महोत्सवले धानेको हस्तकला

महोत्सवले धानेको हस्तकला

भद्रपुर : घरको मुलद्वारमै बाँसको जराबाट बनेका कछुवा र विभिन्न चरालगायत आकृतियुक्त सामग्री घाममा सुकाइराखेको देखिन्छ। घरको बलेसीवरिपरि ती सामान छरपष्ट देखिन्छन्। चार कोठाको पुरानो एकतले घरमा बाँसको जराबाट बनाइएका हस्तकलाका सामाग्री देख्दा जो कोहीको मन लोभिन्छ।

२० वर्ष बित्यो बाँसका ठुटा स्याहारेर जीवन गुजारा गर्दै आएको। ‘बुवा–आमाले बनाइदिएको घरमा बसिरहेको छु अहिलेसम्म, चारजनाको परिवारलाई खान र दुई छोराछोरीको पढाइ खर्च मुस्किलले धान्नबाहेक अरु केही गर्न सकिएन’, झापा भद्रपुर–८ का ५२ वर्षीय निर्मल शाक्य भन्छन्।

सीप छ कला छ। सरकारले पनि साथ दिए नेपालको हस्तकलाले विश्वमा गतिलो स्थान पाउने शाक्य बताउँछन्। उनी भन्छन्, ‘आफूसँगै बाँसको जराका सामग्री बनाउन सुरु गरेका केही साथी त खोलामा बालुवा चाल्न पुगे, यस्तो देख्दा र सुन्दा पनि सिरिंग हुन्छ।’

हस्तकला व्यवसायमा धैर्यता मुख्य कुरा रहेको शाक्य हस्तकला केन्द्रका सञ्चालक शाक्य बताउँछन्। पढ्ने क्रममा काठमाडौं पुगेर गहुँको छ्वालीबाट भित्ते घडी बनाउन सुरु गरेका शाक्यले हप्ता दिन लगाएर बनाएको घडी त्यो बेला तीन सय ५० रुपैयाँमा बिक्री हुन्थ्यो। त्यतिबेला एकजना नेपाली व्यापारीमार्पmत २२ वटा घडी जापानसम्म पुगे। घडीबाट लगानीसम्म पनि नउठेपछि उनी फेरि झापा फर्केर आफ्नो पहिलादेखिकै रुचि बाँसको जराबाट कला निकाल्न रमाउन थाले।

२०६१ सालमा घरेलु तथा साना उद्योगमा दर्ता भएको उनको शाक्य हस्तकला केन्द्रले आजसम्म धेरै कालीगढ जन्मायो। कति सहपाठीले उनीमार्पmत काम पनि सिके। तर, कसैले पनि हस्तकलालाई पेसा बनाएनन्।

हाल उनीसँग पाँचजना कालीगढ छन्। कालीगढ पनि आफ्नो इच्छाले काम गर्छन्। शाक्य भन्छन्, ‘बाँसको जरा खनेर कालीगढकै घरमा लगेर राखिदिन्छु। बाँसको जरा मात्र कुँदेर पनि उनीहरूको जीवन निर्वाह हुँदैन। त्यसैले उनीहरू कोही कृषक, कोही व्यवसायी छन्। बचेको समय बाँसको जरामा घोत्लिन्छन्।

शाक्य हस्तकला केन्द्रमा बाँसका जरासँगै कटहर, सिसौ, टिक, साललगायत काठ प्रयोग गरेर बनाइएका सामान एक हजारदेखि करिब १५ हजार रुपैयाँसम्मका छन्। शाक्य करिब देशभरिमा लाग्ने मेलामा आफ्नो स्टल राख्ने गर्छन्।

