सराेकारवाला भन्छन् : वैदेशिक रोजगारको ठगी नियन्त्रण गर !

सराेकारवाला भन्छन् : वैदेशिक रोजगारको ठगी नियन्त्रण गर !

काठमाडौं : वैदेशिक रोजगारीमा हुने ठगी रोक्न एकजुट हुनुपर्ने सरोकारवालाले बताएका छन् । वैदेशिक रोजगारीमा जानुअघि नै कामदार अत्यधिक ठगीमा पर्ने गरेकाले ठगी नियन्त्रण गर्न सरोकारवाला निकाय जागरुक हुनुपर्ने शुक्रबार राजधानीमा भएको एक कार्यक्रममा बताएका हुन् ।

मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्ने वक्ताले वैदेशिक रोजगार ऐनले कामदारको हित गर्न नसकेको भन्दै संशोधन मात्र नभई पुनर्लेखन गर्नुपर्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दैै पिपुल फोरमका सल्लाहकार अधिवक्ता सोम लुइँटेलले वैदेशिक रोजगार विभागले दिने न्यायिक अधिकार वैदेशिक रोजगार न्यायाधीकरणले दिनुपर्ने बताए । न्यायाधीकरणको सेवा स्थानीयस्तरमा लैजान आवश्यक भएको उनको भनाइ छ । वैदेशिक रोजगारीमा हुने ठगी जिल्ला प्रशासन कार्यालयमार्फत नै सुनुवाई हुनुपर्ने व्यवस्था गर्न आवश्यक भएको उनको भनाइ थियो । ‘जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी लिए कामदारले राहत पाउनेछन्’, उनले भने । कामदार भर्ना गर्ने प्रक्रियामा सुधार गर्नुपर्ने, श्रम सम्झौता गरेर मात्र वैदेशिक रोजगारीमा पठाउनुपर्ने, प्रभावकारी ढंगले नियमन गरी शून्य लागतमा पठाउनुपर्ने अधिवक्ता लुइँटेलले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालले स्वदेशमै तत्काल पर्याप्त रोजगारी सिर्जना गर्न सकिने अवस्था नरहेकाले वैदेशिक रोजगार बाध्यता भएको बताए । वैदेशिक रोजगार ऐन संशोधन गर्न कार्यदल गठन भई अध्ययन अघि बढेको उनको भनाइ छ । ‘कामदारको हितका लागि एकीकृत सेवा दिन आवश्यक छ’, उनले भने, ‘आउँदो आर्थिक वर्षदेखि उक्त सेवा सुरु गर्छाैं ।’ म्यानपावर व्यवसायीले पारदर्शी ढंगले कामदार पठाउनुपर्ने उनले बताए । ‘वैदेशिक रोजगारमा सुधारका काम भइरहेका छन्’, उनले भने, ‘धेरै देशसँग सम्झौता प्रक्रिया अघि बढेको छ ।’ श्रम सम्झौताभन्दा करारनामाको कानुनी हैसियत बलियो हुने उनको भनाइ छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले वैदेशिक रोजगार व्यवस्थित गर्न आफूहरू क्रियाशील भएको बताए । वैदेशिक रोजगार आवश्यक नभए सरकारले खारेज गर्न सक्ने उनको भनाइ थियो । कामदारबाट शुल्क नलिने पक्षमा आफू रहे पनि सरकारले रोजगारदातामार्फत सम्पूर्ण खर्च असुल गराउन सक्नुपर्ने बताए ।

‘नियम बनाउँदा अन्तर्राष्ट्रिय नियम पनि हेर्नुपर्छ’, उनले भने, ‘व्यवसायीले कामदारबाट पैसा नै नलिएपछि क्षतिपूर्ति र उद्धारमा ध्यान दिनु औचित्य छैन ।’ राजदूतावासले प्रमाणीकरण गरेपछि रोजगारदाता कम्पनी भागे पनि दूतावासको दायित्व हुने उनले दाबी गरे ।

अधिवक्ता रामप्रशाद गुरागाईंले अहिले कामदारले झन्झट पाइरहेको भन्दै झन्झटमुक्त सेवा दिनुपर्ने बताए । वैदेशिक रोजगार बैंक बनाएर सस्तोमा ऋण दिएर विदेश पठाउने र स्वदेशमा उद्यम गर्नेलाई ऋण प्रदान गर्ने व्यवस्था गर्न आवश्यक भएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.