इतिहासका पन्नामा सूर्यबहादुरको रंग
काठमाडौं : कलाकार सूर्यबहादुर चित्रकार उमेरले सत्तरी नाघिसके । कपाल सेतै फुलिसक्यो । लगातार हिँडडुल गर्नेे शक्ति छैन । तर पनि उनका हात लगातार चित्र कोर्न व्यस्त छन् । कहिले लोककथा त कहिले धार्मिक परम्परासँग जोडिएका चित्र कोर्ने गर्छन् उनी । समयसँगै खिइँदै गएको नेवारी इतिहासका सादा पन्नामा उनी वर्षौंदेखि रङ भर्दै छन् ।
विसं २००४ मा भक्तपुरको तचपालमा जन्मिएका सूर्यबहादुर आफ्नै पिता विष्णुबहादुरले बनाएका चित्रबाट प्रभावित थिए । नेवार समाजमा कामअनुसार जात छुट्ट्याइएको छ; जसमा कर्माचार्य भन्नेबित्तिकै पूजाआजा गर्ने, जोशी भन्नेबित्तिकै चिना हेर्ने काम । मल्लकाल, राणाकालमा चित्रकार जातिको काम नै चित्र कोर्ने हुन्थ्यो । उनीहरूको काम भनेको मठमन्दिरमा रङरोगन गर्नेदेखि लिएर देवीदेवताका अवतार बनाउने, थांका कोर्ने आदि हुन्थ्यो ।
अहिले पनि यही पेसालाई निरन्तरता दिने चित्रकार उपत्यकामा पाउन सकिन्छ । हाल एक सय ९५ परिवार चित्रकार भएको सूर्यबहादुर बताउँछन् । उनको पुख्र्यौली पेसा चित्र बनाउने नै थियो । त्यसमाथि उनका पिता विष्णुबहादुर चित्रकारहरूका नाइके थिए । १९८८ सालमा भक्तपुरको चित्रकलासम्बन्धी काम सम्हालेका उनका पिता निकै अब्बल कलाकार मानिन्थे ।
राजा महेन्द्रको राज्यारोहण भएपछि पचपन्नझ्याले दरबारमा रङ लगाउने जिम्मा उनैलाई दिइएको थियो । २०१६ सालमा गोल्डेन गेट, पाँचतले मन्दिर सजाउने जिम्मा पनि उनले लिएका थिए । चित्रकार भन्छन्, ‘बुवा काममा जाँदा म पनि सँगसँगै जान्थेँ र काम सिक्थेँ ।’ त्यति बेला उनी १२÷१३ वर्षका थिए ।
सुरुसुरुमा कमेरो पिस्ने काम गरेर उनले दिनको एक मोहर कमाउँथे । उनी विगत सम्झँदै बताउँछन्, ‘त्यति बेला अहिलेको जस्तो नोट थिएन । काम गरेअनुसार हप्ताको एकपटक मोहोर दिइन्थ्यो ।’
सूर्यबहादुरका बुवाले नेवार समुदायमा विभिन्न धार्मिक तथा सामाजिक क्रियाकलाप, पूजा, अनुष्ठान आदि कार्यमा प्रयोग हुने थुप्रै देवीदेवताका चित्र, मंगल चिह्नको नमुना तयार पारेका थिए । काठको ‘प्रिन्ट ब्लक’मा यी अझै सूर्यबहादुरसँग सुरक्षित छन् ।
भाइटीकामा प्रयोग हुने मण्डला, गाईजात्रा, लक्ष्मीपूजा, नागपञ्चमी आदिमा प्रयोग हुने चित्र समेटिएको छ । यसको प्रयोगबाट जति पनि प्रिन्ट निकाल्न पाइन्छ तर यसको प्रयोग समयसँगै घट्दै गएको सूर्यबहादुर बताउँछन् । ‘अहिले सबै बाहिर बजारका सामान प्रयोग हुँदा मौलिक चित्रको प्रयोग घटेको छ’, उनी निराश हुँदै भन्छन् । मौलिक चित्र बनाएर गुजारा गर्ने अवस्था बिल्कुल नभएको उनी थप्छन् ।
