राजपाको तेस्रो वार्षिकोत्सव
काठमाडौं : मधेसवादी ६ ओटा पार्टी एकीकरण गरेर गठन भएको राष्ट्रिय जनता पार्टी नेपालले शनिबार तेस्रो वार्षिकोत्सव मनाएको छ।
तीन वर्ष अगाडि तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध ६ घटकले एकीकरण गर्दै गर्दै राजपा नेपाल भन्ने नयाँ दल गठन गरेका थिए।
राजपाले पार्टीे एकीकरणको मिती वैशाख ७ गतेलाई वार्षिकोत्सवको रुपमा मनाउन थालेको हो। राजपाले शनिबार काठमाडौंसहित मधेसका सबै जिल्लामा पार्टी स्थापना दिवसको उपलक्ष्यमा कार्यक्रम गरिरहेको छ।
काठमाडौंको कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा केन्द्रीय समितिले आयोजना गरेको भेटघाट तथा जलपान समारोहमा प्रमुख दलका नेता, नेपालस्थित कूटनीतिक नियोगका अधिकारीसँगै विभिन्न संघसस्थाको साथै नागरिक अगुवाको उपस्थिती रहेको छ।
काठमाडौं जस्तै मधेसका जिल्लामा राजपाको स्थानीय समितिले भेटघाट र जलपान कार्यक्रमहरु आयोजना गरिएको छ।
मधेस आन्दोलनसँगसँगै मधेसी पार्टी एकीकरण गरेर निर्वाचनमा संगै गएका थिए। प्रदेश नम्बर दुई र केन्द्रमा राजपा नेपाल दोस्रो र तेसो शक्ति छन्।
प्रदेश नम्बर दुईमा फोरम नेपालसंग मिलेर सरकार चलाइरहेको राजपा केन्द्र सरकारविरुद्ध पछिल्लो समयमा विरोध प्रर्दशन गर्दै आइरहेका छन्।