भाषणमा समृद्धि, व्यवहारमा लुटतन्त्र : राणा
काठमाडौं : नेपाली कांग्रसका युवा नेता उदय शम्शेर राणाले सरकारले समृद्धिका कुरा गरेपनि व्यवहारमा लुटतन्त्रलाई प्रश्रय दिएको आरोप लगाएका छन्। शैलुङ गाउँपालिका दोलखा–काठमाडौं सम्पर्क समितिले शनिवार राजधानीमा आयोजना गरेको कार्यक्रममा नेता राणाले समृद्धिका कुरा गरेर नथाक्ने सरकारले भ्रष्टाचारलाई संस्थागत गरेको आरोप लगाए।
‘एक वर्षमै सरकारको वास्तविक अनुहार उदांगो भएको छ। प्रधानमन्त्री र मन्त्रीहरुको मुखमै समृद्धि शब्द झुण्डिएको छ। तर, सरकारले नै भ्रष्टाचारलाई संस्थागत गर्ने काम गरेको छ', पूर्व अर्थराज्यमन्त्री समेत रहेका नेता राणाले भने,‘सुनकाण्डदेखि बालुवाटार जग्गा प्रकरणसम्म सरकारकै संरक्षणमा अपराधीले छुट पाइरहेका छन्।’
सत्तारुढ दलका महासचिव नै सरकारी जग्गा हिनामिना प्रकरणमा मुछिदा पनि जिम्मेवारीबाट हटाउनुका साँटो सरकार बचाउमा लाग्नु दुर्भाग्य भएको उनले बताए। ‘पार्टीकै महासचिव सरकारी जग्गा व्यक्तिका नाममा गर्ने काममा संलग्न रहेको प्रमाणहरु सार्वजनिक भइसकेका छन्, तर उनलाई कारवाही गर्नु त कहाँ, सरकार नै उनी ठगिएको भनेर बचाउ गरिरहेको छ,’ उनले भने, ‘एकवर्षकै बीचमा एकपछि अर्का ठूला अनियमिताका घटना भएका छन्, तर खै कारवाही गरेको?’