किर्ते आरोपमा राजपा नेता पक्राउ

किर्ते आरोपमा राजपा नेता पक्राउ

राजविरज : किर्ते आरोपमा राजपाका केन्द्रीय सदस्यद्वय बिपी यादव र हरीनारायण मण्डललाई जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहिबार गिरफ्तार गरेको छ । सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता र उपभोक्ता समितिसमेत किर्ते खडा गरेका केन्द्रीय सदस्यद्वय यादव र मण्डललाई २० दिनको सुक्ष्म अनुसन्धानपछि पर्याप्त प्रमाणका आधारमा पक्राउ गरी थप अनुसन्धान अघि बढाएको एसपी राजेन्द्र विष्टले दावी गरेका छन् ।

प्रहरीले आरोपितको घर छापा मार्नुका साथै पाँचजना सम्बन्धित व्यक्तिसँग लिखित वयान पनि लिएको छ । यादव र मण्डलकै योजनामा प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ स्थित सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रुपैयाँ निकाल्न कागज, छाप तथा नागरिकता किर्ते गरी उपभोक्ता समितिसमेत किर्ते खडा गरिएको प्रहरीको दावी छ ।

अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्रकुमार यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरी पुर्वाधार विकास सम्पर्क ईकाई कार्यालय राजविराजसँग सडक मर्मत निर्माणको योजना सम्झौता गरिएको प्रहरीले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव तथा वडाध्यक्षले समेत आफ्नो किर्ते हस्ताक्षर गरी वडामै नभएका किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेको बताएका छन् ।

आरोपीलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगिँदै ।

उपभोक्ता समितिका लागि पेश गरिएका नागरिकताका प्रतिलिपीमा नाम परिवर्तन गरिएको छ । उपभोक्ता समितिको अध्यक्षमा सुरेन्द्रकुमार मण्डल भनी राखिएको नागरिकता राजविराज ६ का बिरेन्द्रकुमार मण्डलको रहेको खुलेको छ । मण्डललगायत फरार छन् । किर्ते प्रकरणमा भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास डिभिजन कार्यालय सिरहा र त्यसअन्तर्गतको सम्पर्क इकाई कार्यालय राजविराजमा कार्यरत केही कर्मचारीको मिलेमतो हुन सक्ने कोणबाट समेत छानबिन सुरु गरिएको छ ।

छिन्नमस्ता गाउँपालिका–२ मोहनपुर घर भई राजविराज–६ डेरा गरी बस्ने ५२ वर्षीय बीपी यादव भनिने विश्वनाथप्रसाद यादव पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सभासद् थिए । कुटनीतिक राहदानी दुरुपयोग काण्डमा समेत मुछिएका उनले २०६५ असोज २७ गते इटालीमा आयोजित सम्मेलनमा भाग लिन र २०६७ असोज १८ गते अस्ट्रेलिया र क्यानडा जान रातो पासपोर्ट लिएका थिए । यादव र नेपाल जनता दलकी सभासद गायत्री साहको राहदानीमा अस्टे«लिया जाँदै गरेका पृथ्वी छन्त्याल र सीता साहलाई अवुधाबी विमानस्थलबाट फिर्ता पठाएपछि उनीहरू अध्यायगमन कर्मचारीको सहयोगमा त्रिभुवन विमानस्थलबाट बाहिरिएका थिए ।

पक्राउ परेका राजपाका अर्का केन्द्रीय सदस्य राजगढ गाउँपालिका–३ नर्घोका ४० वर्षीय मण्डल भने तत्कालिन सदभावना पार्टीका तर्फबाट स्थानीय शान्ति समिति सप्तरीका संयोजक थिए । किर्ते उपभोक्ता समिति काण्डमा पक्राउ परेका यादव र मण्डललाई प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रावधानविपरीत कोसी पश्चिमी नहरअन्तर्गत सप्तरीको विष्णुपुर चोकदेखि कनकटा–फकिरा–कुडनमा–राजगढको नहर चोकसम्म नहरमा र मुतनी नदीमा ग्राभेल हाल्न समेत २५÷२५ लाख रुपैयाँ बजेट दिइएको खुलेको छ ।

प्रदेश सांसदको सिफारिसमा बजेट विनियोजन गरी प्रदेश सरकारको रातो किताबमा योजना उल्लेख रहेपनि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलसित राम्रो सम्बन्ध बनाएका यादव र मण्डलले गोप्य रूपमा किर्ते उपभोक्ता समिति गठन गरी काम समेत सुरु गरेका ती योजनाको काम पनि अहिले रोकिएको छ ।

राजपाद्वारा जिप्रका सप्तरी घेराउ

‘भ्रष्टाचारी, कालोबजारी अन्त्य गर’ लगायतका नौ बुँदे मागसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको राजपा नेपाल किर्ते मुद्दामा पक्राउ परेका आफ्ना दुई नेताको बचाउ गर्दै आइतबार डेलिगेशन गएको छ । राजपा सप्तरीको अध्यक्ष मण्डलका संयोजक जिवछ यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय डेलिगेसन गएका राजपा सप्तरीका नेता तथा कार्यकताले आफ्ना दुई नेतालाई फसाउन खोजिएको र कर्मचारीलाई जोगाउन खोजेको भन्दै आक्रोश व्यक्त गरे ।

सरकारी छाप किर्ते अभियोगमा प्रहरीले राजपाका केन्द्रीय सदस्यद्वय बीपी यादव र हरीनारायण मण्डललाई फसाउन खोजेको भन्दै सीडीओ सुरेन्द्र पौडेलसमक्ष दोषी कर्मचारीलाई अनुसन्धानको दायरामा नल्याउनुले थप आंशका उब्जिएको गुनासो गरे । अध्यक्ष मण्डलका सदस्य सुनीलकुमार झाले भने, ‘पार्टी र नेताको मानमर्दन गर्ने ढंगले भन्दा पहिले पार्टीसँग अन्तरक्रिया गरेर कारवाही बढाएको भए सत्यतथ्य खोजीमा सहयोग पुग्ने थियो तर दुबै नेतालाई पक्राउ, उजुरी दर्ता र म्याद थप एकै दिन हतारमा गर्नुले शंका उब्जिएको छ ।’

घटनामा सबभन्दा बढी दोषी रहेका पूर्वाधार विकास डिभिजन कार्यालयका प्रमुख डीई राजकुमार गोइतलाई कारवाही गर्न डेलिगेसनका प्रतिनिधीले माग गरेका छन् । डेलिगशनमा केन्द्रीय सदस्य बिशेश्वर रजक र सुरेन्द्र यादवसहित अध्यक्ष मण्डलका सदस्य सहभागी थिए । सीडीओ सुरेन्द्र पौडेलले कसैप्रति आग्रह, पूर्वाग्रह नराखी अनुसन्धानमा दोषी जो सुकै देखिए पनि कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.