भारत निकासी हुन लागेको १०० बोरा मरीच बरामद
राजविराज : कालो मरीच अवैध तरिकाले भारततर्फ निकासी गर्ने तस्कर सीमावर्ती क्षेत्रमा पुनः सल्बलाएका छन्।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित नेपाल–भारत सिमाको दशगजा क्षेत्रबाट दुई हजार पाँच सय किलो कालो मरीच बरामद भएपछि तस्करहरूले अवैध तरिकाले भारततर्फ निकासी गर्ने गरेको पुष्टि भएको छ।
ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरेको को.१च ९०३९ नम्बरको पिकअप भ्यानबाट २५ किलोका एक सय बोरा बरामद गरेको एसपी राजेन्द्र विष्टले जनाए।
भ्यानलाई रोकी चेकजाँच गर्दा चोरी निकासी गरी अवैध रुपमा भारत लैजाँदै गरेको कालो मरीचसहित चालक सुनसरी छिटाहा वडा नम्बर ६ बस्ने २८ वर्षीय सुन्दर सुतिहारलाई नियन्त्रणमा लिएको छ। एसपी विष्टका अनुसार बरामद मरीच र भ्यानसहित चालकलाई आबश्यक कारबाहीका लागि आइतबार तिलाठी कोइलाडीस्थित बेल्ही भन्सार कार्यालय बुझाइएको छ।
महशुल अन्तरले भियतनाम, इण्डोनेशिया, ब्राजिल, चीन, श्रीलङ्कालगायका देशबाट नेपाल भित्रिएको मरीच तस्करहरुले महँगो मूल्यमा बिक्री गर्न अवैध रुपमा भारत पठाउने गरेका छन्। नेपाली बजारसम्म ल्याउँदा किलोको ६०० रुपैयाँ पर्ने मरीच भारतीय बजारमा एक हजार रुपैयाँमा बिक्री हुने गरेको बताइएको छ।