभिनयबाट उनले यो अवार्ड प्राप्त गरेकी हुन्। अमेरिकी क्विन्स फिल्म फेस्टिभलको बेस्ट एक्ट्रेसको नोमिनेसनमा परेकी थिइन् उनी।

ग्ल्यामरका नाममा हिरोइनको अंग प्रदर्शन गर्ने संस्कार विकसित भएको छ अहिले। अंग प्रदर्शन गरेरै चर्चित भइन्छ भन्ने आफूलाई कहिल्यै नलाग्ने अनुभव उनले सुनाइन्। काममा कटिबद्ध हुनेलाई चर्चाकै लागि अंग देखाउनु पर्दैन। आफू मिडियामा छाइरहन, विभिन्न कन्ट्रोभर्सिमा आइरहन नचाहने बताउने सिर्जना नाटक या फिल्मका कथाअनुसारको ड्रेस लगाउन भने धक नलाग्ने धारण राख्छिन्।

‘काममा पनि त ग्ल्यामरस हुन सक्छ नि। अभिनय वाह भन्ने खालको गर्न सकिन्छ। ग्ल्यामर भनेको नराम्रो मात्र पनि होइन’, उनले प्रस्ट पारिन्। अन्य क्षेत्रभन्दा कलाकारितामा सबैको नजर जाने हुनाले यो क्षेत्रमा चर्चा बढी हुने उनको तर्क छ। पछिल्लो समय नेपाली कला क्षेत्रमा पनि उत्कृष्ट अभिनय गर्ने कलाकार आउने क्रम बढ्दो छ। कुनै जात, वर्ग र समुदायको मुठीमा छैन अहिले सिने उद्योग। यसले यो क्षेत्रमा भविष्य पनि सुनिश्चित छ भन्न सकिने उनको बुझाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.