बेथितिले खस्कियो चलचित्र

बेथितिले खस्कियो चलचित्र

काठमाडौं : पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा बेथिति मौलाएको छ। फिल्म निर्माता, वितरक, कलाकार, समीक्षकदेखि नीतिनिर्माण तहसम्मलाई बेथितिको जालोले घेरेको छ। फलस्वरूप २०७५ उद्योगका लागि सुखद बन्न सकेन। चलचित्र उद्योगको भविष्य उज्ज्वल बनाउन सबै मिलेर हातेमालो गर्नुपर्ने हो तर सरोकारवाला एकअर्कालाई दोषारोपण गर्नमै व्यस्त छन्।

यो वर्ष जम्मा एक सय सिनेमा बने। तिनमा ‘छक्कापञ्जा–३’ सबैभन्दा बढी कमाउने चलचित्रमा पर्छ। नौवटा फिल्मले मात्र लगानी सुरक्षित गरे भने बाँकी फिल्म पूर्ण रूपमा डुबेका छन्। एक त बजार सानो अर्कोतर्फ बर्सेनि आधा अर्ब लगानी डुब्दा यसको जिम्मेवारी कसले लिने ?       

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयका अनुसार चलचित्र क्षेत्रमा यति बेला समस्या नै समस्या छ। उनी भन्छन्, ‘यो क्षेत्रमा पारदर्शिता, स्पष्टता र इमानदारीको कमी छ।’ फिल्म निर्मातादेखि फिल्म समीक्षकसम्ममा यो समस्या भएको उनी बताउँछन्। सबै आआफ्नो क्षेत्रमा इमानदार नभएसम्म व्यथिति नहट्ने उनी बताउँछन्।

२०७५ मा बक्स अफिस लागू गरियो। तर, काठमाडौं उपत्यकाका लागि मात्र लागू भएको उक्त बक्स अफिसले रिपोर्ट सार्वजनिक गर्न सकेको छैन।

दुई नेपाली फिल्मलाई एकै दिन प्रदर्शनमा ल्याएर जुधाउनु, हलमा विदेशी फिल्म चल्दा नेपाली फिल्मले स्थान नपाउनु जस्ता समस्या नेपाली चलचित्र क्षेत्रले भोग्दै आएको छ। चलचित्र निर्माता र वितरकको मनोमानीले पनि उद्योग ग्रस्त छ। यसको समाधानतर्फ सरोकारवालाहरू नलाग्दा यसले बेथितिको रूप लिएको हो।

नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीका अनुसार लगानीकर्ता बजार अनुसन्धान नगरी यो क्षेत्रमा प्रवेश गर्दा समस्या झन् बल्झिएको बताउँछन्। उनी भन्छन्, ‘यति बेला नेपाली चलचित्रले दर्शकको रुचि बुझ्न सकेको छैन र बुझ्न चाहेको पनि छैन।’ तीन चारजनाले एउटा कोठाभित्र बसेर फिल्म कस्तो बनाउने भन्ने निर्णयमा पुग्दा राम्रो फिल्म बन्न नसकेको उनी बताउँछन्।

केही वर्षयता नेपाली चलचित्र क्षेत्रमा आधिकारिक सम्झौताबिना नै लगानी भित्रिएको छ। जब फिल्म डुब्छ तब मात्र ती लगानीकर्ताको होश खुल्ने गरेको अधिकारी बताउँछन्। भन्छन्, ‘सबैभन्दा पहिले फिल्म वितरकले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने देखिन्छ।’

चलचित्र विकास बोर्डको अध्यक्षतामा हालै निर्वाचित भएका केशव भट्टराईले नीतिगत रूपमा सुधार नगरिएसम्म अन्य विषय सुधार्न नसकिने बताएका छन्। ‘२०३६ सालमा बनेको चलचित्र ऐनबाट अब काम हुन सक्दैन’, उनले भने, ‘यसलाई परिमार्जन गर्न आवश्यक छ।’ अहिले चलचित्र ऐन परिमार्जन गर्न प्रयास गरिरहेको उनले बताए।

चलचित्र क्षेत्रमा मौलाएका बेथितिसँगै उद्योग धराशयी हुँदै गएको छ। प्रचारप्रसारमा गुटबन्दी हुँदा उद्योग धराशयी बन्दै गएको अधिकारीको ठम्याइ छ। भन्छन्, ‘हाम्रो चलचित्र क्षेत्र लगातार यसरी नै खस्किँदै गयो भने एक दिन पाकिस्तानको जस्तै हालत हुनेछ।’

सामाजिक सञ्जालमा कलाकार सस्तिँदा दर्शक ती कलाकारलाई हेर्न हलसम्म आउन छाडेको समेत उनले बताए। ‘कलाकारले आफ्नो महŒव बुझ्नुपर्छ। आफूलाई सस्तो बनाउनु हुँदैन’, उनले भने।

नेपाली चलचित्र उद्योगमा चलचित्रको धार कस्तो हुनुपर्छ भन्ने बहस चुलिँदै गएको छ। दर्शकले मन पराएका चलचित्र नै सफल चलचित्र हुन् भने मन नपराएका असफल। नेपालमा बर्सेनि १० वटाले मात्र आफ्नो लगानी उठाउँछन्। यो नेपालमा मात्र होइन, संसारभरकै चलचित्रको नियति हो। नेपालको सन्दर्भमा कुरा गर्दा पछिल्ला केही वर्ष यस्ता चलचित्र ब्लकबस्टरको सूचीमा छन्, जुन समीक्षकको नजरमा फेल खाए।

आखिर ‘लुट’, ‘छक्कापञ्जा’ जस्ता चलचित्र हेर्न दर्शक हलसम्म किन गए त ? यी फिल्मको कन्टेट राम्रो भएर हो या यी फिल्मबाट दर्शकले दिल खोलेर हाँस्न पाए ?        चलचित्र विश्लेषकहरूले दर्शकको चलचित्रप्रतिको बुझाइ नै विकसित हुन नसकेको बताउँदै आएका छन्। तर चलचित्र निर्देशक मनोज पण्डित भन्छन्, ‘नेपालमा अहिले चल्ने भनेकै लुट र छक्कापञ्जा जस्ता फिल्म हुन् किनकि देशमा लुटतन्त्र मौलाएको छ। हाम्रो समाज छक्कापञ्जा प्रवृत्तिबाट चलिरहेको छ।’ सामाजिक चरित्र नै चलचित्रको पर्दासम्म आएको उनी बताउँछन्।

सटिक विषयवस्तु उठान गरिएका चलचित्र नबनेका होइनन्। तर, राम्रा भनिएका चलचित्रले आफ्नो लगानी उठाउन सकेका छैनन्। नयाँ विषयवस्तु र राम्रा कथा वाचनका बीच ती चलचित्र हलमा कहिले लागे र कहिले उत्रिए अत्तोपत्तो हुन्न।

अधिकारी भन्छन्, ‘राम्रा भनिएका चलचित्रहरू डकुमेन्ट्री फिल्ममा मात्र सीमित छन्।’ ठूलो पर्दामा ती फिल्म आउँदा पनि डकुमेन्ट्रीभन्दा भिन्न नभएको उनी बताउँछन्।

पछिल्लो समय स्टार भनिएका कलाकारको फिल्मसमेत नचल्नुमा प्राविधिक पक्षको जथाभावी प्रयोगलाई लिन सकिन्छ। यसमा ‘क्याप्टेन’ र ‘ब्रेकअप’ जस्ता फिल्म उदाहरणका रूपमा आउँछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.