उठेन बुङ्मती
काठमाडौं : २०७२ वैशाख १२ को भूकम्पले बुङ्मतीका अधिकांश घर भत्किए। सरकारले सोही वर्ष बुङ्मतीलाई सम्पदा बस्ती घोषणा ग¥यो। निजी घर पनि पौराणिक शैलीमा निर्माण गर्नुपर्नेलगायत मापदण्ड तोकिदियो। तर भूकम्प गएको ४ वर्ष वितिसक्दा पनि यहाँको स्वरुप बदलिएको छैन। भूकम्पपछि स्थानीय अझै टहरामा छन्। बस्ती पुनर्निर्माणमा सरकारले चासो नदिँदा बुङ्मती थलिएको छ।
०७२ माघ २ गते प्रधानमन्त्री केपी ओलीले सम्पदा बस्ती बनाउन बुङ्मतीमा सिलान्यास गरेका थिए। युएन ह्याबिट्याटले निर्माण गरेको गुरुयोजनाको नक्सा अनावरण गर्दै ओलीले भनेका थिए, ‘अब बुङ्मतीको स्वरुप फेरिने छ।’ त्यतिबेला स्थानीयले बुङ्मतीको कायापलट हुने अपेक्षा गरेका थिए तर त्यस्तो भएन। सम्पदा बस्तीका लागि भन्दै सरकारले बुङ्मतीका ऐतिहासिक मठमन्दिर, पाटिपौवा, ढुंगेधारा निर्माणमा १४ करोड रुपैयाँ विनियोजन गरिसकेको ललितपुर महानगर–२२ का वडाध्यक्ष अम्विरराज शाक्यले बताए। तर स्थानीयको निजी आवास निर्माणमा सरकारबाट कुनै अनुदान नआएको उनले बताए। ‘बुङ्मतीका भुकम्प पीडितले सरकारले दिएको ३ लाख अनुदानबाटै घर बनाउनु पर्ने भएको छ’, उनले भने।
अधिकांश स्थानीयसँग नयाँ घर बनाउन न पुर्खौली सम्पती छ न त पैसा नै। कोटा टोलकी बुद्धलक्ष्मी माली अझै परिवारसँगै टहरामै बस्दै छिन्। मापदण्डअनुसार घर बनाउन नसक्दा अनुदानमा आएको ३ लाख रुपैयाँ समेत उनको परिवारले बुझेको छैन। भन्छिन, ‘सरकारले दिएको पहिलो किस्ताबाट घरको जग हाल्न पनि पुग्दैन। घर कसरी बनाउनु।’
स्थानीय गगांलाल तुलाधरको समस्या पनि उस्तै छ। भन्छन्, ‘सम्पदा बस्ती घोषणा गरेर सरकारले स्थानीयलाई आर्थिक भार मात्र थोपरिदिएको छ।’
बस्ती बनाउन सरकारले कुनै पहल नगरेको तुलाधरको भनाइ छ। वडाध्यक्ष शाक्यले निजी निवासका लागि रकम विनियोजन गर्न नसके पनि स्थानीयलाई सहुलियत दरमा इट्टा, ढुँगा, रोडा तथा बालुवा उपलब्ध गराउने व्यवस्था मिलाएको बताए। ४ वर्षदेखि कप्टेरोको टहरामा बस्दै आएकी लक्ष्मी मालीको पनि घर बनेको छैन। चारजनाको परिवार त्यही टहरामा गुजारा चलाउँदै आएका छन्। अध्यक्ष शाक्यका अनुसार घर बनाउँदा पुरानै शैलीमा बनाउनु पर्ने, बाहिरबाट कंक्रिट नदेखिने गरी इट्टा लगाउनु पर्ने, काठको झ्याल ढोका प्रयोग गर्नुपर्ने प्रावधान बनाइएको छ। घर ३५ फिटभन्दा माथि बनाउन नपाइने मापदण्ड पनि तोकिएको छ।
मापदण्डअनुसार घर बनाउन खर्चिलो भएपछि स्थानीयले नयाँ घर बनाउन नआँटेको शाक्यले बताए। सम्पदा बस्तीमा बनेका घर मापदण्ड अनुसार बनाइए ५० हजार पुरस्कार व्यवस्था गरिएको पनि उनले बताए। बुङ्मतीमा एक हजार तीन सय ४ घरधुरी छन्। तीमध्ये भूकम्पबाट ७ सय ४६ घर पूर्णरुपमा क्षति भएको थियो भने ३ सय १३ घरमा आंशिक क्षति पुगेको थियो। भूकम्पबाट ६ जनाको मृत्यु भएको उक्त क्षत्रमा ५२ जना घाइते भएका थिए। चारवर्षको अवधीमा २५ देखि ३० प्रतिशत ात्र निजी निवास बनेका छन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पले क्षति पु¥याएका सम्पदा बस्ती अध्ययन गर्न ०७५ फागुनमा ३० करोड रुपैयाँ निकासा गरेको थियो। प्राधिकरणले काठमाडौं उपत्यकाभित्र खोकना (ललितपुर), बुङ्मती (ललितपुर) र साँखु (काठमाडौं) लाई सम्पदा बस्ती बनाउने निर्णय गरेको थियो भने उपत्यका बाहिर नुवाकोटको साततले दरबार स्क्वायर, गोरखाको गोरखा दरबार स्क्वायर तथा दोलखाको दोलखा बजारलाई यस योजनामा समेटेको छ।
परम्परागत सम्पदा बस्तीका मठमन्दिर, पाटीपौवा, धारा, स्मारकको संरचना पुनर्निर्माण गर्न प्राधिकरणबाट बजेट विनियोजन हुँदै आएको छ। जसमा बुङ्मतीका लागि ०७५÷७६ मा ५ करोड छुट्याएको थियो। उक्त रकम महानगरले मछिन्द्रनाथ मन्दिर परिसरमा रहेको भैरव, मनकामना भवानी मन्दिर बनाउन खर्चेको छ। सो रकम युरोपियन युनियनको स्वीज एशिया प्रोजेक्टबाट प्राप्त भएको हो। अर्को आर्थिक वर्षमा बुङ्मतीका लागि प्राधिकरणले १५ करोड खर्चिने भएको छ। बुङ्मतीलाई सम्पदा बस्तीका रुपमा विकास गरी पर्यटन प्रवद्धन गर्ने सरकारको लक्ष्य छ।