डलर र भारतीय रुपैयाँ ओसारपसार

डलर र भारतीय रुपैयाँ ओसारपसार

परासी : पश्चिम नवलपरासीमा विदेशी मुद्राको अवैध कारोबार गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। गिरोहले भारतीय रुपैयाँदेखि अमेरिकी डलर, अरबी, कतार, दुबईलगायत देशका मुद्राको अवैध कारोबार गर्ने गरेको पाइएको हो। उनीहरू बुटवल, भैरहवा, पोखरादेखि काठमाडौंबाट विदेशी मुद्रा संकलन गर्छन्।

विदेशी मुद्राको अवैध कारोबारमा सबैभन्दा बढी परासी क्षेत्रका केही व्यक्तिहरू संलग्न छन्। बाहिरी जिल्लाका विभिन्न होटल, सटही काउन्टर र व्यक्तिसँग खरिद गरेर ल्याइएका विदेशी मुद्रा परासी क्षेत्रका कारोबारीलाई दिने गरिएको छ। स्रोतका अनुसार कारोबारीले केही बैंकबाट समेत विदेशी मुद्रा खरिद गरेको पाइएको छ। प्रचलित मूल्यभन्दा केही रकम बढी दिएर कारोबारीले विदेशी मुद्रा खरिद गरेको स्रोतको दाबी छ।

तेस्रो मुलुकका विदेशी मुद्राबाट नभई भारतीय रुपैयाँ नेपाल भित्र्याएर नाफा कमाउने कारोबारीको मुख्य उद्देश्य रहेको स्रोत बताउँछ। स्रोतका अनुसार संकलन गरिएको विदेशी मुद्रासँग भारतीय रुपैयाँ साट्ने गरिएको हो। साटिएको भारतीय रुपैयाँ नेपाल ल्याएर सटही काउन्टर र विभिन्न व्यक्तिसँग बढी रकम लिएर कारोबारीले बिक्री गर्छन्। सयकडा ४ देखि ५ रुपैयाँ बढी लिएर भारतीय रुपैयाँ बिक्री गरेको पाइएको छ।

कारोबारीले सीमावर्ती क्षेत्रका बजारमा संकलन हुने नेपाली रुपैयाँसँग भारतीय रुपैयाँ साट्ने गरेका छन्। भारतीय रुपैयाँ दिएर साटिएका नेपाली रुपैयाँ नेपालतर्फ ल्याउने क्रममा सीमानाकाका भारतीय प्रहरीले पक्राउ गर्ने गरेका छन्।

कारोबारीले भारतको सीमासँग जोडिएको जिल्लाको महेशपुर, विस्नुपुरा, भूजहवालगायत नाकाबाट गिरोहले विदेशी मुद्रा ओसारपसार गरेका हुन्। अवैध कारोबारबारे प्रहरीलाई जानकारी भए पनि वास्ता नगरेको जानकारहरूको भनाइ छ। जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले विदेशी मुद्राको कारोबारबारे आफूलाई जानकारी नभएको बताए।

सटही काउन्टर र बैंकसँग साँठगाँठ

विदेशी मुद्राको अवैध कारोबार गर्ने गिरोहले जिल्लाका केही सटही काउन्टर र बैंकका कर्मचारीसँग साँठगाँठ गर्ने गरेका छन्। विदेशबाट आउने व्यक्तिसँग केही सटही काउन्टरले विदेशी मुद्रा खरिद गर्ने गिरोहलाई बढी रकममा बिक्री गर्ने गरेको स्रोतको दाबी छ।

बैंकमा पुग्ने ग्राहकसँग कर्मचारीले विदेशी मुद्रा खरिद गर्ने गरेका छन्। राष्ट्र बैंकले विदेशी रकम सटही गर्न आउने व्यक्तिलाई कागजपत्रका आधारमा रकम सटही गर्न पाउने प्रावधान राखेको छ। तर, केही बैंकका कर्मचारीले थोरै रकम मात्र कागजी प्रक्रिया पूरा गरेर खरिद गर्ने र अन्य रकम आफैंले खरिद गरेर राख्ने गरेका छन्। बैंकका कर्मचारीले बिनालगानी विदेशी मुद्राबाट नाफा कमाउने भएपछि थोरै रकमको कागजी प्रक्रिया पूरा गरेर अन्य रकम आफैंले लिने गरेका हुन्।

