नायिकातर्फ मोडिएको नेपाली सिनेमा
काठमाडौं : नेपाली चलचित्र उद्योगमा ठूलो परिवर्तन देखिन थालेको छ। कथा वाचनदेखि प्रविधिसम्मका नयाँनयाँ खुड्किलासँग उद्योग परिचित हुँदै छ। वर्ष २०७५ यिनै उपलब्धिको साक्षी हो। चलचित्रले पर्दामा महिला पात्रको स्पष्ट खाका कोर्न खोज्नु सकारात्मक गति हो।
महिला अधिकार, समानता र सशक्तीकरणको मुद्दा उठिरहँदा चलचित्र क्षेत्र पनि यसबाट अछूतो रहेन। कहिले समान पारि श्रमिक त कहिले उचित भूमिका नपाएको विषयमा महिला चलचित्रकर्मीको असन्तुष्टि सुनिन्छ।
चलचित्र निर्देशनदेखि लेखन र अभिनय, प्रविधि, शृंगारजस्ता सबै क्षेत्रमा महिला सहभागिता बढ्नुपर्ने विषयमा बढी चर्चा हुन थालेको छ। त्यसमाथि उद्योगमा शिक्षित फिल्मकर्मी र महिला कलाकारको उपस्थितिसमेत बाक्लिँदै जाँदा बब्ली नायिका प्रभावशाली भूमिकामा देखिन थालेका हुन्।
यसको एउटा उदाहरण हो, फिल्म ‘बुलबुल’। निर्देशक तथा लेखक विनोद पौडेलले नारी मनोविज्ञान केलाएर ‘रनकला’ पात्र निर्माण गरेका थिए, जो ट्याम्पु ड्राइभर थिइन्।
फिल्ममा मुख्य भूमिकामा थिइन्, नायिका स्वस्तिमा खड्का। नेपाली दर्शकले कल्पना नगरेको पात्र र भूमिकामा उनी थिइन्। सधैं कलेज गर्ल अवतारमा देखिने स्वस्तिमाको यो फिल्ममा दमदार अभिनय मात्र थिएन, पूरै हुलिया बदलिएको थियो। यही फिल्मबाट नै स्वस्तिमाको खुब वाहवाही भयो।
एक्काइसौं शताब्दीको नेपाली समाजमा निम्नवर्गीय परिवेशको कथा बुन्दा महिलाको भूमिका र योगदानलाई जोड दिइएकाले फिल्म हलमा लामो समयसम्म चल्नुपर्ने बहससमेत भए।
देशमा देखिएको महिला सशक्तीकरणको मुद्दाले नेपाली चलचित्र उद्योगलाई पनि नारीकेन्द्रित हुन बाध्य तुल्याएको हो भन्नेमा दुई मत छैन। यसकै एक उदाहरण हो, चलचित्र ‘साइँली’। यो फिल्मले वैदेशिक रोजगारमा महिलाको उपस्थिति देखाएर नेपाली समाजको अर्को पाटो वर्णन गरेको छ।
साइँलीको भूमिकामा थिइन्, मेनुका प्रधान। अभिनय क्षमतामा अब्बल मेनुकाले साइँली पात्रलाई जीवन्त बनाइन्। महिलालाई सशक्त रूपमा दर्शाएकै कारण दर्शकले यो पात्र मन पराए।
रेखा थापाको फिल्म ‘मालिका’ले पनि नारीको कथा बोलेको थियो। बालिकालाई सानै उमेरदेखि उचित शिक्षा र परामर्श दिने हो भने भविष्यमा ऊ हरेक अप्ठ्यारा परिस्थिति सामना गर्न सक्षम हुन्छे भन्ने सन्देश फिल्ममा छ। दुर्गम क्षेत्रमा हुने महिला हिंसा र दुव्र्यवहारको सवालमा फिल्मले आवाज उठाएको छ। नायिकामा हिरोइजम देखाउने रेखाको कला सामाजिक रूपान्तरणका लागि एक उदाहरण नै हो।
गत वर्ष नायिकाले देखाएको उत्सुकतालाई पनि बेवास्ता गर्न मिल्दैन। फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गर्ने केकी अधिकारी हुन् या ‘सुनकेसरी’जस्तो हरर जनरामा फिल्म बनाउने आँट राखेकी ऋचा शर्मा हुन्; महिला कलाकार फिल्म निर्माणमा अघि सर्नु आफैंमा राम्रो मान्न सकिन्छ।
फिल्म प्रचारप्रसारमा नायिकालाई अघि सार्नु पनि उद्योगमा महिलाको आवश्यकता महसुस भएको मान्न सकिन्छ। पूजा शर्मा, प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाहजस्ता नायिकालाई निर्माताले नायकभन्दा अघि सार्ने गरेका छन्। नायिकाले लिन थालेको पारि श्रमिकका कारण पनि उनीहरूको उपस्थितिलाई अपरिहार्य मान्न थालिएको देखाउँछ। साम्राज्ञी, नम्रता श्रेष्ठ र पूजा शर्माले एक फिल्मका लागि १५ लाख रुपैयाँसम्म लिएको कुराले नायकलाई समेत सोच्न बाध्य बनाएको छ। आजका नायिकामा नायकसरह वा त्योभन्दा पनि बढी पारि श्रमिक बुझ्न सक्ने क्षमता देखिनु नेपाली फिल्म महिलाकेन्द्रित हुन थालेको पुष्टि हुनु हो।
कमेडी जनराका फिल्मले दर्शकलाई हलसम्म ओराले पनि अब्बल कथावस्तु र नारीकेन्द्रित फिल्मतिर दर्शकको रुचि बढ्न थालेको छ। योभन्दा अगाडिसम्म नायिका तथा महिला कलाकार जतिसुकै सक्षम भए पनि उनीहरूको भूमिका फिल्ममा अस्पष्ट हुन्थ्यो। नायिकालाई ग्ल्यामरको रूपमा दर्शाउनेबाहेक अन्य विकल्प सोचिँदैन थियो। तर समयसँगै चलचित्रकर्मीमा परिवर्तन देखिन थालेको छ।
गत वर्षको सबैभन्दा सफल फिल्मको निर्देशक महिला थिइन्। दीपा श्री निरौला निर्देशित ‘छक्कापञ्जा–३’ले अन्य सबै फिल्मलाई पछि पा¥यो। उनले वर्षौंदेखिको पुरुषको लिगेसी तोडेकी थिइन् भने वर्षको अन्त्यमा प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर–३’ले पनि बक्स अफिसमा चमत्कार देखायो। यो फिल्मकी निर्देशक पनि महिला नै थिइन्। झरना थापाको निर्देशनमा बनेको यो फिल्ममा उनकै छोरी सुहानाले देखाएको कामको निकै तारिफ भयो।
पहिलो नपाली फिल्म आमादेखि फिल्म ‘बुलबुल’ र ‘साइँली’सम्म आउँदा नेपाली चलचित्र उद्योगले नारीको कथा वाचनमा के कुरामा फड्को मारेको छ भन्ने प्रश्न भने पेचिलो हुन सक्छ। तर, वर्ष २०७६ का लागि पनि केही महिलाकेन्द्रित फिल्मका कथा चलचित्र विकास बोर्डमा दर्ता भएका छन्।