नेपालीको परिचय बदल्ने काम गर्छौ : प्रधानमन्त्री
बनेपा : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको परिचय बदल्ने समय आएको बताएका छन्। सरकार नेपालीको परिचय बदल्न लागि परेको उनको भनाइ छ।
मंगलबार काभ्रेको धुलिखेलमा सञ्जीवनी नमुना विद्यालयको भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘निराक्षर गरिबी र विदेशमा तल्लो स्तरका काम गर्ने परिचय फेरिनेछ’, उनले थपे, ‘अब नेपालीले परिचय बदल्छ। विदेश गए विज्ञका रुपमा पढाउन सिकाउन जान्छन्, काम गर्न गए सम्मानजनक कामका लागि जानेछन्।’
प्रधानमन्त्री ओलीले सरकारले केही वर्षमै गरिबी अशिक्षा बेरोजगारी समस्याको समधान गर्ने बताए। ‘सरकार नेपालीको परिचय बदल्ने गरी काम गरिरहेको छ’, उनले थपे ‘गुणस्तरीय, नैतिक र रोजगारी मुलक शिक्षाको माध्यमबाट नेपालीको क्षमता विकास र परिवर्तन गर्नेछौँ।’
प्रधामन्त्री ओलीले चार वर्ष अघि भूकम्पका कारण नष्ट भएका संरचना एक वर्षभित्र पुनःनिर्माण हुने बताए।
‘धरहरा, रानीपोखरी केही राजमार्ग र केही महत्वपूर्ण संरचना बाहेक अन्यको हामी चाँडै पुनःनिमार्ण गछाँै,’ उनले भने।
ओलीले घुमाउरो भाषामा कांग्रेसको सरकार भएको समय पुनःनिर्माणले गति नलिएको बताउँदै आफ्नो सरकार आएसँगै पुनःनिर्माणले गति लिएको बताए।
प्रधानमन्त्री ओलीले वर्तमान समयमा निजी विद्यालयले गुणस्तरीय शिक्षाका नाममा चर्को शुल्क लिएको बताउँदै सामुदायिक विद्यालयको गुणस्तरीयता बढाउन लाग्नुपर्नेमा जोडदिए।
उनले सामुदायिक विद्यालयको भौतिक संरचना भन्दा पनि गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा भएको भर्ना अभियानबाट विद्यालय बाहिर रहेका बालबालिका ल्याएको बताउँदै, यसलाई निरन्तरता दिने बताए।
उनले शिक्षक संघ, संगठनका नाममा शिक्षामा भइरहेको विकृती चाँडै नै सरकारले हल गर्न लागि परेको बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २० महिना भित्रमा विद्यालय पुननिर्माण सक्ने दाबी गरे।
उनले १ हजार २ किलोमिटर भूकम्पले भत्किएका सडक पुननिर्माण प्राधिकरणले निर्माण गरिरहेको जानकारी दिए। कार्यक्रममा धुलिखेल नगरपालिका प्रमुख अशोककुमार ब्याञ्जूले देश कै नमुना विद्यालय बनाउन लागि पर्ने बताए।
कार्यक्रममा भूकम्पबाट क्षति भएका खोपासी, ढुंर्खक, च्याम्राङबेशी मिल्चे बोरङ र तेलकोट भटे्डाँडा कात्तिके भञ्जाङ्ग सडक भक्तपुरको तीन नम्बर प्रदेश पूर्वधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको थियो।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाईले निर्माण गरेको सञ्जीवनी नमुना विद्यालय ३६ कक्षाकोठा रहेका छन्। ११ करोड २४ लाखमा निर्माण सम्पन्न भएको विद्यालयमा छात्राबास, लाइब्रेरी, कम्प्युटर ल्याब, विज्ञान ल्याब, स्टोर, किचेनसहितको रहेको छ। विद्यालयमा सात सय २७ विद्यार्थी अट्ने क्षमता रहेको छ।