बुवाबाट चित्रकलाको सबै ज्ञान प्राप्त गरेका सूर्यबहादुर सप्ताह तथा जंको (भीमरथारोहण)मा प्रयोग हुने भाँडाकुँडामा चित्र कोर्न सक्षम छन् । उनी नेवार बौद्ध सम्प्रदायका दीक्षा प्राप्त गुरु (गुर्जु) हरूको देहान्त हुँदा मृत्यु संस्कारमा प्रयुक्त हुने त्रिरत्नको चित्र अंकित माटोका भाँडामा बनाइने चित्र शृंखला, दस दिक्पाल अंकित ध्वजापताका तथा अष्ट मंगल चिह्न अंकित चित्राकृति बनाउन पनि सक्छन् ।
सप्ताह लगाउँदा प्रयोग गरिने दस दिक्पालसहित भगवान् विष्णुको चित्र बनाउनुका साथै अष्टमंगल चिह्न अंकित स्वर्ण कलश पनि बनाउँछन् सूर्यबहादुर ।
सामान्यतया नेवारी संस्कारमा प्रयोग हुने चित्रकला विरलै देख्न पाइन्छ । तर, सूर्यबहादुरसँग भने ती धार्मिक चित्रकलाको भण्डार नै छ । तत्कालीन समयमा चित्रकला अध्ययन गर्ने कुनै पाठशाला थिएन । तर भक्तपुर, धुलिखेल एवं बनेपा आदि क्षेत्रमा मनाइने सांस्कृतिक, धार्मिक तथा कर्मकाण्डमा प्रयोग गरिने चित्रकलामा सूर्यबहादुरको परिवार लाग्ने गथ्र्यो । सूर्यबहादुर २०२२ सालमा एसएलसी पास गरेसँगै चित्रकलामा पूर्ण रूपमा लागेका हुन् ।
उनले २०२६ सालमा केही महिना नारायणहिटी राजदरबारमा कलाकारका हैसियतले काम गरे । उनले गरेका महŒवपूर्ण काममा तत्कालीन श्री ५ को सरकारले भक्तपुरका सबै सरकारी तथा सांस्कृतिक चित्र बनाउने जिम्मा दिए ।
यस क्रममा उनले नवदुर्गा गणनाच तथा मोहिनी नाचमा आवश्यक पर्ने ख्वापा (मुखुण्डो) बनाउने, भक्तपुरमा मनाइने सम्पूर्ण सांस्कृतिक तथा धार्मिक मेलापर्वमा चाहिने चित्र सिर्जना गरे । यो जिम्मेवारी उनले २०२६ देखि २०३९ सालसम्म निर्वाह गरे ।
परम्परागत तथा धार्मिक चित्र बनाउन पारंगत उनी २०३६ देखि २०४१ सालसम्म भक्तपुर विकास परियोजनाअन्तर्गत थान्का पेन्टिङ कार्यशालामा समेत सक्रिय थिए । उनीसँग परम्परागत रूपमा प्रयोग हुँदै आएका खनिज रङ छन् । त्यसलाई कुट्ने ढुंगाका सिलोट छन् । चित्रमा रङ भर्न उनीसँग आफैंले बनाएको बाबियोको कुची छ । पेन्टिङ गर्न नम्बरअनुसारका ह्यान्ड मेड ब्रस बनाएका छन् ।
सूर्यबहादुरले नेवारी परम्परा र संस्कृतिलाई राम्ररी बुझेका छन् । उनी महाभारत कथा, नमोबुद्ध कथा, शिव पार्वतीको विवाहलगायत इतिहासका मिथक भनाइलाई आफ्नो चित्रबाट बुझाउने क्षमता राख्छन् ।
उनीसँग भएको ज्ञानबाट आजका पुस्ताले भरपूर फाइदा उठाउनुपर्ने देखिन्छ । तर, सीप हस्तान्तरणको प्रक्रियामा ध्यान नदिँदा कतिपय सांस्कृतिक चित्रकलाको ज्ञान उनीसँग मात्र सीमित रहने देखिएको छ ।