स्वरोजगार कोषका स्वयंसेवक सहित दुई पक्राउ
इलाम : इलाममा युवा स्वरोजगार कोषका स्वयंसेवक सहित दुईजना घुस लिँदालिँदै पक्राउ परेक छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले राहदानीको प्रतिलिपि निकाल्ने क्रममा ६ हजार रुपैयाँ घुस सहित युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्य र जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद बिसीलाई पक्राउ गरेको हो ।
दुई वर्ष अघिदेखि युवा स्वरोजगार कोषमा कार्यरत आचार्यले सेवाग्राहीसँग १० हजार लाग्ने राहदानीको १६ हजार लिएको प्रशासन स्रोतले जनाएको छ । उनले बाटोमै सेवाग्राहीसँग सो रकम लिएको जिल्ला प्रशासनको दावी छ ।
आचार्यले युवा स्वरोजगार सचिवालयबाट तलव बुझ्ने गरेका थिए । उनी आफ्नो कर्मचारी नरहेको प्रशासन स्रोतको दावी छ । पक्राउ परेका प्रशासनका कर्मचारी बिसीले भने १० हजारको बिल काटेर रकम लिएको बताइएको छ ।