तस्बिरमा नेपाल र जर्मनीको मित्रता

तस्बिरमा नेपाल र जर्मनीको मित्रता

काठमाडौं : सन् २००८ मा जर्मनीकी इनेस पहिलोपटक ट्रकिङ गर्न नेपाल आएकी थिइन्। त्यस क्रममा उनको भेट गोकर्ण राईसँग भयो। उनी इनेसका ट्रकिङ गाइड भए। खोटाङमा जन्मिएका गोकर्ण र इनेस प्रेममा परे र विवाह गरे। त्यसपछि इनेस पटकपटक नेपाल आइन्। आफ्ना श्रीमान् र नेपालको परिवेशसँग घुलमिल भइरहिन्। अहिले दुवैले आफ्नो जीवन नेपाल र जर्मनी दुवै देशमा बाँडेका छन्। नेपालमा ट्रकिङ एजेन्सी पनि खोलेका छन्। गोकर्ण र इनेस् भन्छन्, ‘नेपाल पर्यटकको ठूलो सम्भावना भएको देश हो। यसमा हाम्रो सानो योगदान पनि जोडिएको छ।’

यी जोडीको कथा यति बेला पुल्चोक इन्जिनियरिङ कलेजको प्रांगणमा पढ्न पाइन्छ। नेपाल र जर्मनीबीच कूटनीतिक सम्बन्ध गाँसिएको ६० वर्ष पूरा भएको अवसरमा दुई देशबीचको मित्रतालाई तस्बिर प्रदर्शनीबाट देखाइएको हो। मित्रता शीर्षक दिइएको उक्त फोटो प्रदर्शनीका सबै तस्बिर फोटो पत्रकार दीपक तोलांगेले खिचेका हुन्।

नेपालका लागि जर्मन दूत रोनाल्ड स्याफेरले नेपाल र जर्मनी आधिकारिक दूतहरूबाट भन्दा यहाँका विद्यार्थी, स्वयंसेवी, वैज्ञानिक, कलाकार, यात्री, सहयोगी र परिवारको नाताबाट जोडिएको छ। यीमध्ये हरेकसँग आफ्नै कथा र अनुभव भएको उनी बताउँछन्।

यस्तै कथा छ, नलिन र नेहाको पनि। यी दुई दिदीभाइ हुन्। यी दुईका आमा जर्मन र बुवा नेपाली रहेछन्। सन् १९९८ मा यी दिदीभाइका बुवाआमाको विवाह भएको थियो। हाल उनीहरू नौ वर्षदेखि नेपालमै बस्दै आएका छन्।

नेपालका मानिस र यहाँको वातावरण मन पर्ने भएकाले यी नेपालमै बसेको बताउँछन्। नेपाल र जर्मनीको नाता वैवाहिक सम्बन्धमा मात्र गाँसिएको छैन, शैक्षिक स्तरबाट पनि सम्बन्धहरू जोडिएका छन्। नेपालबाट धेरै नेपाली प्राविधिक ज्ञान सिक्न जर्मनी गएका छन्। तीमध्ये एक हुन्, रूपेश श्रेष्ठ। नेपालमा स्नातकसम्मको पढाइ सकाएर जर्मनीको कोलोनस्थित युनिभर्सिटी अफ अप्लाइड साइन्सबाट उनले स्नातकोत्तर गरे। डेढ वर्ष जर्मनी बस्दा उनले त्यहाँको भाषा, संस्कृति र मानिसलाई बुझ्ने मौका पाउने बताउँछन्। हाल उनी नेपालमा छन्। भन्छन्, ‘अहिले म नेपालमा भूकम्पपश्चात् पुनःनिर्माण परियोजनामा कार्यरत छु।’ उनी जर्मनी विचारहरूको भूमि भएको मान्दा रहेछन्।

अर्का विद्यार्थी समर्पण राई जर्मनीले प्रदूषण नियन्त्रणमा गरेको उपलब्धिलाई नेपालमा लागू गर्न चाहन्छन्। जर्मनीमा सौर्य, वायु र जैविक नवीकरणीय ऊर्जाहरूको प्रयोग गरेर वातावरण सफा राख्ने काम भइरहेको छ। समर्पण भन्छन्, ‘नेपालले पनि जर्मनीले जस्तै विद्युतीय सवारीसाधन प्रयोग गरेमा प्रदूषण कम गर्न सकिन्छ।’

नेपालस्थित जर्मन दूतावासकी सञ्चार, राजनीति र संस्कृति सचिव पाउला विर्नरका अनुसार यस किसिमको प्रदर्शनीले नेपाल र जर्मनीको मित्रतालाई प्रगाढ बनाउन थप मद्दत मिलेको छ। उनी भन्छिन्, ‘नेपाल र जर्मनीसँग जोडिएका व्यक्तिहरूको निजी अनुभवलाई तस्बिरमा समेट्ने कोसिस गरेका छौं।’

नेपालीहरू जर्मनी भन्नेबित्तिकै फुटबलसँग जोडिन पुग्छन् भने जर्मनीहरू नेपालको हिमाल, पहाड र यहाँको मानवीय सद्भावसँग जोडिन्छन्। यी सबैलाई समेटेर प्रदर्शनीमा जम्माजम्मी ३१ वटा फोटोबाट नेपाल–जर्मनी सम्बन्धलाई देखाउने कोसिस गरिएको छ। यिनमा जर्मनीका स्वयंसेवकदेखि लिएर नेपाल घुम्न आउने पर्यटकसम्म पर्छन् भने नेपालबाट पढ्नका लागि जर्मनी जाने विद्यार्थी बढी पर्छन्।

प्रदर्शनीमा नवीकरणीय ऊर्जा उत्पादनमा जर्मनीले विकसित गरिरहेको प्रविधि पनि देख्न पाइन्छ। नवीकरणीय ऊर्जा अहिले जर्मनीको अर्थव्यवस्थाको प्रेरक बनिरहेको छ। १२ अप्रिलबाट सुरु भएको प्रदर्शनी २६ अप्रिलसम्म सञ्चालन हुने छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.