पुनर्निर्माणको अन्तिम चरणमा सिन्धुपाल्चोक

पुनर्निर्माणको अन्तिम चरणमा सिन्धुपाल्चोक

सिन्धुपाल्चोक : चौंरी डुलाउँदै खर्क चाहार्ने जिल्लाको अन्तिम बस्ती हिमाली गाउँ तेम्बाथानका जाङ्बु शेर्पाले गएको हिउँदमा आफ्नो घर ठड्याए। आफू गोठ र खर्क चहार्दै हिँड्ने भए पनि सुरक्षित घरमा परिवार छाड्न सकेकोमा उनी ढुक्क छन्।

पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ बाँसखर्कका वाङ्दी दोङले गत महिना मात्र आफ्नो घर निर्माण सकेर अन्तिम किस्ता भुक्तानी लिए। केही ऋण लिएर सरकारले अनुदानबापत दिएको पैसा र पर्म पालो गरेर घर ठड्याएका दोङ भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकेकोमा सन्तुष्ट छन्।

यी जिल्लाका प्रतिनिधि पात्र हुन्। २०७२ सालको भूकम्पले सर्वाधिक मानवीय र भौतिक क्षति पुगेको सिन्धुपाल्चोक पुनर्निर्माणको अन्तिम चरणमा छ। २०७३ साल वैशाख १२ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले सदरमुकाम चौताराको सर्वे तामाङको घर शिलान्यास गरेर सुरु भएको निजी आवास पुनर्निर्माणले फड्को मार्दै पछिल्लो तीन वर्षमा ७६ प्रतिशतभन्दा बढी लाभग्राही छानोमुनि बस्न थालिसकेका छन्। ‘भूकम्पले तहसनहस भएको सिन्धुपाल्चोक तँग्रिन धेरै वर्ष कुर्नुपर्छ जस्तो लागेको थियो, तर पछिल्लो प्रगति हेर्दा सन्तोषजनक देखिएको छ’, सामाजिक अभियन्ता सोम सापकोटा भन्छन्, ‘पुनर्निर्माणले राम्रै फड्को मारेको छ।’

तीन हजार पाँच सय ७० जनाले ज्यान गुमाएको सिन्धुपाल्चोकका ९५ प्रतिशत बढी निजी आवास पूर्ण क्षति भएको थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार ८७ हजार आठ सय २८ लाभग्राही सूचीमा छन्। यीमध्ये ६६ हजार पाँच सय २७ जनाले सरकारले उपलब्ध गराउने तेस्रो किस्ता अनुदान लिइसकेका छन्। ‘तेस्रो किस्ता अनुदान पाउने सबैले घर निर्माण सम्पन्न गरेर छानामुनि बसिसकेका छन्’, प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनका आयोजना प्रमुख सन्तोषकुमार निरौला भन्छन्, ‘निजी आवास पुनर्निर्माणमा सन्तोषजनक प्रगति छ।’ निरौलाका अनुसार ८२ हजार ६ सय १५ लाभग्राहीले दोस्रो किस्ता अनुदान लिइसकेका छन्। घर निर्माण सुरु गरेर डीपीसी सम्पन्न गरेपछि मात्र दोस्रो किस्ताका लागि आवेदन दिन पाउने प्रावधान छ। प्राधिकरणले तयार गरेको लाभग्राही सूचीलाई आधार मान्दा पाँच हजार एक सय १३ घर मात्र निर्माण सुरु हुन बाँकी छ। आफ्नो नाम लाभग्राहीमा नपरेको भनेर गुनासो दर्ता गर्नेहरुको सम्बोधन हुन ढिला भएकाले केही घर बन्न सुरु नभएको निरौलाले बताए। निरौलाका अनुसार केही लाभग्राहीको नाम अघिल्लो महिना मात्र सूचीमा समावेश भएको छ।

भूकम्पपछि जिल्लाका गाउँमा घर मात्रै पुनर्निर्माण भएका छैनन्। घरसँगै सडक, खानेपानी, विद्युत्लगायतका पूर्वाधार पनि बनेका छन्। पुनर्निर्माणलाई लक्षित गर्दै टोलटोलमा सडक पुर्‍याइएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पा बताउँछन्। केही विस्थापितबाहेक हेलम्बुका प्रायःले निजी आवास पुनर्निर्माण सम्पन्न गरिसकेको शेर्पाले बताए। ‘एकाध समस्यामा परेकाको बाहेक अरु सबैको घर बनिसकेको छ’, शेर्पाले अन्नपूर्णसँग भने, ‘पूर्वाधार निर्माण गरिदिएर सर्वसाधारणलाई घर बनाउन आग्रह गर्‍यौं।’ हेलम्बु मात्र हैन, प्रायः सबै बस्तीमा स्थानीय तहले पूर्वाधार निर्माण गरिदिएर घर बनेका छन्। स्थानीय तहको निर्वाचनपछि पुनर्निर्माणले गति लिएको हो। निर्वाचनअघि एक सय ६३ घर मात्र पुनर्निर्माण सम्पन्न भएका थिए भने करिब १० हजार घर निर्माण चरणमा थिए।