सयकडा ४ देखि ५ रुपैयाँ बढी लिएर भारतीय रुपैयाँ बिक्री गरेको पाइएको छ।​

ग्राहकसँग बिनाकागज खरिद गरेका विदेशी मुद्राबापतको रकम कर्मचारीले बैंककै रकमबाट खरिद गर्ने गरेका छन्। कर्मचारीले बैंककै रकमबाट विदेशी मुद्रा खरिद गरेपछि बैंक बन्द हुनु केही घण्टाअघि कारोबारीलाई बोलाउने गर्छन्। त्यसरी आएका कारोबारीले कर्मचारीसँग भएको विदेशी मुद्रा प्रचलित मूल्यभन्दा बढी तिरेर खरिद गर्ने गरेको स्रोतले बताएको छ।

‘आफूहरूको बैंकमा त्यस्तो छैन। अन्यत्र भए जानकारी भएन’, बैंक अफ काठमाडौं परासी शाखाका प्रबन्धक मनोज गौतमले भने। ‘अन्य बैंकमा के हुन्छ थाहा भएन, हाम्रामा हुँदैन। ठूला सहरमा धेरै कारोबार हुने भएकाले त्यस्ता ठाउँमा नहोला पनि भन्न सकिन्न,’ गौतमले भने।

राष्ट्र बैंकले परिचयपत्रका आधारमा हजार डलर साट्न सकिने व्यवस्था गरेको छ। त्यसभन्दा बढी साट्नुपरे विदेश गएर आएको प्रमाण पेस गर्नुपर्ने हुन्छ। विदेश गएकाहरूले ३ महिनाभित्र आफूसँग भएको विदेशी मुद्रा सटही गरिसक्नुपर्ने प्रावधान रहेको माछापुच्छ्रे बैंक, परासी शाखाका प्रबन्धक भानुभक्त अधिकारीले बताए। आफ्नो बैंकमा थोरै संख्यामा ग्राहक विदेशी मुद्रा सटहीका लागि आउने गरेको र त्यसरी आउनेमा साउदी, कतारी बढी रहेको अधिकारीले जानकारी दिए। कारोबारीलाई विदेशी मुद्रा बिक्री गर्ने गरेकोबारे आफूलाई जानकारी नभएको अधिकारीको भनाइ छ। राष्ट्र बैंकले दैनिक तोकेको सटही दरका आधारमा विदेशी मुद्रा सटही गर्ने गरिएको बैंकहरूले जनाएका छन्।

करोडभन्दा बढी नेपाली रुपैयाँ बरामद

भारतबाट नवलपरासीतर्फ भित्र्याउँदै गरेको एक करोडभन्दा बढी नेपाली रुपैयाँ भारतीय प्रहरीले बरामद गरेको छ। ठूठीबारीबाट महेशपुरको नाका हुँदै परासीतर्फ ल्याउँदै गरेको अवस्थामा भारतीय प्रहरी र एसएसबी फोर्सको संयुक्त टोलीले उक्त रकम बरामद गरेको हो। माघदेखि चैतसम्म एक करोड १८ लाखभन्दा बढी नेपाली रुपैयाँ बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चार पटकमा बरामद गरेको रकममा पहिलो पटक ८३ लाख, दोस्रो पटक १० लाख, तेस्रो पटक २० र चौथो पटक पाँच लाख र एक लाख नेपाली रुपैयाँ छ। छुट्टाछुट्टै व्यक्तिबाट रकम बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ। उक्त नेपाली रुपैयाँ सीमावर्ती भारतीय बजारमा जम्मा भएको बताइएको छ। भारतीय बजारमा किनमेलका लागि पुग्ने नेपालीबाट बट्टा (तोकिएको मूल्यभन्दा ३ देखि ४ रुपैयाँ कम दिएर) काटेर व्यवसायीले नेपाली रुपैयाँ लिने गरेका छन्।

भारतीय रुपैयाँ दिएर नेपाली संकलन गर्ने व्यक्तिले उक्त रकम नेपाल भित्र्याउने क्रममा पक्राउ परेको स्रोतले बताएको छ। स्रोत नखुलेपछि बरामद भएको नेपाली रुपैयाँ अनुसन्धानका लागि आयकर विभाग (राजस्व कार्यालय) गोरखपुरमा पठाइने गरेको भारतीय प्रहरीले जनाएको छ। आम्दानीको स्रोतसहित निश्चित समयभित्र दाबी नगरिए उक्त रकम सरकारी कोषमा जम्मा हुने गरेको भारतीय कस्टम (भन्सार कार्यालय)ले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.