कांग्रेस कमजोर देख्नु भ्रम मात्रै : देउवा
भद्रपुर : पञ्चायतमा नभएका गतिविधि ओली सरकारले गरेको भन्दै नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन्। नेपाली कांग्रेस ५ नम्बर क्षेत्रीय समितिको नव निर्मित भवन उद्घाटनका लागि झापा आएका देउवाले चन्द्रगढी विमानस्थलमा पत्रकारसँगको छलफलमा उक्त कुरा बताएका हुन्।
प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले सरकारलाई अधिनायकवादतर्फ उन्मुख भइरहेको भनेर केको आधारमा भनिएको हो ? भन्ने पत्रकारको प्रश्नमा देउवाले भने, 'एकातिर सरकारले प्रेसमाथि अंकुश लगाउने खालको विधयेक ल्याउँदै छ। प्रेसको कुनै पनि अंगमा आक्रमण गर्नु नै सरकारको अधिनायकबादतर्फ उन्मुख हुने संकेत हो।'
देउवाले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक हुन् तर यिनै कुरामा सरकार अंकुश लगाउनमा केन्द्रित भएको दावी गरे। 'सरकारले आफ्नै सुरक्षा परिषद्, राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभागलगायतलाई विश्वास नगरी सेना परिचालन आफैं गर्ने भन्ने कुरा ल्याउँदै छ।सरकारले अहिले आफ्नै मान्छेलाई विश्वास गर्दैनन्,' देउवाले भने,' प्रधानमन्त्री केपी शर्मा ओली आफू शक्तिशाली हुन खोज्नु नै अर्को अधिनायकवाद हो।'
ललिता निवासलगायत सरकारी जग्गा अधिग्रहण गरेको विषयमा बोल्दै देउवाले भने,' अहिले अधिग्रहण गरिएको भनिएका जग्गा सुवर्ण शमशेरको जग्गा हो।उनको श्रीमतीको नाम ललिता हो। श्रीमतीको नाममा राखिएका जग्गा हुन् ती। अहिले बालुवाटार, सभामुखको कार्यालय र प्रधानन्यायधिसको कार्यालय भएका लगायतका जग्गा पनि सुर्वण शमशेरको नाममा छन् । यदि ती जग्गा फिर्ता हुने हो भने जग्गाको हक सुवर्ण शमशेरका छोरा नाति जिउँदै छन् उनीहरुले पाउनुपर्छ अरु कसैको अधिकार छैन।'
सरकारले कांगेसलाई कमजोर प्रतिपक्ष भनेर आरोप लगाएको माथि बोल्दै देउवाले प्रजातन्त्रमा प्रतिपक्ष सधैं बलियो नै हुँदै आएको छ। कमजोर देख्नु सरकारको भ्रम हो भनि उल्लेख गरे। नजिकिदै गरेको कांग्रेसको महाअधिवेसनको बारेमा बोल्दै देउवाले सहमतिअनुसार अगाडी बढ्ने कुरामा पार्टीभित्र छलफल भइरहेको बताए।