सुकेटार–काफ्लेपाटी सडक बनाउन केन्द्रलाई आग्रह
ताप्लेजुङ : जिल्ला समन्वय समिति प्रदेस १ महासंघले ताप्लेजुङको सुकेटारदेखि काफ्लेपार्टीसम्मको सडक कालोपत्रे गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन्। प्रसिद्ध तिर्थस्थल पाथीभरामा आइतबार सम्पन्न महासंघको सातौं बैठकले प्रदेश र स्थानीय तहबाट सम्भव नभएको ठहर गर्दै केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
सदरमुकाम फुङलिङमा बैठकको निर्णय सार्वजनिक गर्दै महासंघ अध्यक्ष तथा खोटाङ जिल्ला समन्वय समिति प्रमुख बवि चाम्लिङले बाह्रै महिना हिलाम्मे हुने उक्त सडकले पाथीभरा जाने यात्रुलाई सास्ती हुने गरेको बताए। १२ किलोमिटरको यो सडक स्तरोन्नती गर्न सरकारले ६ करोड रुपैंया यसअघि छुट्याइएको थियो। तर अझै काम भएको छैन ।
पाथीभरामा केवलकार निर्माणलाई गती दिन पनि महासंघले माग गरेको छ। ‘पाथीभरा नेपाल र भारतका मात्र नभई तेस्रो मुलुकका पर्यटकको रोजाईमा पर्न थालेको छ’, महासंघका प्रवक्ता तथा धनकुटाका जिसस प्रमुख टंक चौहानले भने, ‘धार्मिक पर्यटन प्रवद्र्धनका लागि केबुलकार छिटो बन्नुपर्छ ।’ ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथीभराको चुचुरोमा बसेको बैठकले पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पनि माग गर्ने निर्णय गरेको छ ।
राष्ट्रियगान गाएर सुरु भएको बैठक ४५ मिनेटमा सकिएको थियो। बैठकमा मोरङ, सुनसरी र ओखलढुँगा बाहेक प्रदेश एकका अन्य ११ जिल्लाका प्रमुख र उप–प्रमुख सहभागी रहेको ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले जानकारी दिए। सहभागी प्रमुख तथा उप्रमुखलाई पाथीभरा सद्धभाव दुत पनि बनाइएको छ। हेलिकप्टर दुर्घटनामा परि फागुन १५ गते निधन भएका मन्त्री स्व. रविन्द्र अधिकारीसहित सातै जनाप्रति बैठकमा एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।