साहित्यकार बसन्तकुमार शर्म्माको निधन
काठमाडौं : साहित्यकार वसन्तकुमार शर्म्माको ९७ वर्षको उमेरमा निधन भएको छ। काठमाडौंको चाबहिलस्थित निवासमा शर्म्माको शनिबार दिउँसो २ बजे निधन भएको हो।
शर्म्माको शव साँझ ६ बजेसम्म पशुपति आर्यघाटमा श्रद्धाञ्जलीका लागि राखिने र त्यहीँ अन्तिम संस्कार गरिने उनका छोरा विनयकुमार शर्माले जानकारी दिए।
नेपालको सबैभन्दा ठूलो शब्दकोष ‘नेपाली शब्दसागर’ सहित दर्जनौँ पुस्तकका लेखक शर्म्माका श्रीमती, चार छोरा र तीन छोरी छन्।
उनको जन्म विसं १९७९ को चैतमा भएको थियो।
नेपाली सहित्यमा विशिष्ट योगदान पुर्याएका शर्माले लामो समय नेपाल भाषा प्रकाशिनी समिति र भाषानुवाद परिषद्मा काम गरेका थिए । अनुवादमा विशेष योगदान पुर्याएका शर्माले नै महाभारतको गद्य अनुवाद गरेका हुन् ।
नेपाली भाषा साहित्यमा विशिष्ट योगदान पुर्याएका शर्माको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । कलेज र विद्यालय स्थापनाको अभियानमा सहभागी भएका शर्मा नेपाल स्काउट र फुटबल संघका संस्थापक हुन् ।