रंगीन जस्ता र व्यवस्थित बस्तीका कारण गाउँहरु सुन्दर देखिन थालेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा भौतिक पूर्वाधार (जिमाली) का प्रमुख जयप्रकाश गुप्ताको अनुभव छ। जिल्लामा आफूखुसी बस्ती विकाससँगै एकीकृत बस्तीले पनि प्राथमिकता पाएको छ। जिल्लामा १५ भन्दा बढी एकीकृत बस्ती निर्माण भइरहेका छन्। धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेको गिरानचौरमा एकीकृत बस्ती निर्माण गरेको थियो। श्वेता श्री फाउन्डेसनले पनि चौतारा साँगाचोकगढी नगरपालिकाको माझी बस्तीमा एकीकृत बस्ती निर्माण गरिरहेको छ। अन्य केही बस्ती पनि एकीकृत मोडलमा अघि बढाउने तयारी भइरहेको जिमालीका प्रमुख गुप्ताले जानकारी दिए। सडक, खानेपानी, खेल मैदान, सामुदायिक भवन लगायतका सहरी पूर्वाधार हुने भएकाले एकीकृत बस्तीप्रतिको आकर्षण बढेको छ।

निजी आवास मात्र हैन, जिल्लामा विद्यालय, सार्वजनिक सम्पदा र सरकारी एवम स्वास्थ्य संस्थाका भवन निर्माणले पनि तीव्रता पाइरहेका छन्। जिल्लामा भूकम्पले क्षति पुर्‍याएका विद्यालय भवन निर्माण अन्तिम चरणमा पुगेको जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख कृष्ण सुवेदीले बताए। सुवेदीका अनुसार तीन हजार दुई सय ४५ कक्षा कोठा निर्माण सकिएर पठनपाठन सुरु भइसकेको छ। भूकम्पले ढालेका पाँच सय ४५ विद्यालयमध्ये पछिल्लो समय मर्ज भएर पाँच सय १६ छन्। ६० विद्यालय निर्माणको अन्तिम चरणमा छन् भने १६ विद्यालय मात्र निर्माण सुरु हुन सकेका छैनन्। निर्माण सुरु नभएका विद्यालय पनि जग्गा अभावका कारण मात्र काम थाल्न नसकिएको सुवेदीले जानकारी दिए। एकाइसहित जिल्लाका विद्यालय ठड्याउन १४ दातृ निकाय सक्रिय छन्।

भूकम्पले क्षति पुर्‍याएका मध्ये ४९ स्वास्थ्य संस्थाको भवन विभिन्न दाताले बनाइदिएका छन्। जिल्ला स्वास्थ्य प्रमुख पोमावती थापाका अनुसार हाल दाताले बनाइदिएको ‘सेमी परमानेन्ट’ मोडलका भवनमा स्वास्थ्य संस्था सञ्चालनमा छन्। क्षति भएकामध्ये १७ सरकारी भवन निर्माणको अन्तिम चरणमा छन्। सहरी विकास तथा भवन कार्यालयका अनुसार थप दुई भवनको टेन्डर मुल्यांकन हुँदैछ। जिल्लामा रहेका ३० मध्ये १९ प्रहरी एकाइ पूर्ण क्षति भएका थिए। ती मध्ये पाँच भवन निर्माण सम्पन्न भइसकेको छ भने थप ११ निर्माणाधीन छ। थप तीन भवनको लागि प्रदेश सरकारले प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताए।

भूकम्पले कति मन्दिर क्षति भयो भन्ने यकिन तथ्यांक छैन। स्थानीय तह र सर्वसाधारणको पहलमा बनेका बाहेक मन्दिर निर्माणमा प्राधिकरणले लगानी गरेको छैन। दुई सय बढी गुम्बा पूर्ण क्षति भएको मध्ये दुई हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफल र एक सय वर्ष भन्दा पुरानो गुम्बा निर्माणका लागि केन्द्रीय आयोजना कार्यान्वयन एकाइले प्रक्रिया अघि बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.