गोर्खाली गाथा झल्काउन पार्क
इटहरी : बेलायती सेनामा रहेका बेला धरानका रमेश राई युद्धका लागि संसारका विभिन्न देश पुगे। जहाँ–जहाँ पुगे, त्यहाँ गोर्खालीको वीरताको गाथा देखे। ‘दार्जेलिङमा हाम्रो पूर्खाको नाममा धर्मशाला र स्मारक देखेँ। मलेसियामा गोर्खालीको चिहान सजाएर राखेको देखेँ’, उनले भने, ‘गोर्खाको नाममा त्यहाँ सडक पनि देखेँ।’ बेलायतमा पनि गोर्खाको शालिक देखेका उनले नेपालमा भने केही पाएनन्।
नेपालले गोर्खालीको सम्मानमा एउटा प्रतिमासम्म स्थापना गर्न नसकेपछि उनले अन्य पूर्वसैनिकसँग कुरा गरे। सबैको समर्थन जुटेपछि ‘गोर्खा स्मृति पार्क’ निर्माण गर्ने योजना बनेको हो। आफ्नो वीरताको कारण संसारभर नाम कमाएका गोर्खालीको सम्मानमा राज्यले केही नगरेपछि उनीहरु आफै आफ्नो इतिहास संरक्षण गर्न जुटेका हुन्। ‘न सरकारले केही गर्यो, न छोराछोरीले अब केही गर्छन् भन्ने आशा छ’, चन्द्रमाया लिम्बूले भनिन्, ‘त्यसैले इतिहास जोगाउन पार्क बनाउन थालेका हौं।’
धार्मिक तथा ऐतिहासिक रुपले सम्पन्न धरान शहर निर्माणमा भूपू लाहुरेको योगदान महत्वपुर्ण छ। सरकारभन्दा लाहुरेको बढी योगदानले गर्दा धरान व्यवस्थित र सुन्दर बनेको हो। त्यसैले पनि धरानका पूर्वगोर्खाली सेना मिलेर पार्क बनाउन जुटेका हुन्। धरानको भानुचौकदेखि करिब ९ किलोमिटर पश्चिम–उत्तरमा अवस्थित माछामारामा पार्क बन्दैछ। पार्कलाई बेलायती सेनामा काम गरेका हरेकका लागि तीर्थस्थल बनाउने प्रयास गरिएको छ। ‘यस प्रकारको पार्क आवश्यक थियो’, भीसी विजेता रामबहादुर बेघाले भने। पार्कका विषयमा बेलायती अधिकारीसम्म कुरा पुर्याएर सहयोगको लागि आग्रह गर्ने उनले प्रतिबद्धता जनाएका छन्।
पार्कमा गोर्खाली सेनाको प्रतिमा, बगैंचा निर्माण सम्पन्न भइसकेको छ। यस्तै भ्यु टावर, संग्रहालय, बालउद्यान, पिकनिक स्पट, सेमिनार हल बनाउने योजना छ। पार्कमा भूपूबेलायती सेनाले प्रयोग गरेका सामाग्री तथा पोशाक समेत राखिने छ। ‘कसैले आफ्नो दिवंगत भूपूबेलायती सैनिकको पोशाक दिनुहुन्छ भने राखने छौं’, भूपूगोर्खाली सैनिक गजेन्द्र ईश्बोले भने। यहाँ विश्वभर गोर्खालीलाई समाधिस्थ गरिएको स्थानबाट माटो ल्याएर राख्ने योजना छ। १३ जना भिक्टोरिया क्रस विजेताको मुर्ति राख्न पनि तयारी भइरहेको उनले जानकारी दिए।
पार्क नजिकै हिन्दु धर्मावलम्बीको पवित्रस्थल विष्णुपादुका मन्दिर छ। धरानका विभिन्न मठ, मन्दिर, गुम्बा पनि नजिकै पर्छ। त्यसैगरी केही मिनेटको दुरीमा सप्तकोशी नदी, चतरा र बराहक्षेत्र पुग्न सकिन्छ। पार्क यी सबैको बीचमा पर्ने भएकाले ऐतिहासिक महत्व र आकर्षण पाउने पार्क निर्माण समितिका अध्यक्ष हरिबहादुर लिम्बुको भनाइ छ। पार्क निर्माणमा व्यक्तिगत सहयोग संकलन गरिएको छ। स्थानीय र प्रदेश सरकारले सहयोग गरेको छैन। पार्क धरानको पर्यटकीय आकर्षण हुने भएकाले स्थानीय एवं प्रदेश सरकारले सहयोग गर्नुपर्ने समितिका कोषाध्यक्ष उमेशचन्द्र लिम्बुको माग छ।