सामाजिक सञ्जालबाट ठगी गर्ने तीन विदेशी पक्राउ
काठमाडौं : सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप, भाइबर र इमोमा ‘तपाइँलाई चिठ्ठा पर्यो’ भन्दै ठगी गर्ने तीन विदेशी पक्राउ परेका छन् ।
सात नेपालीलाई नाइजेरियन, चिनियाँ र भारतीय नागरिकले ४० लाख ३९ हाजर चार सय १९ रुपैंया ठगी गरेको प्रहरीले जनाएको छ। पीडित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पुगेर आफू ठगीएको उजुरी गरेपछि सीआईबीले विस्तृत अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा ठगीमा नाइजेरियन, चिनियाँ र भारतीय नागरिक रहेको खुलेको हो । भारत मद्रासी कोलोनी सेक्टर २१ पंञ्जकुला हरियाना भारत घर भई काठमाडांैको अनमोल गेष्ट हाउसमा काम गर्ने अमितकुमार सुरुमा पक्राउ परेका थिए। अमितकै बयानमा ठमेल सातघुम्तीस्थित सिएसफसी चाईनिज रेष्टुरेन्टमा काम गर्ने चिनियाँ नागरिक वाङ होङजियालाई सीआईबीले पक्राउ गरेको हो।
सीआइबीका प्रवक्ता एसपी सुदिप गिरीका अनुसार यो गिरोहले पीडितलाई चिठ्ठाका नाममा एनआईसी एसिया, हिमालयन र विओकेएल बैंकमा पैसा जम्मा गर्न लगाएका थिए।
पीडितहरुले भारतीय नागरिक अमितको खातामा पैसा जम्मा गर्दै आएका थिए। अमितको खातामा पैसा जम्मा भएपछि उनीहरुले बाँडफाड गरेर लिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पीडितहरुलाई भने नाइजेरियन नागरिकले म्यासेजमा चिठ्ठा परेको सन्देश पठाउँथे। पैसा जम्मा गर्न अमितको खातानम्बर समेत नाइजेरियनले पठाउँदै आएको सीआईबीको अनुसन्धानबाट खुलेको छ।
‘हामीलाई अहिलेसम्म साता नेपालीले ठगिएको उजुरी दिनुभएको छ। हामी थप अनुसन्धान गर्दैर्छौं,‘ एसपी गिरीले भने,‘ नाइजेरियन फरार छन्। हामीले खोजी गरिरहेका छौं।’
गिरीले चिठ्ठाका नाममा विभिन्न ठगका गिरोहले सन्देश पठाउने भएकाले त्यसमा लोभिएर पैसा जम्मा नगर्न गिरीले सर्वसाधरणसँग अनुरोध गरेका छन्।