उनी भन्छन्, ‘यसो दुई, चार पैसा हुने भनेको नै औद्योगिक र अन्तर्राष्ट्रिय व्यापार मेलामा आफ्नो हस्तकलाका सामान लैजान सकियो भने नै हो।’ नेपालमा बाँस र काठको जराबाटै हस्तकलाका सामग्री बनाउने र यसकै व्यवसाय गर्नेको संख्या न्यून छ। नेपालका जुनसुकै ठाउँमा लाग्ने औद्योगिक व्यापार मेलामा उनी सजिलै स्टल राख्न पाउँछन्। उनको अरुसँग प्रतिस्पर्धा नै छैन।

बाँसको जराबाट हस्तकलाका सामग्री बनाउने झापामा पहिलो र दिगो रूपमा व्यवसाय गर्ने पनि निर्मल नै हुन्। देशभर पाँच जना मात्र यो क्षेत्रमा लागेका व्यवसायी छन्। यति थोरै संख्यामा रहेका व्यवसायीलाई पनि सरकारले केही सुविधा नदिएको उनीहरूको गुनासो छ। सुविधा पनि सरकारले गर्नै नसक्ने मागेका छैनौं। विदेशमा हुने महोत्सवमा आफूलाई निमन्त्रणा आउने गरेको तर जाने आउने र बस्ने होटलको खर्च कम्तीमा ३ लाखसम्म भेट्छ। हस्तकलाका साधारण व्यावसायीले त्यत्रो रकम खर्चेर मेलामा सहभागिता हुन जान सम्भव नहुने शाक्य बताउँछन्। हामीले हस्तकला व्यावसायको प्रचारसँगै देशको पहिचान पनि सँगै बोकेर गएका हुन्छौं। तर, यसप्रति सरकारले कत्ति पनि चासो दिँदैन।

यसैको बारेमा घरेलु तथा साना उद्योग कार्यालय झापामा प्रमुख चन्द्र मि श्रले हस्तकलामा पनि बाँसको जराबाट बन्ने सामग्रीमा मेसिनरी सामान पनि नचाहिने र सबै काम स–सानो पिन र हातले नै गरिने हुँदा यसमा कार्यालयबाट सहयोग गर्ने भन्ने कुरा खासै हुँदैन। आर्थिक पाटोको सहयोग गर्ने अधिकार पनि उक्त कार्यालयसँग नहुने भएकाले जिल्लामा अरु ठूलो भूमिका नहुने मि श्रले बताए।

शाक्यका हस्तकलाका सामग्रीमा श्रवणकुमार हलो जोतिरहेको, गणेश, बुद्ध, कछुवा, सर्प, महिलाले ढिकीजाँतो गरेको, आदिवासी, हात्ती, मुकुट र साना टी टेबललगायत आकृति देख्न सकिन्छ। उनका यी सामग्री अमेरिका, जर्मन, जापान, चीन, अस्ट्रेलिया, भारतलगायत देशमा आफन्त र साथीभाइमार्फत पठाउने गर्छन्।

१० हजारको लगानीबाट सुरु भएको उनको व्यवसाय अभैm पनि सन्तोषजनक छैन, तर पछिल्लो समय औद्योगिक व्यापार मेलाबाट आफ्नो व्यवसायको राम्रो प्रचारसँगै व्यापार पनि भएको उनी बताउँछन्। प्राय सबै मेलामा स्टल चार्ज १० हजारदेखि ५० हजार रुपैयाँसम्ममा किन्नुपर्छ। त्यति गरेर खर्च गर्दा कति ठाउँमा त राम्रै व्यापार हुन्छ भने कतै प्रचार मात्र गरियो भनेर चित्त बुझाउनुपर्छ। तर, पनि हस्तकलाका लागि राम्रो ठाउँ भनेको मेला नै हो। मेलामा जाँदा प्राय ठाउँमा सहभागिताको प्रमाणपत्र पाइन्छ त्यसैलाई सम्पत्ति ठानेको उनी बताउँछन्। ‘आफूले बनाएका सामग्री पूर्वराष्ट्रपति रामवरण यादवदेखि सामान्य मान्छेको हातमा उपहारको रूपमा सुम्पिन पाउँदा पनि गर्व महसुस हुने रैछ’, उनी भन्छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.