आईपीएल रोमाञ्चक : ५ ओभरमा ९१ रन, कोलकाताको चौथो विकेट लिँदा झण्डै बैंग्लोरको हार !
काठमाडौं : इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत शुक्रबार राति भएको रोयल च्यालेन्जर्स बैंग्लोर र कोलकाता नाइट राइडर्सबीचको खेल निकै रोमाञ्चक भयो। ब्याट्सम्यान हाबी भएको यस खेलमा बैंग्लोरले १० रनको जित निकाल्यो।
कोकाताको घरेलु मैदान इडेन गार्डेन रंशालामा भएको खेलमा कोलकाताले टस जितेर पहिले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेटको क्षतिमा २१३ रन बनायो। २१४ रनको लक्ष्य पाएको कोकाताले २० ओभरमा ५ विकेट गुमाएर २०३ रन बनायो।
ब्याटिङका हिबासले यो खेल निकै रोचक रह्यो। बैंग्लोरका कप्तान विराट कोहलीले यस सिजनको पहिलो र समग्र आईपीएलका लागि ५ औं शतक बनाए। महत्वपूर्ण ब्याट्सम्यान एबी डे भिलियर्स स्वास्थ्य समस्याका कारण मैदानमा उत्रिन नसकेका कारण बैंग्लोरको ब्याटिङ औसत हुने अनुमान थियो। डे भिलियर्स यस सिजनमा बैंग्लोरका लागि सबैभन्दा फर्ममा रहेका ब्याट्सम्यान थिए।
ओपनर पृथ्व पटेललाई १८ रन बनाउँदा र ५९ रन बनाउँदा तेस्रो क्रममा ब्याटिङमा आएका आकाशदीप नाथलाई गुमाएर मध्यम ब्याटिङ गरिरहेका बैंग्लोरका लागि इङ्ल्याण्डका अलराउण्डर मोइन अली र कप्तान विराट कोहलीले आक्रामक ब्याटिङ गर्दै उच्च स्कोरसम्म पुर्याए। अलीले २८ बलमा ६६ रन बनाए। अन्तिम ५ ओभरमा मात्रै बैंग्लोरले ९१ रन जोड्न सफल भयो। १५औं ओभरको खेल सकिँदा बैंग्लोरको १२२ रन मात्रै थियो।
१६ औं ओभरमा ५ बलमा अली मात्रैले २७ रन प्रहार गरे र छैटौं बलमा क्याच आउट भए। त्यसपछि विराट कोहली आक्रामक रुपमा प्रस्तुत भए ४२ बलमा ५५ रन बनाएर खेलिरहेका कोहलीले थप १५ बलको सामाना गर्दा ४५ रन जोडी शतक पूरा गरे। अन्तिम बलमा ब्याच आउट भए। अस्ट्रेलियन अलराउण्डर मार्कुस स्टोनिस ८ बलमा १७ बनाएर अविजित रहे।
२१४ रनको विशाल लक्ष्य पाएको कोलकाताको सुरुवात राम्रो हुन सकेन। ५ ओभरमा ३३ रन बनाउँदा सुरुका तीन ब्याट्सम्यान गुमाएर कमजोर अवस्थामा पुगेको थियो। ११.५ ओभरमा चौथो विकेटकोरुपमा रोबिन उथाप्पा आउट हुनुअघि कोलकाताको स्कोर जम्मा ७९ रन थियो। त्यसपछि क्रिजमा आएका आन्द्रे रसेल र यसअघि नै क्रिजमा सेट भइसकेका नितिश रानाले आक्रामक ब्याटिङ गरेपछि टोलीलाई फराकिलो अन्तरको हारबाट जोगाए।
सामान्यतया विपक्षी टोलीको विकेट लिँदा फाइदा हुन्छ, खेल आफ्नो पक्षमा पार्न सकिन्छ तर कोलकाताविरुद्ध विकेट लिँदा विपक्षी टोलीलाई थप टाउको दुखाई हुने गरेको छ। पाचौं, छैटौं नम्बरतिर ब्याटिङमा आउने वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान आन्द्रे रसेलले अस्भाविक ब्याटिङ गरी खेलको नतिजा नै बदल्ने गर्छन। यस अघिका खेलमा हारको नजिक पुगेको टोलीलाई आक्रमक ब्याटिङ गरी जिताउँदै आएका छन्। यसअघि बैंग्लोरविरुद्ध उसैको मैदानमा भएको खेलमा पनि बैंग्लोरको पक्षमा ढल्किसकेको खेललाई रसेलले जिताएका थिए।
शुक्रबारको खेलमा पनि बैंग्लोरले चौथो विकेट लिएर रसेललाई क्रिजमा भित्रिने अवसर दिँदा झण्डै हारको सामना गर्नुपर्यो। १२ औं ओभरमा क्रिजमा छिरेका रसेलले जम्मा २५ बलमा ९ छक्का र २ चौकाको मद्दतमा ६५ रन बनाए। रसेल र राना मिलेर ५ औं विकेटका लागि ४८ बलमा ११८ रनको साझेदारी गरे। २०औं ओभरको ५औं बलमा रसेल रन आउट भए। अन्तिम बलमा नितिश रानाले छक्का हाने। राना ४६ बलमा ८५ रन बनाएर अविजित रहे ।
९ खेल खेल्दा बैंग्लोरले यो दोस्रो जित निकालेको छ। समान खेल खेलेको कोलकाताले ४ खेलमा जित निकालेको छ।