सिन्धुपाल्चोकमा भारतले गर्यो गुम्बाको पुनर्निर्माण
काठमाडौं : भारतीय राजदूतावासको सहयोगमा सिन्धुपाल्चोकको लिसंखुमा रहेको छ््योइफेल कुन्देलिङ गुम्बा पुनर्निर्माण भएको छ। गुम्बा पुनर्निर्माणपछि शुक्रबार स्थानीय सरोकारवालालाई हस्तान्तरण गरिएको हो।
दुतावासद्वारा जारी विज्ञप्ति अनुसार बौद्ध धर्मका गुरु स्याल्पा तेन्जिङ् रिम्पोछे र भारतीय दुतावासका नियोग उप–प्रमुख डा. अजय कुमारले उक्त गुम्बाको उद्धघाटन गरे। गुम्बा पुनर्निर्माण सँगै १ करोड ८९ लाखको अनुदान सहयोगमा भारतीय दुतावासले आवास, भान्छा, सरसफाई सुविधा तथा कम्पाउण्ड पर्खाल जस्ता संरचनाहरुको निर्माण समेत गरिदिएको छ।
बास्तुकला डिजाइन, नक्सा र लागत अनुमान तयार पारी एवं गुम्बा निर्माणको सुपरिवेक्षण गरी जिल्ला समन्वय समिति चौताराले उक्त परियोजनाको कार्यान्वयन गरेको हो। सिन्धुपाल्चोकको लिसंखुमा रहेको यो गुम्बा स्थानीय गाउँवासीहरुले सन् १९४६ मा निर्माण गरेकाा थिए।
बौद्ध धर्म शिक्षा, थाङ्का चित्रकला, काष्ठकला तथा मूर्तिकला जस्ता विविध सामाजिक–साँस्कृतिक क्रियाकलापहरुमा यो गुम्बा सक्रिय रह्दै आएको छ।