तनहुँ जलविद्युतको पुनः टेण्डर
काठमाडौं : पहिलो संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द गरिएपछि तनहुँ हाइड्रोपावरले विहीबार पुनः अन्तराष्ट्रिय टेण्डर आव्हान गरेको छ ।
कम्पनीले आयोजनाको १४० मिटर अग्लो कंक्रिट बाँध, नदी फर्काउने दुईवटा सुरुङ, अस्थायी बाँध लगायतका संरचनाको पुनः टेण्डर गरेको हो । मेलम्चीको पनि ठेकेदार रहेको सीएमसीलाई भुक्तानी नदिएर खानेपानी मन्त्रालयले भगाएपछि गत अक्टोबरमै ठेक्का सम्झौता भइसकेको यो प्याकेजको दोहो¥याएर ठेक्का गर्नुपरेको हो ।
१४० मेगावाटको यो आयोजनाको पुनः ठेक्का गर्नु पर्दा आयोजनाको लागत र निर्माण सम्पन्न हुने मिति लम्बिनेछ । तर आयोजनाको लागत र निर्माण अवधि वृद्धि हुनेबारे कम्पनीले केही उल्लेख गरेको छैन । मेलम्चीको ९७ प्रतिशत काम गरिसकेको सीएमसीलाई तत्कालीन खानेपानी सचिव एवं मेलम्ची बोर्डका अध्यक्ष गजेन्द्र ठाकुरले ३६ करोड रुपैयाँ भुक्तानी नदिई उल्टै प्रहरी लगाएर धरपकड गरेपछि ‘नेपालमा असुरक्षा रहेको’ जनाउँदै ऊ फर्केको छैन ।
यता तनहुँ हाइड्रोले सीएमसीलाई काम गर्न पत्राचार गरे पनि कुनै जवाफ दिएको छैन । तनहुँ हाइड्रोले सीएमसीको धरौटीसमेत जफत गरिसकेको छ ।
तनहुँ हाइड्रोपावर लिमिटेडले खरिद सम्झौतामा भएको व्यवस्था अनुसार २८ दिनभित्र आयोजनास्थलमा आएर काम सुरु गर्न दिइएको आदेश नमानेको, अग्रिम भुक्तानीका लागि बैक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदाताहरुलाई भुक्तानी दिन नसकेको, इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणले सीएमसीसँगको ठेक्का तोडेको थियो ।
आयोजनाले लगानीकर्ता एडीबीको खरिद निर्देशिका अनुसार एकै चरणमा प्राविधिक र आर्थिक प्रस्ताव पेश गर्नु पर्ने तनहुँ हाइड्रोपावर लिमिटेडका प्रवन्ध–सञ्चालक प्रदीप कुमार थिकेले बताए । ‘पहिले प्राविधिक प्रस्ताव मूल्याङकन गरी सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाताको मात्रै आर्थिक प्रस्ताव खोलिने छ’ प्रवन्ध–सञ्चालक थिकेले बताए ।
उनका अनुसार आयोजनाको समग्र निर्माण २०८१ सालको असार दोस्रो साताभित्र (जुन २०२४) सम्पन्न गर्ने लक्ष्य छ ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्र्ने चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ । सिनो हाइड्रोले अहिले आयोजनास्थलमा कार्यालय भवन, श्रमिक आवास गृहलगायतका संरचना निर्माण, आयोजनाको प्रवेश मार्ग र अन्य संरचनाको सर्वेक्षण तथा डिजाइन गरिरहेको कम्पनीले जनाएको छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता भइसकेको छ । कम्पनीले आयोजनास्थलमा परिचालन भई प्रसारण लाइनको सर्वेक्षण गरिरहेको छ ।
आयोजनाको कुल लागत अमेरिकी डलर ५० करोड ५० लाख (प्रशारण लाईन, ग्रामिण विद्युतिकरण तथा निर्माण अवधिको व्याज समेत) रहेको छ । यसमध्ये एडीबीले १५ करोड, जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले १८ करोड ४० लाख, इआईबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणले ८ करोड ७० लाख अमेरिकी डलर व्यर्होने गरी वित्तीय व्यवस्थापन गरिएको छ । यसको लागि सम्बन्धित दातृ निकायहरु र नेपाल सरकारबीच ऋण सम्झौताहरु तथा नेपाल सरकार र प्राधिकरण एवं प्राधिकरण र यस कम्पनीबीच सहायक ऋण सम्झौताहरु सम्पन्न भइसकेका छन् ।